Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

झापा, १५ असार २०८२ । नेपालमा धानको बिउ आयात एक वर्षमै करिब ३१ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा (जेठ मसान्तसम्म) १ अर्ब १६ करोड ६२ लाख ३५ हजार रुपैयाँ बराबरको धानको बिउ आयात भएको छ ।

गत वर्षको सोही अवधिमा ८८ करोड ६५ लाख २१ हजार रुपैयाँको बीउ आयात भएको थियो। किसानहरूमा रैथाने जातभन्दा हाइब्रिड धानको आकर्षण बढ्दै जाँदा बीउमा परनिर्भरता बढेको विज्ञहरूले बताएका छन् । आयात परिमाण हेर्ने हो भने चालु आर्थिक वर्ष २५७०.६८ मेट्रिक टन धानको बीउ आयात भएको छ । अघिल्लो वर्ष २१०७.२३ मेट्रिक टन धानको बीउ आयात भएको थियो ।

विज्ञकाअनुसार उत्पादन बढी हुने भएकाले रैथानेको सट्टा हाइब्रिड जातको धान लगाउने क्रम बढ्दै जाँदा पछिल्लो समय रैथाने जातको धान खेती घट्दै गएको छ । साथै धानको बिउ आयात बढ्दो क्रममा रहेको भन्सार विभागको तथ्यांकले पनि देखाउँछ । आर्थिक वर्ष २०८०/८१ मा ८८ करोड ६६ लाख ९ हजार रुपैयाँको २१०७.४६ मेट्रिक टन धानको बिउ आयात भएको थियो ।
यसैगरी आर्थिक वर्ष २०७९/८० मा ७५ करोड ६३ लाख ९३ हजार रुपैयाँको १८८३.०९ मेट्रिक टन, आर्थिक वर्ष (२०७८/०७९) मा ८७ करोड ५ लाख ९२ हजार रुपैयाँको ५११५.०७ मेट्रिक टन बिउ आयात भएको तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब १७ करोड ३८ लाख ६८ हजार रुपैयाँको ४५,२८४.६१ मेट्रिक टन र २०७६/७७ मा ७ करोड ८८ लाख ३ हजार रुपैयाँको २,१९१.०१ मेट्रिक टन बिउ आयात गरेको विभागको तथ्यांकमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया