Online Bichar
शुक्रबार, साउन २२, २०८३ | Friday, August 7, 2026

गुल्मी, ६ असार २०८२ । पहिरोका कारण कालीगण्डकी करिडोर सडकखण्ड पूर्णरुपमा अवरुद्व भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–१ गरगरेस्थित कालीगण्डकी करिडोर सडकखण्डमा शुक्रबार बिहान पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।

शुक्रबार बिहान करिब १० बजे अचानक पहिरो खसेपछि गरगरे क्षेत्रको सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डीएसपी गङ्गाबहादुर सारुले जानकारी दिए ।

पहिरो खसेपछि सवारीसाधनको आवागमन ठप्प भएको छ । सो सडकखण्डमा सञ्चालन हुने सवारी साधन बिहानैदेखि वैकल्पिक सडकमार्फत् आवतजावत गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सडक खुलाउने कार्य भइरहेको छ। घटनास्थलमा प्रहरी चौकी पुर्तिघाट गुल्मीबाट प्रहरी सहायक निरीक्षक कमल प्रसाद बन्जाडेको नेतृत्वमा दुईजनाको प्रहरी टोली खटिएको छ । प्रहरीका अनुसार पहिरो हटाउने कार्य तीव्र गतिमा भइरहेको छ ।

स्थानीय प्रशासनले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा सुरक्षित रहन अनुरोध गरेको छ । साँझसम्म करिडोर सडक खुल्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया