Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

काठ्माडौं, १० वैशाख २०८२ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

शिक्षकहरूले बुधबार पनि काठमाडौंको माईतीघर९बानेश्वर सडकखण्डमा नाच्दै-गाउँदै प्रदर्शन गरेका हुन् । उनीहरुले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत २२ दिनदेखि आन्दोलन गरिरहेका छन् ।

सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु सरकारले आगामी अधिवेशनबाट जारी गर्ने प्रतिद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन् ।

शिक्षकहरूको आन्दोलनकै बीचमा शिक्षामन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिइसकेकिछन् । यसले झन अन्योल बनाएको छ ।

यता शिक्षकहरू भने विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडानमा छन् । आन्दोलनको समय शिक्षकहरूले ११ बजेदेखि दिउँसो २ बजेसम्‍म तोकेका छन् ।

सरकारले आगामी बजेट अधिवेशन वैशाख १२ गते बोलाएको छ। शिक्षा विधेयक जारी गर्न र शिक्षकहरुका माग पूरा गर्नका लागि अधिवेशन बोलाइएको सरकारले स्पष्ट पारे पनि सरकारको प्रतिबद्धतामा शिक्षकहरु विश्वस्त छैनन् ।

सरकारले शिक्षा विधेयक जारी गरेकै दिन आफूहरु आन्दोलन छोडेर फर्किने उनीहरुको भनाइ छ ।

शिक्षकको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित भएको छ । ५५ लाख बालबालिकाको भविष्यमाथि हेलचक्रयाइँ गरेको भन्दै शिक्षकहरूको आलोचनासमेत हुन थालेको छ ।

शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकहरूले सोमबार भने एक जना अभिभावकलाई कुटपिट गरेका थिए । आन्दोलनको स्वरुप परिवर्तन गर्न माग गरेका अभिभावकमाथि शिक्षकहरू खनिएका थिए ।

शिक्षकहरूलाई विद्यालय फर्काउन भन्दै अभिभावकहरूले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षणसमेत गराइसकेका छन् ।

 

तपाईको प्रतिक्रिया