विराटनगर, ४ वैशाख २०८२ । मोरङको रंगेली नगरपालिका–९ दोहमनामा आफ्नै घरमा पालेको गाईले हानेर एकजना वृद्धको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्काका अनुसार गाईले हानेर ७५ वर्षीय रामप्रसाद शिवाकोटीको मृत्यु भएको हो ।
शिवाकोटीलाई गोठमा काम गर्ने क्रममा गाईले हानेर बुधबार गम्भीर घाइते बनाएको थियो । टाउको,छात्तीलगायत शरीरका विभिन्न भागमा चोट लागेका वृद्धलाई उपचारका लागि राति ११ बजेतिर रंगेली अस्पताल लगियो ।
रंगेलीमा सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको इन्स्पेक्टर खड्काले बताए । नोबेलमा पनि उपचार सम्भव नभएपछि घर फर्काएर लैजाँदै गर्दा बिहीबार शिवाकोटीको बाटैमा मृत्यु भएको उनको भनाइ छ ।
इन्स्पेक्टर खड्का नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।