नवलपुर, १७ फागुन २०८१ । नेपालमा पहिलोपटक प्राकृतिक चिकित्सा विज्ञानको पढाइ सुरु हुने भएको छ। नवलपुरको देवचुली–१६ रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान पढाउने गरी शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने तयारीले तीव्रता पाएसँगै नेपालमा पहिलोपटक यो विषयमा पढाइ सुरु हुन लागेको हो।
चिकित्सालयले नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन लिएर शिक्षण अस्पतालको तयारी गरेको चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले बताए। ‘हामीले पाठ्यक्रमसहित सम्पूर्ण तयारीको विवरण विश्वविद्यालयलाई बुझाइसकेका छौं, आवश्यक पूर्वाधार धमाधम निर्माण भएका छन्। केही हुने क्रममा छन्’, सापकोटाले भने। उनले पहिलो वर्ष चिकित्सालयमा ब्याचरल इन नेचुरोपेथी एन्ड योगा साइन्स (बीएनवाइएस) को कक्षा सञ्चालन गर्ने गरी प्रस्ताव नेपाल संस्कृत विश्वविद्यालयमा पेस गरिएको बताए।
विश्वविद्यालयको आगामी सिनेटबाट यसलाई अनुमोदन गर्ने कुरामा आफूहरू विश्वस्त रहेको सापकोटाको भनाइ छ। प्राकृतिक चिकित्सा शिक्षण अस्पताल निर्माणका लागि राष्ट्रिय योजना आयोगले विशेष अनुदानमार्फत १२ करोड ४६ लाख रुपैयाँ विनियोजन गरेको छ। जुन रकममध्ये यो वर्ष पाँच करोडको भवन निर्माणाधीन अवस्थामा छ भने आगामी वर्ष ७ करोड ४६ लाख खर्च गरी भवन निर्माण गर्ने योजना बनाइएको छ। ‘सम्बन्धन पाएमा यो वर्ष, नभए अर्को वर्षदेखि शिक्षण अस्पताल सञ्चालन गर्न सकिन्छ। हाम्रो तर्फबाट तयारीमा कुनै कमी छैन। चिकित्सालयलाई हामी देशकै गौरवका रूपमा विकास गर्न चाहान्छौं’, सापकोटाले भने।
१० बिघा क्षेत्रफलमा फैलिएको यस अस्पतालमा आगामी असारदेखि आवासीय रूपमा तीन सय बिरामीलाई उपचार गर्ने गरी निर्माणको कामलाई तीव्रता दिइएको सापकोटाको भनाइ छ। ‘हामीले आवश्यक विभाग बनाएका छौं, छात्रावासलगायतको निर्माण अन्तिम चरणमा पुगेको छ। १० बिघा जमिन भोगाधिकार प्राप्त छ, अरू जमिन प्राप्तिका लागि प्रक्रिया अगाडि बढेको छ’, सापकोटाले बताए।
नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष रमेशप्रसाद ढकालले चिकित्सालयलाई सम्बन्धन दिन ढिलाइ गर्न नहुने बताए। ‘यो त अत्यन्तै आवश्यक चिज हो, नेपालमा नै यो विषय पढाइ हुँदैन, आवश्यक सम्पूर्ण पूर्वाधार भएको रजहरको प्राकृतिक चिकित्सालय योग्य संस्था हो’, ढकालले भने। उनले तीनै तहका सरकारले अविलम्ब यो प्रक्रियालाई टुंगोमा पु¥याउन आवश्यक रहेको बताए। उनले भने, ‘पाठ्यक्रमहरू तयार छन्, यिनलाई समयसँगै परिमार्जन पनि गर्न सकिन्छ, आवश्यक पूर्वाधार पनि छ भने ढिलाइ गर्नु हुँदैन, यो देशका लागि आवश्यक विषय हो।’ ढकालले अहिले नेपाल संस्कृत विश्वविद्यालयले सम्बन्धन बढाएर अघि बढ्दा राम्रो हुने र पछि आवश्यक परेमा विश्वविद्यालयका रूपमा विकास गर्न सजिलो हुने बताए।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालले चिकित्सालयको प्रस्तावलाई आफूहरूले निकै महत्त्वका साथ हेरेको बताए। उनले भने, ‘अहिले युनिभर्सिटीमा तालाबन्दी छ, सबै फाइललाई गम्भीरताका साथ अध्ययन गर्न पाएको छैन, तर यो निकै सकारात्मक कुरा हो। तालाबन्दी खुलेपछि प्रक्रिया अगाडि बढ्छ।’ नेपाल पुस ८ गते उपकुलपति नियुक्त हुनुअघि नै विश्वविद्यालयमा विद्यार्थी संगठनहरू र आंशिक शिक्षकहरूले विभिन्न माग राखेर गरेको तालाबन्दी अझै खुलेको छैन। नेपालले चिकित्सालयको प्रस्ताव सकारात्मक रहेको बताए।
डिम युनिर्भसिटीको विकल्पमा छलफल
चिकित्सालयले शिक्षण अस्पताल सञ्चालनका लागि नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन लिएर अघि बढ्ने तयारी गरे पनि त्यसो हुन नसके डिम विश्वविद्यालयको अवधारणामा जाने विकल्प बारेमा पनि छलफल चलाएको उनले बताए। ‘स्थानीयको अहिलेसम्मको लगानी र मेहनतलाई कदर गर्नुपर्छ भन्ने छ, डिम युनिर्भसिटी बनाएर शिक्षण अस्पताल सञ्चालन गर्ने विषयमा हामीले छलफल अगाडि बढाएका छौं’, अस्पतालका व्यवस्थापक सापकोटाले अन्नपूर्णसँग बताए।
त्यसका लागि विज्ञहरूको समूह बनाएर छलफल सुरु भएको सापकोटाले बताए। आफ्नै डिम युनिर्भसिटी बनाएर अगाडि बढ्ने विषयमा सुझावसहितका विकल्प दिन चिकित्सालयले तीन सदस्यीय कार्यदलसमेत बनाएको छ। नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति कुलप्रसाद कोइरालाको संयोजकत्वमा शिक्षाविद् रमाकान्त सापकोटा र प्राध्यापक देवीभक्त ढकाल सदस्य रहेको विज्ञ कार्यदल बनाइएको छ। विश्वविद्यालयको मूल्य र मान्यताभित्र रहेर पाठ्यक्रम निर्माण, परीक्षा सञ्चालन र नतिजा प्रकाशनसमेतको स्वायत्त अधिकार भएको शैक्षिक संस्थाका रूपमा रहने गरी डिम विश्वविद्यालय बनाउन सकिने कानुनी व्यवस्था छ। यसले अन्य कलेजलाई सम्बन्धन भने दिन पाउँदैन।
यज्ञ लगाएर सुरु भएको थियो चिकित्सालय, उत्कृष्ट आइसोलेसन
रजहरस्थित प्राकृतिक चिकित्सालय स्थानीयले धनधान्याञ्चल महायज्ञ आयोजना गरी स्थापना गरेका हुन्। २०६४ सालमा स्थापना भएको चिकित्सालयले २०६७ सालबाट उपचार सेवा प्रारम्भ गरेको हो। ‘यज्ञ लगाएर सहयोगी दाता, मुठीदान, स्वतस्फूर्त सहयोगबाट चिकित्सालय स्थापना भएको हो। यसलाई अब शिक्षण अस्पताल बनाउनु आवश्यक छ’, सापकोटाले भने।
कोरोना महामारीमा देशकै उत्कृष्ट आइसोलेसनका रूपमा यस चिकित्सालयले सेवा दिएको थियो। सरकारले उत्कृष्ट आइसोलेसनका रूपमा चिकित्सालयलाई सम्मानसमेत गरेको थियो। चिकित्सालयमा बसेका सबै कोरोनाका बिरामी निको भएर फर्किएका थिए। प्राकृतिक चिकित्सा विज्ञानमा आधारित रहेर बिनाऔषधि उपचार गरिने यस अस्पतालमा माटो, पानी, हावा, अग्नि, जलका साथै जडीबुटी, वैज्ञानिक मालिस, अक्युपन्चर, फिजियोथेरापी योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिन्छ।अन्नपूर्णपोष्टबाट