विराटनगर, २७ माघ २०८१ । मोरङको रंगेलीबाट पहिलोपटक राहदानी (पासपोर्ट) सम्बन्धी सेवा दिन सुरु गरिएको छ। सेवा आइतबारदेखि सुरु भएको हो।
इलाका प्रशासन कार्यालय रंगेलीबाट राहदानी वितरणका लागि काम सुरु भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रदीप साहले बताए। यसअघि मोरङमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय उर्लाबारीबाट मात्रै राहदानी सम्बन्धी सेवा दिने गरिएको थियो।
साहका अनुसार सबै प्रक्रिया पूरा गरेर पठाएपछि काठमाडौंबाट राहदानी ‘प्रिन्ट’ भएर आउँछ। काठमाडौंदेखि जारी भएर आएपछि राहदानी मोरङबाट सम्बन्धित व्यक्तिलाई वितरण गर्ने गरिएको उनको भनाइ छ। आवेदन दिएपछि २० देखि २५ दिनभित्रमा राहदानी प्राप्त गर्न सकिने उनले बताए।
‘यसअघि जिल्ला प्रशासन र इलाका प्रशासन उर्लाबारीबाट मात्रै विद्युतीय राहदानी सम्बन्धी सेवा दिने गरिएको थियो,’ साहले भने, ‘अब रंगेलीबाट पनि सुरु भएको छ।’ उनका अनुसार फारम भर्नेदेखि बायोमेट्रिक गर्नेसम्मको सबै सुविधा रंगेलीमै उपलब्ध हुने छ। राहदानी लिन चाहने रंगेली क्षेत्रका बासिन्दाले अब जिल्ला प्रशासन धाइरहनु पर्दैन।
जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गरेर इलाका प्रशासन कार्यालय रंगेली कार्यक्षेत्र भएका स्थानीय तहका पायक पर्ने सेवाग्राहीले राहदानीका लागि रंगेलीमै सम्पर्क गर्न सकिने जानकारी दिएको छ। सेवाग्राहीले कृषि विकास बैंक रंगेली शाखामा राजस्व बुझाएर इलाका प्रशासन कार्यालय रंगेलीबाट सेवा लिन सकिने जानकारी सहायक प्रजिअ साहले दिए।