Online Bichar
आइतबार, आश्विन ०४, २०८३ | Sunday, September 20, 2026

१८ मंसिर २०८१ । बीबीसीले सन २०२४ सालको उत्कृष्ट १०० महिलाको सूचि सार्वजनिक गरेको छ। विश्वभरका १०० प्रेरणादायी र प्रतिभाशाली महिलाको सूची सार्वजनिक गरेको हो।

यसमा पर्यावरण, संस्कृति र शिक्षा, मनोरञ्जन, खेलकुद, राजनीति, वकालत, विज्ञान, स्वास्थ्य र प्रविधि जस्ता क्षेत्रमा रहेर योगदान पुर्‍याएका महिलाहरु समावेश छन्।

सूचीमा परेका सबै महिलाहरुले आफ्नो क्षेत्रबाट समाज तथा विश्ववलाई नै सकारात्मक योगदान दिएका छन्।

त्यो सूचीमा नेपालकी शिलशिला आचार्य पनि परेकी छन्। शिलशिलाले नेपालमा सबैभन्दा ठूलो प्लास्टिक रिसाइक्लिङ्ग नेटवर्क सञ्चालन गरेकी छन्। उनको फोहोर व्यवस्थापन व्यवसाय, अवनी भेन्चर्सले विपन्न व्यक्तिहरूलाई रोजगारी प्रदान गर्नुका साथै र हरित क्षेत्रमा महिला सहभागिता बढाउनमा केन्द्रित रहेको मानिन्छ।

सन् २०१४ मा सञ्चालित ‘धन्यवाद, म मेरो झोला बोक्छु’ अभियानमा शिलशिला आचार्यले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। त्यसपछि प्लाष्टिकको झोलामा विभिन्न ठाउँमा प्रतिबन्ध लगाइएको थियो।

जलवायु तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी सचेतना अभियान चलाउने शिलशिलाले हिमालमा पर्वतारोहीले छोडेको फोहोर सफा गर्ने वार्षिक अभियानमा पनि योगदान दिएकी छिन्। सन् २०१९ देखि हालसम्म उनले हिमालबाट ११९ टन फोहोर निकालिसकेकी छन्।

आफ्नो कामबाट शिलशिलाले जम्मा भएको फोहोरलाई रिसायकल गर्छिन्। हस्तशिल्पमा विज्ञ महिलाहरूले यस फोहोरबाट टोकरी, चटाई र कृत्रिम गहनाहरू तयार पार्छन्, जसले उनीहरूको जीविकोपार्जनमा पनि मद्दत गर्दछ।

तपाईको प्रतिक्रिया