पथरैया, ६ पुस । भगरैया कैलालीकी बेलारी चौधरीलाई हलो जोतेको अभियोगमा एक सय रुपैयाँ जरिवाना गरेर माफी माग्न लगाइएको थियो । श्रीमान् आँखा नदेख्ने, छोरा सानै भएकाले त्यतिबेला हलो जोत्न बाध्य चौधरीलाई स्थानीय महिला समूहले हप्काइ–दप्काइ गरी २ हजार रुपैयाँ सजाय सुनाएको थियो ।

पहिलोपटक अनौ समात्दा सांसद ओनसरी घर्ती नौ वर्षकी थिइन् । हत्या अभियोगमा दाइ जेल परेपछि सांसद घर्ती हलो जोत्न बाध्य भइन् । एक दिन प्रसाद घर्तीले छोरीसँग मनको वह पोखे, ‘छोरा भएको भए तैंले हलो जोत्थिस् । घर छाउँथिस् ।’ बुवाको दुःखेसो सुनेपछि उनले हलो जोतिन् । घर पनि छाइन् ।

पूर्वसभामुखसमेत रहेकी ओनसरी घर्तीले हलो जोतेको देख्दा गाउँभरि हल्लाखल्ला चल्यो । साबिक जंकोट–१, माडीचौर रोल्पामा त्यसअघि महिलाले हलो जोतेका थिएनन् । त्यस अर्थमा उनले हलो जोतेको देख्नेहरू तीनछक परे । गर्नसम्म आलोचना गरे । उनले हलो जोतेको देख्नेले अप्टिक लगाए, ‘सुन्चर्नीले हलो जोतेको देखियो । हिन्दु धर्म नाश हुने भयो ।’ आफैंले सुन्नेगरी अव्यावहारिक प्रतिक्रिया दिनेलाई उनले लखेट्थिन् । प्रतिक्रिया दिनेहरू भाग्थे ।

साहित्यकार कविता पौडेलले संवत् २०२९ भदौमा पहिलोपटक हलो जोतिन् । हलो जोत्ने नेपालकै पहिलो महिला भनेर चिनिएकी साहित्यकार पौडेलले पहिलोपटक एक घन्टा हलो जोते पनि कसैले देखेनन् । उनले सुनाइन्, ‘मैले हलो जोतेको पाटोको सिरानपट्टि अग्लो ढिक थियो । तल्लोपट्टि रूखैरूख हुनाले चारैतिर छेकिएको थियो ।’
जसले ४४ वर्षअघि हलो जोतेर विद्रोह गरेकी थिइन्

मंसिर लाग्यो । धान–पराल स्याहार्ने बेला भयो । ०२९ मंसिर २७ गते उनले दोस्रोपटक खेतमा हलो जोत्दा गाउँभरिकाले रमिता हेरे । एक गरा खेत जोतिसक्दासम्म पनि रमितेको भीड लागेकै थियो ।

कतिले भने, ‘थुइया ।’

अर्काले गाली गरे, ‘ए पापिनी हलो छोड ।’

‘हरे के देख्नुपर्यो भनेर’ कतिले आँखा छोपे ।

पोखरेल थरका स्थानीयले धिक्कारे, ‘यो त अति भयो । अलच्छिन लागेर संसारै भासिने भयो । त्यो अलच्छिनी आइमाईलाई समातिहाल ।’

चौधरी, घर्ती र पौडेल हलो जोत्ने महिला प्रतिनिधि पात्रमात्रै हुन् । तीनजनामध्ये चौधरीलाई हलो जोतेकै अभियोगमा जरिवाना गराइएको थियो भने घर्ती र पौडेलले सजाय नपाए पनि दुव्र्यवहार सहनुपर्यो । लिंगीय भेदभाव गर्न नहुने संविधानमै उल्लेख भए पनि व्यवहारमा त्यस्तो देखिँदैन । भन्नलाई महिला पुरुष समान भन्ने गरिन्छ । व्यवहारमा देखिँदैन ।

हलो जोत्दा भोग्नुपरेको दुव्र्यवहार महिलाका पीडा हेर्ने आँखीझ्यालमात्रै हुन् । महिलाले हलो जोत्न, घर छाउन, मलामी जान र मार हान्न हुँदैन भन्ने भनाइ छ । उल्लिखित चार काम गर्न महिलाले किन हुँदैन भनेर स्थानीय विद्वान् तथा पण्डितसँग जिज्ञासा राख्दा अर्घाखाँचीकी कविता पौडेलले चित्तबुझ्दो जवाफ पाइनन् । गर्नुहुँदैन भनिएको चार काम गरेर पौडेलले चुनौती दिइन् ।

‘महाभारत, देवीभागवतलगायत थुप्रै किताब पढें,’ थानकोट चेकपोस्टको पौडेलनिवास सिर्जना सदनमा कुरा गर्दै उनले सुनाइनन्, ‘तर महाभारत, देवीभागवतमा महिलाले हलो जोत्न, घर छाउन, मलामी जान र मार हान्न हुँदैन भन्ने कतै उल्लेख थिएन ।’

‘हो, महिलाका लागि छुट्टै काम तोकिएको छ,’ नेपाल पञ्चांग निर्णायक समिति अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम भन्छन्, ‘शास्त्रमा महिलालाई अत्यन्तै सम्मान गरी माथिल्लो स्थानमा राखिएको छ । त्यसैले उनीहरूलाई गाह्रो काम गर्न नदिइएको हो ।’

हलो जोत्नु सजिलो काम होइन । धर्मशास्त्रविद्समेत रहेका प्रा. डा. गौतमको बुझाइ छ, ‘महिला पुरुषजस्तो बलिष्ठ हुँदैनन् । उनीहरू कोमल हुन्छन् । त्यही भएर हलो नजोत्नू भनिएको हो । महिलालाई गाह्रो काममा नलगाउनु भनेको मातृशक्तिको सम्मान हो ।’

घर छाउनु पनि अप्ठ्यारो काम हो । त्यसमाथि महिलालाई घर छाउन झन् गाह्रो हुन्छ । ‘महिलाले पेटिकोट र कट्टु लगाउन थालेको धेरै पछि मात्रै हो,’ उनले उदाहरण दिए, ‘तलबाट खर फाल्दिनेले घर छाउनेको गोप्य अंग देख्न सक्छन् । त्यसैले महिलालाई घर छाउन व्यावहारिक हुँदैन भनिएको हुनुपर्छ ।’

महिलालाई चार काम नगर्नू भन्ने भनाइलाई सकारात्मक र व्यावहारिक कसीमा हेर्दा विभेद गरेको ठहरिँदैन । सम्मान गरेर चार काम नगर्नू भनिए पनि महिलाले रहरले ती काम गरेका होइनन् । बाध्यता आइलागेपछि हलो जोतेका छन् । घर छाएका हुन् । मलामी गएका छन् । मार हानेका हुन् ।

पूर्वमन्त्री मोदनाथ प्रश्रित भूमिगत भए । बिहे गरेपछि ३६ वर्षसम्म कविता पौडेल श्रीमानसँग बस्न पाइनन् । त्यस्तो अवस्थामा गर्नुहुँदैन भनिएको काम नगरी सुखै थिएन । गर्नुहुँदैन भनिएको काम गरेपछि उनलाई गाली गर्ने थपिँदै गए । सहानुभूति दिने एकजना पनि निस्केनन् । स्थानीय कृष्ण बन्जाडेले ‘यी आइमाई (कविता पौडेल) लाई त गोदी–गोदी मानुपर्ने’ भनेको उनलाई हिजैजस्तो लाग्छ । स्थानीय भद्रबहादुर डमराले यिनलाई पीपलको हाँगोमा उँधो मुन्टो लगाएर झुन्ड्याउनुपर्छ भनेर आलोचना गरे । त्यति गर्दा पनि भएन भने पुलिस बोलाएर थुनाउँछौं भन्न पछि परेनन् ।

बाध्यताले हलो जोत्दा घरपरिवारबाट सहानुभूति नपाएकी उनले माइतीको समेत सहयोग पाइनन् । जन्म दिने आमाले राक्षसी काम गरिस् भनेर उनको आलोचना गरिन् । मूर्ख भनेर झपारिन् । उनले विगत सम्झिन्, ‘सासूआमाले मैले छोएको आठ–दस वर्षसम्म खाँदै खाइनन् । श्रीमान्ले समेत उग्र काम गरेको भनेर टिप्पणी गर्नुभयो ।’

हलो जोत्ने नेपालकै पहिलो महिलालाई हलो जोतेर धर्म फालेको भन्दै पानी छुन दिइएन । हलो जोतेको ठाउँबाटै गौदान गरी उनलाई माफी मगाउने स्थानीयको योजना योजनामै सीमित रहे पनि देवीभागवतको एकाइचाहिँ लगाइयो । यसलाई मार्नुपर्छ, काट्नुपर्छ, भोग दिनुपर्छ भन्नको कमी भएन ।

महिलाले हलो जोते खडेरी लाग्छ । माटो मर्छ भन्ने गरिन्छ । उब्जनी घट्छ । नेपालीमा बने–बनाइएका मूल्य–मान्यता र भनाइ संकुचित छन् । ‘महिलाले काम गरेर खान्छु भन्दा नपाउनू ?,’ उनले सोधिन्, ‘महिलाले हलो जोतेको अभियोगमा सय रुपैयाँ जरिवाना गराउनु व्यावहारिक मानिन्छ र ?’

भन्न त ब्राह्मणले पनि हलो जोत्नुहुँदैन भनिएको छ । हलो जोत्नु उसका लागि नीच र परम्पराविरुद्ध मानिन्छ । तर पनि लमजुङको साबिक दुराडाँडा गाविसको अर्चल्यानीमा पण्डित तोयानाथ अधिकारी, शेषकान्त अधिकारी, हरिभक्त अधिकारी, श्रीकान्त अधिकारी, मायानाथ पौडेललगायत २७ जना ब्राह्मण २००६ साउन ११ मा सामूहिक रूपमा हलो जोतेकै थिए । हलो जोतेको अभियोगमा पण्डित तोयानाथ अधिकारी, शेषकान्त अधिकारी र मायानाथ पौडेल पक्राउ परे ।

लमजुङ दुराडाँडाका ब्राह्मणले गरेको हलो क्रान्तिबारे थाहा पाएकी कविता पौडेलले समेत हलो जोतेर, घर छाएर, मलामी गएर, खसी काटेर रूढीवादी मान्यतालाई च्यातिदिइन् । तर, नेपाली समाजमा महिलाले हलो जोत्नुहुँदैन भन्नेकै बाहुल्य छ । भन्नेले भनिरहेका छन् । हलो जोतेको अभियोगमा बेलारी चौधरीहरू दण्डित भएकै छन् । एकताका हलो जोतेकै आधारमा सांसद ओनसरी घर्ती आलोचित थिइन् । हलो जोतेकै आधारमा नजानिँदोपाराले दुव्र्यवहारमा परेकी बुलापन्थे माध्यमिक विद्यालय धितुङ खोटाङकी शिक्षिक सर्मिला राईले अनुरोध गरिन्, ‘सांसद ओनसरी घर्तीले विगत सम्झेर हलो जोत्ने महिलाले पाएको सास्तीबारे सदनमा बोलिदिनुभए हुन्थ्यो ।’

अनौ अठ्याएकै आधारमा अप्टिक पाउनेले पाइरहेकै छन् । हिम्मतिला महिलाले अनौ समात्न छाडेका छैन्न् । महिला अधिकारकर्मीको बुझाइ छ, ‘हलो जोत्न, घर छाउन, मलामी जान र मार हान्न हुँदैन भनेर महिलालाई कमजोर बनाउन खोजिएको हो ।’

‘कृषिको सुरुवात महिलाबाट सुरु भएको हो । कुनै बेला खेतीपातीमा वर्चस्व हुनेकै परिवार र समाजमा पनि वर्चस्व कायम हुन्थ्यो,’ पुरातत्वविद् तथा मानवशास्त्रीहरूको भनाइ छ, ‘तर, परिवार र समाजमा महिलाभन्दा पुरुष वर्चस्वशाली हुन थालेपछि उनीहरूलाई किनारा लगाउन महिलाले हलो जोत्नु हुँदैन भन्ने भ्रम खडा गरियो ।’

तपाईको प्रतिक्रिया

Comments