Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

काठ्माडौं, ९ वैशाख २०८१ । झापाका विभिन्न सहकारीको ३० लाख १६ हजार रूपैयाँ चोरी भएको घटनामा संलग्न रहेका ६ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाले सहकारी चोरीमा संलग्न ६ जनालाई पक्राउ गरी आज आइतबार सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ पर्ने ६ जना मकवानपुरका हुन्।

पक्राउ पर्नेहरूमा मकवानपुरको इन्द्रसरोबर गाउँपालिका(५ फाखेलका ३० वर्षीय सोमलाल स्याङतान, २१ वर्षीय सुनिल भनिने सन्तबहादुर स्याङतान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुरगढी गाउँपालिका(८ का २८ वर्षीय अजय रानामगर छन्।

उनीहरूलाई सुनसरीको इटहरीबाट सुनसरी प्रहरीको सहयोगमा शुक्रबार पक्राउ गरिएको डिएसपी चन्दले जानकारी दिए।

उनीहरूको साथबाट प्रहरीले चोरी गर्न प्रयोग गरिएको हथौडादेखि विभिन्न औजार, मोटरसाइकल र मोबाइल लगायत बरामद गरेको छ।

डिएसपी चन्दका अनुसार सो समूहले गएको चार महिनाको अवधीमा झापाका १३ वटा सहकारीमा चोरी गरेका थिए।

प्रहरीले सहकारीको नाम भने सार्वजनिक गरेको छैन।

यही समूहले मोरङमा पनि विभिन्न सहकारीमा चोरी गरेको पाइएको डिएसपी चन्दले बताए।

‘उनीहरू चोरी गर्दै मकवानपुर जाँदै गर्ने रहेछन्, गिरोहमा अन्य व्यक्तिहरू पनि संलग्न रहेको पाइएको छ। उनीहरूको खोजी हुँदैछ,’ डिएसपी चन्दले भने।

पक्राउ परेका ६ जनाविरूद्ध जिल्ला अदालत झापाबाट चोरी कसुरमा अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको डिएसपी चन्दले जानकारी दिए।

तपाईको प्रतिक्रिया