Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

काठमाडौं, ६ वैशाख २०८१ । संयुक्त अरब इमिरेट्स ९यूएई०को दुबईलगायत क्षेत्रमा भारी वर्षा भएपछि जनजीवन अस्तव्यस्त बनेको छ । बीबीसीका अनुसार ओमान, बहराइनलगायत मुलुकमा पनि छोटो समयमा भारी वर्षा भएको छ ।

तीन दिन लगातार भारी वर्षा हुँदा ओमानमा १९ जनाको ज्यान गएको छ । बीबीसीका अनुसार वर्षाका कारण दुबईमा एक जनाको मृत्यु भएको छ ।

दक्षिण एशियाली मुलुक पाकिस्तान र अफगानिस्तानमा पनि भारी वर्षाका कारण १०० जनाभन्दा बढीको मृत्यु भएको सीएनएनसले जनाएको छ ।

भारी वर्षाका कारण यूएई, ओमानलगायत क्षेत्रका स्कुल, कलेजहरू बन्द गरिएको छ । बुधबार त ५ घण्टासम्म दुबईको अन्तर्राष्ट्रिय विमानस्थल बन्द नै रह्यो । आज, बिहीबार पनि विमानस्थलका सेवाहरू ढिला भइरहेको छ । अधिकांश क्षेत्रका सडक यातायात बन्द छन् ।

किन पर्‍यो धेरै पानी ?

यूएईमा मंगलबार २४ घण्टाभित्र २५४ मिलिमिटर पानी परेको छ । जुन सन् १९४९ पछिको सबैभन्दा धेरै रेकर्ड भएको समाचार संस्था रोयटर्सले बताएको छ ।

समान्यतया यूएई र आसपासको क्षेत्रमा कम पानी पर्छ । गर्मीयाममा त्यहाँको तामक्रम ५० डिग्री सेल्सियस हाराहारी पुग्छ । दुबईमा त वार्षिक ९७ मिलिमिटर मात्रै वर्षा हुने गरेको छ ।

विज्ञहरूले वातावरणीय प्रभाव र जलवायु परिवर्तको कारणले दुबईमा भारी वर्षा भएको प्रतिक्रिया दिएका छन् । यूएईको जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् ईस्रा अल्नाक्वीले रोयटर्ससँग भनेकी छन्, ‘जमिनको सतहमा असाध्यै तातो, तातो हावा र माथिल्लो तहमा भएको चिसो वातावरणले पानी र चट्याङ पर्नुमा भूमिका खेल्यो ।’

‘पानी पर्नुमा यस्तो अस्वाभाविक परिवर्तन अप्रिल महिनामा सामान्यतया नहुनुपर्ने हो,’ उनले भनेकी छन्, ‘यसअघि दुबईमा अप्रिल महिनामा औसत वर्षा झण्डै ८ मिलिमिटर हुन्थ्यो ।

मौसमविद् अल्नाक्वीका अनुसार मौसम परिवर्तनसँगै तातो र चिसो हावाको तापक्रम पनि विस्तारै आफैं फेरिन्थ्यो । तर, जलवायु परिवर्तनले यो नियमित प्रक्रियालाई बिथोल्दै गएको छ । उनका अनुसार दुबई आसपासका क्षेत्रमा थप चट्याङ, ठूलो वर्षा र शक्तिशाली हुरीको पूर्वानुमान रहेको भन्दै सचेत रहन चेतावनी दिइएको छ ।

आमस्टर्डम विश्वविद्यालयका प्राध्यापक डिम कोउमोउले पनि मानवीय गतिविधिले निम्त्याएको जलवायु परिवर्तनले भूमिका खेलेको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया