बिर्तामोड, २१ माघ २०८० । प्रेस चौतारी झापाले पूर्व अध्यक्ष तोयानाथ दाहाल ‘उपेक्षित’ लाई सम्मान गर्ने भएको छ । संगठनको २६ औं स्थापना दिवसको अवसरमा झापा गौरादह –६ कोहवराका उपेक्षितलाई सम्मान गर्न लागिएको अध्यक्ष मनकुमार गदालले जानकारी दिए ।
प्रेस चौतारी झापाले माघ २२ गते बिर्तामोड –७ स्थित शहीद नेत्र पार्कमा स्थापना दिवसको अवसर पारेर पूर्व अध्यक्ष उपेक्षितलाई सम्मान गर्ने जानकारी दिएका हुन् । उपेक्षित प्रेस चौतारी झापाका दोस्रो अध्यक्ष हुन् । संस्थापक अध्यक्ष नेत्र पाठकलाई २५ औं स्थापना दिवसको अवसरमा सम्मान गरिएको थियो । स्थापना दिवसमा चौतारीले पूर्व अध्यक्षहरूलाई सम्मान गर्दै आएको छ ।
बिर्तामोडको नयाँ पर्यटकीय गन्तव्य नेत्र पार्कमा चौतारीले स्थापना दिवसको अवसर पारेर झापाली पत्रकारहरूको निःशुल्क आँखा जाँच समेत गर्ने भएको छ । बिर्तामोडस्थित बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा पत्रकारहरूको आँखा जाँच गरिने छ ।
वनभोजसहित आयोजना गरिएको स्थापना दिवसमा पत्रकारहरुबीच मनोरञ्जनात्मक कार्यक्रमहरू समेत राखिएको कार्यक्रम संयोजक प्रदीप परियारले जानकारी दिए । उनका अनुसार प्रेस चौतारीको स्थापना दिवसमा झापामा सबै सञ्चारकर्मीहरूलाई निमन्त्रणा गरिएको छ ।