Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

जेबि खड्का
गौरादह, २४ साउन २०८० । गौरादह नगरपालिका वडा नं.३ ले आर्थिक बर्ष २०८०/०८१ मा वडाको बिकास सँगै युवाहरुलाई खेल क्षेत्रमा समाहित गराउन वडा स्तरीय योजनामा समेटेको छ। विकासको क्षेत्रमा फड्को मार्न विशेष भुमिका निर्वाह गर्ने युवाहरुलाई खेल क्षेत्रमा आकर्षण बढाउदा स्वास्थ्य रहने र अनुशासित बन्ने भएकाले वडा स्तरीय योजनामा खेललाई प्राथमिकतामा राखेको वडाध्यक्ष दिलिप भण्डारी बताउँछन् ।

यस आर्थिक वर्षमा १५ वर्ष भन्दा कम उमेरका बालबालिकालाई उनिहरुको रुचि र चाहना अनुसारका खेलमा प्रशिक्षण दिइने वडाध्यक्ष भण्डारी बताउँछन्। वडा भित्र रहेका क्लबलाई भुमिका दिई थप बाल क्लब गठन गरेर बालबालिकालाई संगठित गर्ने भण्डारीको भनाइ छ। खेलको प्रशिक्षण पश्चात् अन्तर टोल विकास स्तरीय प्रतियोगिता गरिने भण्डारीले बताएका छन्। वडा भित्रका सबै क्षेत्रमा समान रुपमा बिकास गर्ने लक्ष्य लिएका भण्डारीले यस आर्थिक बर्षमा सिलिङ वजेट कम भएपनि विकास निर्माणमा कमी नहुने उनको भनाइ छ।

आर्थिक वर्ष २०८०/०८१ मा वडा नं.३ को सिलिङ बजेट ४८ लाख मात्र रहेकाले त्यसलाई विकास निर्माणमा लगाउदै नगर स्तरीय योजनाबाट बिकास निर्माणका काम थप गरिने वडाध्यक्ष भण्डारीले बताएका छन् । वडा भित्रका विकास निर्माण अन्तर्गत केही वडा बासिको साझेदारीमा र केही प्रधानमन्त्री साझेदारी कार्यक्रम अन्तर्गत सम्पन्न गरिने वडाध्यक्षले बताएका छन् । वडाबासिहरुका लागि स्थानीय सरकारले गर्ने विकास निर्माणका काममा आर्थिक विकास, सामाजिक विकास, भौतिक पुर्वाधार, मर्मत संभार, वन वातावरण संरक्षण, बिपद् र फोहोरमैला व्यवस्थापन, सुशासन, सामाजिक सेवा प्रवाह र क्षमता विकास लगायतका क्षेत्रमा वजेट विनियोजन गरिएको वडाध्यक्ष भण्डारीले बताएका छन् ।

यस आर्थिक वर्षमा वडा भित्र भौतिक पुर्वाधार क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको भण्डारीले बताएका छन।भौतिक पुर्वाधार तर्फ यस आर्थिक बर्षमा सडक मर्मत र उच्चस्तरीय ग्राभेल गरिनुका साथै १३ सय मिटर सडक कालोपत्र गरिने र आगामी आर्थिक वर्षमा कालोपत्र सम्पन्न गर्नका लागि यस आर्थिक वर्षमा एक किलोमिटर सडकमा बेस तयार गरिने भण्डारीले बताएका छन् । वडा भित्र रहेका चौपायाहरुको पशु बिमा, स्वास्थ्य बिमा, नेतृत्व विकास, ड्राइभिङ तालिम, लगायतका कार्यलाई साझेदारीमा सम्पन्न गर्ने जनाएका छन् । किसानहरुलाई कृषिमा आकर्षण बढाउन बिऊ बिजन र टनेल वितरण, मल बनाउने तालिम, मजदुर लक्षित तालिम संचालन गरि सपोट सामग्री वितरण गरिने वडा स्तरीय योजनामा समेटिएको छ। नागरिकको दुःख र अफ्ठयारो परिस्थितिलाई सहज बनाउदै जनताका समस्या समाधान गर्दा खुशी हुने वडाध्यक्ष भण्डारीले वडाबासिलाई सहज रुपमा सुचना दिन सुचना संकेत बोर्ड निर्माण तथा जडान गरिनुका साथै घर नं र टोल नं राखिने वडाध्यक्ष भण्डारीले बताएका छन।

तपाईको प्रतिक्रिया