Online Bichar
सोमबार, बैशाख १७, २०८१ | Monday, April 29, 2024

काठमाडौं, १५ साउन २०८० । देशभर ७७ प्रतिशत धान रोपाइँ सकिएको छ । १२ साउनसम्म नेपालमा कुल धान रोपाइँ हुने भू(भागमध्ये ७७ प्रतिशत भू-भागमा धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

गत वर्षको यही अवधिमा ९० प्रतिशत भू-भागमा धान रोपाइँ भएकोमा चालुआर्थिक वर्षमा ढिला गरी मनसुन सुरु भएको र मनसुन सुरु भएपनि पर्याप्त वर्ष नहुँदा धान रोपाइँ कम भएको हो ।

नेपालमा कुल १३ लाख ५७ हजार ८१६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको मन्त्रालयले जनाएको छ । जसमध्ये १२ साउनसम्म १० लाख ५३ हजार ४०४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

प्रदेशगत रुपमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाइँ भएको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिमा धान रोपाइँ हुने ९९ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । गत वर्ष पनि १२ साउनसम्म सुदूपश्चिममा ९९ प्रतिशत नै धान रोपाइँ सकिएको थियो ।

कर्णाली प्रदेशमा भने गत वर्षको तुलनामा धान रोपाइँ बढेको छ । गत वर्ष धान रोपाइँ हुने क्षेत्रमध्ये १२ साउनसम्म ७८ प्रतिशत मात्रै रोपाइँ भएकोमा यो वर्ष १२ साउनसम्म ८५ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ ।

लुम्बिनी प्रदेशमा पनि ८१ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । गत वर्ष १२ साउनसम्म ८५ प्रतिशत धान रोपाइँ भएको थियो ।

गण्डकी प्रदेशमा गत वर्षको भन्दा कम धान रोपाइँ भएको छ । गत वर्षको १२ साउनसम्म ९६ प्रतिशत धान रापाइँ भएकोमा यो वर्ष १२ साउनसम्म ८२ प्रतिशत मात्रै रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशमा ७२ प्रतिशत र मधेश प्रदेशमा ५९ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । गत वर्षको यही अवधिमा बागमती प्रदेशमा ९३ प्रतिशत र मधेशमा ८९ प्रतिशत रोपाइँ सकिएको थियो ।

कोशी प्रदेशमा ८४ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । गत वर्ष कोशी प्रदेशमा ८८ प्रतिशत भूभागमा धान रोपाइँ भएको थियो ।

सबैभन्दा धेरै धान खेती हुने मधेश प्रदेशमा नै रोपाइँ कम भएको छ । मधेशमा ३ लाख ५४ हजार ३८३ हेक्टर क्षेत्रफलमा धान खेती हुने मन्त्रालयले जनाएको छ । त्यसपछि लुम्बिनी प्रदेशमा ३ लाख ३९२ हेक्टर र कोशी प्रदेशमा २ लाख ७५ हजार १३३ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।

यसतै सुदूरपश्चिम प्रदेशमा १ लाख ७२ हजार ४७६ हेक्टर, बागमती प्रदेशमा १ लाख १३ हजार ८३ हेक्टर र गण्डकी प्रदेशमा १ लाख ४ हजार ६६२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा ३८ हजार ७२७ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

 

तपाईको प्रतिक्रिया