Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

शान्ति सुब्बा
गौरादह, १२ साउन २०८० । झापाको गौरादहमा साउनको पहिलो सातामा नै ७ जनामा डेंगु संक्रमण देखिएको छ । गौरादह नगर अस्पतालका सूचना अधिकारी रामकृष्ण जोशीका अनुसार शंकास्पद बिरामीले नगर अस्पतालमा डेंगु परिक्षण गराउँदा गौरादह नगरपालिका भित्रका ३ जनामा डेंगु संक्रमण भेटिएको जानकारी दिनुभयो ।

जसमा गौरादह नगरपालिका वडा नं.१ का १८ वर्षिय पुरुष, वडा नं. २ कि २० वर्षिया महिला र वडा नं. ३ का ३२ वर्षिय पुरुषमा डेंगु संक्रमण पुष्टी भएको जनाइएको छ । संक्रमित बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य रहेकाले घरमा नै उपचाररत रहेको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो । कुनै पनि बिरामीले शंकास्पद लागेर डेंगु संक्रमणको परिक्षण गर्नुपरेमा गौरादह-१ मा रहेको गौरादह नगर अस्पतालमा निःशुल्क परिक्षण गराउन सकिने सूचना अधिकारी जोशीले बताउनु भएको छ ।

यस्तै, गौरादह नगरपालिकाको मेडिम्याक्स अस्पतालमा डेंगु परिक्षण गराएका नगरपालिका भित्र कै ४ जनामा संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.राजेस सिंहले जानकारी दिनुभयो । जसमा गौरादह-६ का १ जना पुरुष हुनुहुन्छ भने, अन्य धरान पढ्न र घुम्न गएका बिरामीहरु रहेका छन् । बिरामीहरुको अवस्था सामान्य भए पश्चात हिंजो र आज गरेर उनिहरुलाई डिस्चार्ज दिइसकेको डा.सिंहले बताउनुभयो । गौरादहको मेडिम्याक्स अस्पतालमा डेंगुका बिरामीहरुका उपचारका लागि ५ वटा बेड समेत छुट्याइएको जनाइएको छ ।

डेंगु एडिस एजिप्टाइ जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो। यसको संक्रमणमा सुरूवाती दिनमा ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने जस्ता लक्षणहरू देखा पर्छ। संक्रमितमध्ये केही थोरै भने सिकिस्त पनि हुन सक्छन्। रगतमा पानीको मात्रा कम भई रक्तचाप कम हुन्छ। शरीरमा प्लेटलेटको सङ्ख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने लक्षण देखा पर्न सक्छ। रक्तचाप निकै कम हुने र शरीरमा आवश्यक रगतको अभावमा बिरामी सिकिस्त भई मृत्युसम्म हुनसक्ने भएकोले बेलामा (सामान्य ज्वरो हुँदा) नै चिकित्सकको निगरानीमा उपचार गराउनु उत्तम हुनेछ।

डेंगु रोग सार्ने लामखुट्टे फैलिन नदिन खुला भाँडामा राखेको पानि छोपेर राख्नुपर्ने, पुराना टायर, फालिएका बोतललगायत वस्तुहरूमा जमेको पानीमा लामखुट्टे पाइने भएकाले घर वरपर पानी जम्ने वस्तुहरू भए पुरिदिने, आफ्नो घर वरपर सरसफाइमा बढि भन्दा बढि ध्यान दिनुपर्ने जोशीले बताउनुभएको छ । डेंगु रोग संक्रमण भईसकेपछि बिरामीको आफन्तले बिरामीलाई झोलिलो खानेकुरा, फलफुल खुवाउने, बिरामीलाई ७ देखि १० दिन सम्म झुल भित्र राखेर सरसफाईमा ध्यान दिने गर्नाले डेंगु नियन्त्रणमा आउन सक्ने बताइएको छ । डेंगुबाट बच्नका लागि घर आसपास एवं टोल छेउछाउ पानी जम्न दिनु हुँदैन । पानी राखिएको भाँडा बर्तन खुला छाड्नु हुँदैन । भान्सा र वाथरुमलाई सुख्खा राख्नुपर्छ । झ्याल ढोकामा जाली लगाउनुपर्छ । शरीर पूरा ढाक्ने गरी लुगा लगाउनुपर्छ । सुतेको समयमा झुल प्रयोग गर्नुपर्छ । घरको वरीपरी लामखुट्टे मार्ने औषधी छर्नुपर्छ ।

 

तपाईको प्रतिक्रिया