शान्ति तामाङ
वडाको सार्वजनिक सुनुवाइ

काठमाडौं, १२ मंसिर । शिक्षाविद् केदारभक्त माथेमाले केही समयअघि सेतोपाटीसँगको कुराकानीमा भनेका थिए, स्थानीय सरकार बलियो बनाउनुपर्छ भन्ने सोच स्थानीय जनतामै छैन।

कसरी? हामीले सोध्यौं।

वर्षौं वर्षदेखि हाम्रो दिमागमा सिंहदरबार नै जरो गाडेर बसेको छ,ु उनले स्थानीय जनताको मनस्थिति विश्लेषण गर्दै भने, सडकपेटी बिग्रोस् वा बाटोमा फोहोरमैला थुप्रोस्, हामी सिधै मन्त्रालय ताक्छौं। जबकि, हामी आफैंले चुनाव जिताएर पठाएका वडाध्यक्ष र वडा सदस्यहरू यही कामका लागि बसेका छन्। हामीले स्थानीय समस्या लिएर सबभन्दा पहिला जाने उनीहरूकहीँ हो।

ुमन्त्रालयका कर्मचारी र ठूल्ठूला नेताहरूले जेसुकै गरून्, जेसुकै भनून्। हाम्रा लागि प्रधानमन्त्री भने पनि, सचिव भने पनि हाम्रै टोलका वडाध्यक्ष र वडासदस्यहरू हुन्। उनीहरूले आफ्नो जिम्मेदारी बुझेका छैनन् भने हामी जनताले उनीहरूलाई जवाफदेही बनाउनुपर्छ, माथेमाको भनाइ थियो।

उनको भनाइ वडा कार्यालयहरूले नियमित आयोजना गर्ने सार्वजनिक सुनुवाइमा चरितार्थ हुन्छ, जहाँ नाम मात्रका सहभागी आउँछन्। नाम मात्रका प्रश्न सोधिन्छन्। र, नाम मात्रको जवाफ दिएर वडा प्रतिनिधिहरू सजिलै उम्कन्छन्।

सार्वजनिक सुनुवाइ भनेको यस्तो मञ्च हो, जहाँ जनताले आफ्ना दैनिक समस्या सोझै जनप्रतिनिधिसामु राख्न पाउँछन्। विकास बजेटको खर्च र उपलब्धिको विवरण माग्न पाउँछन्। भ्रष्टाचारको शंका लागे प्रश्नको झटारो हान्न पाउँछन्। सबभन्दा ठूलो कुरा, निवार्चित जनप्रतिनिधिहरूलाई जवाफदेही बनाउन पाउँछन्।

यस निम्ति स्थानीयको उल्लेखनीय सहभागिता जरूरी छ। सहभागी जति धेरै, प्रश्न उति धेरै। जति धेरै प्रश्न, जनप्रतिनिधि उति जवाफदेही। जति जवाफदेही, उति बलियो लोकतन्त्र।

हाम्रो व्यवहार यसको ठिक उल्टो छ। जनप्रतिनिधिले काम गरेनन् भनेर रातदिन गुनासो त गर्छौं, उनीहरूलाई प्रश्न सोध्न बेला पन्छिएर हिँड्छौं। स्थानीय सरकारको काम चित्त बुझेको छैन भने सोझै प्रश्न सोध्ने मौका किन गुमाउने?

हामी कुरा गर्दैछौं, काठमाडौं महानगरपालिका, वडा नम्बर ३ ले गत शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाइको।

यो वडामा पाँच हजार घरपरिवार छन्। तर, वडा कार्यालयले सार्वजनिक सुनुवाइ डाक्दा ५० जना पनि सहभागी भएनन्। तीमध्ये दुई जना महिलासहित १५ जनाले मात्र प्रश्न र सुझाव राखे। जनताले प्रश्न सोधेर आच्छुआच्छु पार्नुपर्ने वडाध्यक्ष दीपक केसी सजिलै उम्के।

कान्ति साँस्कृतिक केन्द्रमा आयोजित कार्यक्रममा उठेको पहिलो प्रश्न नै ुसहभागी किन कम?ु भन्ने थियो। सोधेका थिए, हिक्मत केसीले।

अर्का सहभागी सञ्जु पौडेलको चासो यसैमा थियो। सुनुवाइको दिन सबैलाई सूचना दिएर बढीभन्दा बढी सहभागी गराउनुपर्नेमा उनले जोड दिइन्।

मलाई पनि के विषयमा छलफल हुन लागेको थाहा थिएन। वडामा केही कार्यक्रम हुँदैछ भनेर बोलाइयो। हत्तपत्त आउँदा सुनुवाइ रहेछ, उनले भनिन्, यस्तो बेला त पहिल्यै सबैलाई खबर गरे पो सहभागी बढी हुन्छन्।

विष्णु गिरीले विकास निर्माणका काम द्रुत भए पनि व्यवस्थित नभएकोु गुनासो पोखे।

‘वडाका लागि आठ इन्चको ढल सानो हुन्छ। दुरगामी सोचेर ३० वर्षपछिलाई पनि हुने ठूलो ढल बनाउनुपर्छ,’ उनले भने, ‘महानगरले आठ इन्चको ढलमा प्रतिबन्ध लगाउनुपर्यो।’

अर्का स्थानीय भूमिप्रसाद सिलवालले पनि आक्रामक रूपमा भइरहेका विकासका काममा गुणस्तर कम देखिएको बताए।

‘काम त तीव्र रूपमा भइरहेको देखिन्छ। तर, के अर्को चुनावसम्म ती विकासका अंश रहलान्?’ उनले प्रश्न गरे, ‘ढल बनोस्, ब्लक बनोस् वा बाटो बनोस्( गुणस्तर कस्तो भन्ने जानकारी खोई?’

प्रविन्द्रसिंह बस्नेतले टोलमा खम्बा सार्ने काम नभएकाले सडक निर्माणमा बाधा पुगेको र फोहोरमैला उठाउन समय नतोकिएकाले समस्या भएको गुनासो पोखे।

अमृत पण्डितले काठमाडौं महानगरले प्रत्येक वडामा सुरू गरेको सार्वजनिक जग्गा संरक्षण अभियान र सार्वजनिक शौचालयको कुरा उठाए।

उनको प्रश्न थियो, ‘वडामा सार्वजनिक जग्गा खोजी भइरहेको छ भन्ने सुनेको छु। तर, सार्वजनिक शौचालय खोई? सार्वजनिक जग्गामा व्यवस्थित पार्क बनाएर त्यहाँ एउटा शौचालय पनि बनाइदिनु आवश्यक छ। वडामा हिँडडुल गर्नेलाई दिसापिसाब गर्न घरै पुग्नुपर्ने बाध्यता कहिलेसम्म?’

बुढानिलकण्ठ नगरपालिकाको रूटमा सडकबत्ती बले पनि महानगर क्षेत्रमा नबलेकाले यसमा ध्यान दिनुपर्ने सुझाव पनि उनले राखे।

कार्यक्रममा सार्वजनिक जग्गा संरक्षण समितिको काममा धेरैले चासो राखेका थिए। चुनावताका उठेको ‘हेल्थ हव’ वडा भवन निर्माण, वृद्ध, बालबालिका, युवा र महिलाका लागि आउने बजेट, खोला मिचेर बनाइएका पूर्वाधारसम्बन्धी प्रश्न पनि उठे।

जनप्रतिनिधिबीच काम बाँडफाँट र वडाका संघ(संस्थासँग कसरी समन्वय भइरहेको छ भन्ने पनि स्थानीयले जान्न चाहे।

सहभागीको प्रश्न सकिएपछि बोल्न थालेका वडाध्यक्ष केसीले लगभग डेढ घन्टाको जवाफमा भने, ुहामीले चुनावताका गर्छौं भनेका धेरै काम गरिसकेका छौं। केही छिट्टै पूरा हुने चरणमा छन्। चल्ला हातमा दिनेबित्तिकै अन्डा नपार्ने रहेछ। केही समय लाग्दो रहेछ।’

उनले कामको प्रचारप्रसार गर्ने बानी नभएकाले सबैलाई जानकारी नभएको भन्दै जुनसुकै समय आएर वडाको गतिविधि हेर्न र बुझ्न स्थानीयसँग आग्रह गरे।

ुवडालाई दुर्गमबाट सुगममा परिणत गरेँ। सहर उज्यालो पारेँ। सडक चौडा गरेँ। वडा अस्पतालको हब पनि हो। अब यसलाई विशेष स्वास्थ्य क्षेत्रका रूपमा घोषणा गरिनेछ। सबै उपचार यहाँ गरिनेछन्। स्थानीयलाई विशेष सहुलियतको व्यवस्था हुँदैछ। धुलोरहित सुन्दर सहरमा बस्ने सपना अब पूरा हुनेछ,ु उनले भने।

‘२०४९ सालमा म वडाध्यक्ष हुँदा यहाँ एउटा पनि ढल थिएन। मोटरसाइकल जाने बाटोसमेत थिएन। फराकिलो सडक, ढल, ब्लक बनाउने सबै काम मेरै पालामा भएको हो,’ उनले भने, ‘अहिले त झन् स्थानीय सरकारले धेरै अधिकार पाएको छ। पहिलाको भन्दा धेरै गर्नेछु।’

अध्यक्ष केसीले वडामा भएका संघ(संस्थासँग मिलेर काम गर्ने बाचा गरे। सँगसँगै, नाम मात्रका संघ(संस्था नवीकरण नगर्ने चेतावनी पनि दिए। वडामा तीन सय संघ(संस्था दर्ता छन्।

‘स्थानीय सरकार भनेको घरको अंशियारजस्तो हो। अंश लिने बेला केही समस्या आए पनि अरू बेला चाहिने भनेको अंशियार नै हो,’ उनले भने, ‘नागरिकको नजिक रहेर काम गर्ने हामीले हो। त्यसैले, हाम्रा कमी(कमजोरी देखाइदिन आग्रह गर्छु। वडामा राम्रो काम भए त्यसको अपनत्व सबैले लिन सक्छौं। नराम्रो काम भए जसले गरेको हो, उसैले जिम्मेवारी लिनुपर्छ।’

पछिल्लो एक वर्षमा ५४ थरीका काम भएको वडाले जनाएको छ। विकास निर्माणसँगै कलासंस्कृति संरक्षण, जेष्ठ नागरिक सम्मान, सीपमूलक तालिम, सार्वजनिक जग्गा खोजी, वडालाई शैक्षिक केन्द्रका रूपमा विकास गर्ने योजनामा काम गरेको वडाध्यक्ष केसीले जानकारी दिए।

अध्यक्ष केसीले जनहितको काम नभए पदमा नबस्ने दाबी गरिरहँदा सार्वजनिक सुनुवाइमा आएका थोरै सहभागी पनि कार्यक्रम छाडेर फुत्तफुत्त निस्कँदै थिए।

सार्वजनिक कामकाज पारदर्शी, जवाफदेही र नागरिक अधिकारलाई प्रभावकारी बनाउन भन्दै सबैजसो स्थानीय तहले सार्वजनिक सुनुवाइ गर्दै आएको छ।

शिक्षाविद् माथेमाले भनेजस्तै स्थानीय जनताले गुनासो लिएर जाने पहिलो थलो वडा कार्यालय हो। त्यसमा पनि सार्वजनिक सुनुवाइ भनेको चित्त नबुझेको विषयमा धक फुकाएर प्रश्न सोध्ने ठाउँ हो। यसलाई स्थानीय र जनप्रतिनिधि दुवैले गम्भीर रूपमा लिए जवाफदेही विकासको सुरुआत हुन सक्छ। नभए, औपचारिकता मात्र।

वडा नम्बर ३ को सुनुवाइ त्यस्तै औपचारिकता मात्र रह्यो। न धेरै सहभागी आए, न त प्रश्न सोध्नेले जवाफै पाए।

तपाईको प्रतिक्रिया

Comments