Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

काठमाडौँ, १ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले प्रस्तुत गरेको कार्य व्यवस्थापन योजना कार्यान्वयनको सुरु भएको घोषणा गरेका छन् । उक्त कार्ययोजना पार्टी र सरकारबीचको सम्बन्ध, पार्टीको सुदृढीकरण र सरकारलाई सफल बनाउने विषयसँग सम्बन्धित भएको उल्लेख गर्दै प्रचण्डले यान्त्रिक नभई रचनात्मक ढंगले त्यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

केन्द्रीय कार्यालयमा पार्टीका पदाधिकारी, मन्त्री र स्वकीय सचिवालयको समेत उपस्थिति रहेको आजको कार्यक्रममा प्रधानमन्त्रीले पार्टीका स्वयम्सेवी कार्यकर्ता आजकाल भाडामा चल्न थालेको खुलासा समेत गरेका छन् । प्रधानमन्त्रीले योजना बनाउने र कार्यान्वयन समेत आफैँले मात्र गर्ने परिस्थिति सुखद् नभएको विचार व्यक्त गरे । पार्टीमा काम गर्ने कुनै करकाप र दबाबमा होइन ।

विगतमा भोक र तिर्खा नभनी देश र जनताको हितमा काम गर्ने भावना हुन्थ्यो । आजकाल आफूलाई केही हुन्छ भने गर्ने, नत्र चुप लागेर बस्ने प्रवृत्ति बढेको उनले बताए । उनले पार्टी कमिटीका सम्मेलन तलैबाट सुरु गर्ने र नेतामुखी भएर, दबाब दिएर वा रोएर पद ओगट्ने परम्पराको अन्त्य गर्दै कार्यकर्ता र जनताको मन जितेर नेता हुने समय आएको स्पष्ट पारेका थिए ।

कार्य व्यवस्थापन योजनाअनुसार प्रधानमन्त्री, मन्त्री र सल्लाहकारहरु प्रत्येकले १–१ दिन गरेर हप्ताभरि केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यकर्ताहरुसँग र संसदीय दलको कार्यालय सिंहदरबारमा सांसदहरुसँग भेटघाट गर्नेछन् । भेटघाटको लागि समय तालिका समेत प्रधानमन्त्रीले प्रमाणित गरेका छन् । उक्त स्थानमा भेटघाट प्रत्येक दिन ४ बजे सुरु हुनेछ । भेटघाट गर्न पेरिसडाँडा र सिंहदरबारमा नाम टिपाउनुपर्ने अनिवार्य गरिएको छ । प्रधानमन्त्री र मन्त्रीले आवश्यक व्यक्ति वा समूहलाई आफैँ बोलाएर भेट्न प्रेरित गरिएको छ ।

सिंहरदरबार र बालुवाटारका कामलाई व्यवस्थित गर्ने विषय समेत कार्ययोजनामा समेटिएका छन् । कार्यक्रममा सर्वसाधारण जनता र सामान्य कार्यकर्ताले पनि प्रधानमन्त्री, मन्त्री र सल्लाहकारलाई भेटेर आफ्ना कुरा राख्न सक्ने वातावरण निर्माण गर्न यो तयारी गरिएको प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले स्पष्ट पारेका थिए ।

तपाईको प्रतिक्रिया