गौरादह, १ चैत २०७९ । पत्रकार महिलाहरुको क्षमता विकासको लागि मल्टिमिडिया सम्बन्धि ३ दिने तालिम मंगलबार सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश महिला विभागद्वारा धनकुटाको साँगुरीगढी गाउँपालिका-६ नाम्जे थुम्की स्थित भेडेटार भिलेज रिसोर्टमा फागुन २८ देखी ३० गतेसम्म संचालन भएको तीन दिने तालिम मंगलवार सम्पन्न भएको हो।
तालिममा कोशी प्रदेशका १४ वटा जिल्लाका रेडियो, टेलिभिजन, पत्रिका र अनलाइनमा कार्यरत ३० जना महिला पत्रकारहरुलाई मल्टिमिडिया सम्बन्धि तालिम दिइएको थियो। तालिमको सहजिकरण मल्टिमिडिया पत्रकार रजनिश भण्डारी र उज्वल ज्योति शाक्यले गर्नुभएको थियो । तालिममा सहभागिता जनाएका पत्रकार महिलाहरुलाई पहिलो दिन मल्टिमिडिया भनेको के हो?, यो किन आवश्यक छ? लगायतका विषयमा प्रशिक्षण दिइएको थियो भने, दोस्रो र अन्तिम दिन स्टोरी लेखन, फोटो भिडियो खिच्ने तरिका, मोवाइल र ल्यापटपमा विभिन्न प्रविधि प्रयोग गरेर अडियो, भिडियो र फोटो प्रयोग गरेर समाचार बनाउने तरिका लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । त्यसअवसरमा, पत्रकार महासंघ कोशी प्रदेश महिला उपाध्यक्ष हिमा चेम्जोङ र महासंघका सचिव तथा तालिमका संयोजक देवेन्द्र कार्कीले अहिलेको समयमा अडियो, भिडियो र फोटोलाई समायोजन गरि गरिने मल्टिमिडिया तालिम पत्रकार महिलाहरुको लागी अति आवश्यक भएकाले पनि तालिमको आयोजना गरिएको बताएका छन् ।
तालिममा सहभागीहरुको तर्फबाट जोसना श्रेष्ठ र राधा लुईटेलले मल्टिमिडिया तालिमबाट आफुले अडियो, भिडियो र फोटोे प्रयोग गरेर प्रविधिमैत्री तरिकाले पत्रकारीता गर्न धेरै नै सहयोग पुर्याएको साथै तालिममा सिकेका कुराहरुलाई निरन्तरता दिदै जाने बताएका थिए। तालिम समापनको क्रममा प्रशिक्षक रजनिश भण्डारी र उज्वल ज्योती शाक्यलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो ।