Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

जेबी खड्का
गौरादह, १० असोज । झापाको गौरादहा नगरपालिकालाई शैक्षिक हब बनाउने विषयमा सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको सहभागितामा अन्तरक्रिया सम्पन्न भएको छ । जनता माविको सभाहलमा अन्तरक्रियामा सहभागिहरुले नगरपालिका भित्र रहेका विद्यालयहरुमा विद्यार्थीको आकर्षण, गुणस्तरीय शिक्षा, लागुऔषध नियन्त्रणका विषयमा सहभागिहरुले आफ्नो धारणा राखेका थिए ।

एसई परीक्षा उत्तीर्ण गरेका बिद्यार्थीहरुलाई माध्यमिक तह अन्तर्गतको कक्षा ११/१२ अध्ययन गर्न गौरादहमा आकर्षण बढाउनसके गौरादहलाई शैक्षिक हब बनाउन सकिने सहभागीहरुको भनाइ थियो ।

बिद्यार्थीहरुलाई कक्षा ११/१२ अध्ययन गर्न गौरादहमा सबै बिषयहरुको पढाइ हुने अवसर भएपनि बिद्यार्थीहरु कलेज पढ्न भन्दै सहर केन्द्रित हुने क्रम बढेकोमा सहभागिहरुले चिन्ता ब्याक्त गरेका थिए ।

पाठ्यक्रम परिवर्तन भएर कक्षा १२ सम्मलाई माध्यमिक शिक्षा भनिएता पनि विद्यार्थीहरूमा भने पुरानै मानसिकताले कक्षा १० को एसईई दिएपछि त्यो विद्यालयमा पढ्नुको सट्टा ‘कलेज लाइफ’को सपना देखेर अन्य विभिन्न कलेजहरू खोज्दै हिँड्ने गरेपछि विद्यार्थी थाम्न विद्यालयहरुलाई चुनौति थपिएको छ ।

गौरादह नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको शैक्षिक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सो चुनौति सामना गर्नुपर्नेमा जोड दिएका थिए ।
गौरादह क्षेत्रमा एसइइको अध्यान पूरा गरेका बिद्यार्थीहरुलाई कक्षा ११/१२ अध्यान पनि गौरादहमा गराउन बिद्यार्थीहरुलाई अभिभावक र बिद्यार्थीहरु सँग सहकार्य गर्न आवश्यक रहेको धारणा राखेका छन् ।

सामुदायिक र संस्थागत बिद्यालयका प्रधानाध्यापकहरु सहभागी रहेको शैक्षिक अन्तरक्रिया कार्यक्रममा जनता माबिका शिक्षक डण्डिराज घिमिरेले शैक्षिक अवधारणा कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा गौरादह कृषि क्याम्पस र नीजि क्षेत्रबाट सञ्चालित पूर्वञ्चल कृषि क्याम्पस गौरादहमा नै रहँदा देश भरिबाट विद्यार्थी उच्च शिक्षा हाँसिल गर्न गौरादह आउने तर गौरादहका विद्यार्थी विद्यालय तहको काक्षा ११/१२ अध्ययन गर्न भने गौरादह बाहिर जानुले गौरादहालाई नैतिक दबाब भएपछि शिक्षा, युवा तथा खेलकुद शाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

गौरादह नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि दुर्गामणी बस्नेतले गुणस्तरीय शिक्षा र शैक्षिक वातावरणका लागि यसप्रकारका अन्तरक्रियाहरु नियमितरुपमा संचालन गर्नुपर्ने बताएका छन् । सामाजिक विकास समितिले नगर शिक्षाको विकासकालागि सरोकारवालाहरुको सल्लाह सुझावलाई ध्यानमा राखी अघि बढ्ने बताएका छन् ।

त्यसैगरी शिक्षा युवा तथा खेलकुद शाखा गौरादहका प्रमुख टेकनाथ रेग्मीले गौरादहको शिक्षा क्षेत्रलाई बलियो बनाउन शैक्षिक क्यालेण्डर सहित विविध कार्यक्रमहरु सार्वजनिक गरिएको बताए ।

प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा माउण्ट एभरेष्ट मावि गौरादहका प्रधानाध्यापक नारायण प्रसाद घिमिरेले शिक्षाको हबको रुपमा गौरादहलाई विकास गर्न प्रशस्त सम्भावनाहरु रहेकोमा जोड दिएकाछन् । त्यसैगरी जनता माध्यमिक विद्यालय गौरादहका पूर्व प्रधानाध्यापक तथा शिक्षक महासंघ झापाका निवर्तमान अध्यक्ष बिुद्धिमान कार्कीले गौरादहलाई शैक्षिक हबको रुपमा विकास गर्न स्थानीय सरकार, अभिभावक, शिक्षक, विद्यार्थी लगाएत सरोकारवालाहरु सक्रिय सहभागिता हुनुपर्ने बताए ।
शिक्षाको पहिलो पाइला माविसम्मको विद्यालयको जग नै हो ।

शिक्षालाई पहिलो प्रथामिकता दिएर सरकार, समुदाय, अभिभावक, राजनीतिक नीति निर्माता लाग्ने हो भने गौरादहलाई शिक्षाको हब बनाउन सम्भव छ भन्ने सहभागिहरुको निष्कर्ष थियो । जनता माविका प्रधानाध्यापक हरिप्रसाद अधिकारीले स्वागत गरेको कार्यक्रम  विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद गौतमको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया