Online Bichar
मंगलबार, चैत्र ०६, २०८० | Tuesday, March 19, 2024

पोखरा, ९ असोज २०७९ । कास्कीको मादी गाउँपालिकाको थाक खानेपानी आयोजनाको पाइप चोरी गरेको आरोपमा एक जनप्रतिनिधिसहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा मादी गाउँपालिका-१ का वडासदस्य ३४ वर्षीय खरजंग गुरुङ पनि छन् ।

उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले असोज ५ गते मध्यरातमा पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । ‘थप अनुसन्धानका लागि ६ दिनको म्याद थप गरिएको छ,’ उनले भने । चोरी गरिएको पाइप करिब १४ लाख रुपैयाँ बराबर भएको अनुमान छ ।

मादी गाउँपालिकाका निवर्तमान अध्यक्ष वेदबहादुर गुरुङका अनुसार यसअघि पनि उक्त आयोजनाबाट पाइप चोरी हुँदै आएको थियो । ‘अहिले चोरी भएको पाइप पुरानो नभई प्रयोगमै आइरहेको पाइप हो’ उनले भने ।

के हो थाक खानेपानी आयोजना ?

मादीका निवर्तमान गाउँपालिका अध्यक्ष गुरुङका अनुसार कास्कीका साविक पूर्वी ३ वटा गाविसमा खानेपानी सुविधा पुर्‍याउन २०४७/०४८ सालमा आयोजना सुरु गरिएको थियो । हाल उक्त खानेपानी आयोजनाबाट मादी गाउँपालिका र रुपा गाउँपालिकाका वासिन्दाले खानेपानी सुविधा लिएका छन् । तर, जनसंख्या वृद्धि हुँदै गएपछि खानेपानी पाइपले माग धान्न नसकेपछि पुनर्निर्माण थालिएको हो ।

‘पाइप पनि पुरानो हुँदै गएको र पानीको प्रेसर धान्न नसकेपछि बेलाबेलामा पाइपहरु फुट्न थालिसकेका थिए । त्यसलाई बनाउन नयाँ र ठूलो पाइप राख्न सुरु भएको हो’, निवर्तमान अध्यक्ष गुरुङले भने, ‘यसअघि पनि पाइप चोरी भएर हैरान हुन्थ्यो ।’

अनलाइनखबरबाट साभार

 

 

 

 

तपाईको प्रतिक्रिया