Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झगेन्द्र खड्का
गौरादह,१५ पौष । गौरादह नगरपालिका भित्र रहेका किसानहरुले उत्पादन गरेको बिषादी रहित तरकारी संकलन गरि बिक्रिवितरण गर्न अग्यार्निक तरकारी पसल गौरादहमा संचालन गरिएको छ।

महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको पहलमा यस क्षेत्रमा रहेका कृषि सहकारी संस्थाहरुको सहभागितामा विषादी रहित तरकारी र फलफूलको पसल संचालन गरिएको हो।

यस क्षेत्रमा रहेका किसानहरुलाई तरकारी उत्पादनमा हौसला प्रदान गर्दै उचित मूल्यमा तरकारी खरिद गरि नागरिकको स्वास्थ्यमा समेत सुधार ल्याउने उदेश्यले गौरादहको डिपु चोकमा संचालनमा ल्याइएको सब्जी पसलमा विषादी र रासायनिक मल प्रयोग नगरिएको तरकारी बिक्रीवितरण गरिने जनाइएको छ।

ग्रामीण क्षेत्रमा रहेका कृषि सहकारी संस्थाहरुले सेयर सदस्यहरुलाई अग्यार्निक मल बनाउन तालिम दिएकाले किसानहरुले अग्यार्निक मलबाट उत्पादन गरेको तरकारी खरिद गरि नागरिकहरुलाई बिक्री गरिने जनाइएको छ। कृषि सहकारी संस्थाका सेयर सदस्यहरुले उत्पादन गरेको अग्यार्निक तरकारीलाई प्राथमिकता दिदै अन्य किसानहरुले पनि उत्पादन गरेको बिषादी र रसायनिक मल रहित तरकारीलाई प्राथमिकता दिईएको साना किसान कृषि सहकारी संस्था महारानी झोडाकि अध्यक्ष मिना ढकालले जानकारी गराईन।

किसानहरुलाई कृषि क्षेत्रमा आकर्षण बढाउन र कृषिबाट पलायन हुन नदिन संस्थाले गरेको लगानीको प्रतिफल प्राप्त गर्न तरकारी खेतीमा अन्य किसानहरुलाई पनि आकर्षण बढाउदै आयआर्जन गरि रोजगारीका अवसर सृजना गर्न सहजताका लागि संस्थाले तरकारी पसल संचालनमा ल्याएको साना किसान कृषि सहकारी संस्था जुरोपानीका अध्यक्ष नवराज लुइँटेलले जानकारी गराए।

संस्थाले संचालन गरेको तरकारी पसलमा नगरपालिका भित्रका किसानहरुले उत्पादन गरेको तरकारीका साथै नगरपालिका भन्दा बाहिरका कृषि सहकारी संस्थाले उत्पादन गरेका सामग्रीहरुलाई पनि बिक्रीवितरणका लागि राखिएको अध्यक्ष ढकाल बताउँछिन्। सहकारी पसल संचालनमा आएपछि सुरुवाती समयमा स्थानीय स्तरमा उत्पादन भएका तरकारी हरियो साग, मुला, शिबी, फुलकोपी, बन्दाकोपी, गाँजर, प्याज, खुर्सानी, च्याउ, अदुवा,बिक्रीवितरणका लागि राखिएपनि ग्राहकका लागि आवश्यक पर्ने अन्य सामग्री पनि राखिएको छ।

ग्राहकको माग बमोजिम पहाडी क्षेत्रमा उत्पादन हुने आलु, स्कुस, अकबरे खुर्सानी लगाएतका सामग्री पनि बिक्रीका लागि राखिएको छ। साना किसान कृषि सहकारी संस्था महारानी झोडाबाट उत्पादन गरिएको अचार, चामल, चना, दाल, राज्मा र गाईका लागि आवश्यक पर्ने ब्रान समेत सहकारी पसलमा राखिएको जनाइएको छ। अन्य जिल्ला तथा झापामा रहेका साना किसान कृषि सहकारी संस्थाले उत्पादन गरेका सामग्रीहरुमा उदयपुरको बेसार, सिबसतासीको मह, पृथ्वी नगरको चिया लगायतका सामग्री राखिएको छ।

सहकारी पसलमा राखिएका तरकारी र मानिसहरुलाई आवश्यक पर्ने सामग्री बजार तथा अन्य पसलमा भन्दा कम मुल्यमा बिक्री हुने भएकाले ग्राहकको आकर्षण यश तर्फ बढ्ने संचालकको भनाइ छ।

तपाईको प्रतिक्रिया