Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

झापा, १ पुष २०७८ । काठमाडौंमा भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनले गगन थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीमा निर्वाचित गरेको छ ।

महामन्त्री पदका लागि भएको निर्वाचनको आज सम्पन्न मत गणनाले थापा र शर्मालाई महामन्त्रीमा निर्वाचित गरेको हो ।
थापाले लोकप्रिय मत ३०२३ ल्याएर विजयी हुनुभएको भने शर्माले १९८४मत पाएर विजयी हुनुभएको हो ।

थापा डा.शेखर कोइरालाको समूहबाट उम्मेदवार बन्नु भएको हो भने शर्मा प्रकाशमान सिंहको समूहबाट उम्मेदवार बन्नु भएको हो ।
यसैगरी सभापति शेरबहादुर देउवाको पक्षबाट उम्मेदवार बन्नु भएका डा। प्रकाशशरण महतले १५५० मत प्राप्त गर्नुभएको छ भने प्रदीप पौडेलले १४०९ मत ल्याएर चौथो बन्नु भएको छ । कोइराला पक्षबाटै उम्मेदवारी दिनुभएका डा। मीनेन्द्र रिजालले ८०९ मत र विमलेन्द्र निधि समूहबाट उम्मेदवार बन्नु भएका राजाराम कार्कीले १०७ मत ल्याउनु भएको छ ।

सभापति र उपसभापतिको भने मतगणना भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसक्नु भएको छ । गत सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो । कांग्रेसमा यसपटक सभापतिसहित १३४ पदमा निर्वाचन भएको हो ।

कांग्रेस विधानमा महाधिवेशनबाट २ जना महामन्त्री निर्वाचित हुने प्रावधान छ । सभापति उपसभापति र महामन्त्रीको नतिजा आएसँगै अब सहमहामन्त्री र केन्द्रीय सदस्यहरुको मतगणन हुनेछ । मतगणना ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा भइरहेको हो । सभापतिको मतगणना भने राष्ट्रिय सभागृहमा भएको थियो ।

तपाईको प्रतिक्रिया