Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024
सम्पादकीय, २० कात्तिक 
पछिल्लो समय हामी खानामा विषादी खाइरहेका छौं । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा खानामा विषादीको प्रयोग भएको पाइन्छ । दैनिक खानामा प्रयोग हुने तरकारी स्वास्थ्यका दृष्टिकोणले यो स्तरको जोखिममा हुँदा पनि कुनै अनुगमन, नियमन नहुनुले उपभोक्ता अधिकारको हाम्रो निरीह अवस्था प्रस्ट देखाउँछ ।
एकातिर स्वास्थ्य प्रतिकूल त्यसमाथि महँगीले छोइनसक्नु तरकारी उपभोग गर्न सर्वसाधारण बाध्य छन् । सर्वसाधारण उपभोक्ता बिचौलियाका कारण तरकारीका लागि किसानले पाउनेभन्दा दुई गुणाभन्दा बढी मूल्य तिर्छन् । त्यसकारण सरकारले तरकारी उत्पादन, यसको आयातसँगै बजारमा बिक्री वितरण हुँदासम्म नियमित अनुगमन गर्नु आवश्यक छ ।
भारतबाट आयात गरिएका तरकारीमा निर्धारित मापदण्डभन्दा सात सय ५० गुणासम्म विषादी पाइएको छ ।
भारतमै त्यस्ता तरकारीको उपभोगसम्बन्धी विवाद चलिरहँदा नेपाल भित्रिँदा सरकार आवश्यक चनाखो नहुनुले उसको लापरबाही चरित्र उजागर हुन्छ ।
उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्ने अत्यधिक विषादी र आर्सेनिकयुक्त तरकारी भारतबाट नेपाल भित्रिँदा पनि सरकार उदासीन छ । परीक्षणविना भित्रिने त्यस्ता तरकारी सीधै उपभोक्ताका भान्सामा पुग्छन्। विषादी र आर्सेनिकको मात्रा मापदण्डभन्दा बढी भएकाले खाडी राष्ट्र र युरोपमा प्रतिबन्धित त्यस्ता तरकारी नेपालमा निर्वाध रूपमा आउँछन् ।
भारतमा उत्पादन हुने करेला, आलु, भन्टा, परबल, सिमी, बोडी, मटर, फर्सी, काउली, बन्दा, काँक्रो, खुर्सानी, हरियो तरकारी, खुर्सानी, भिण्डी, आँप, स्याउ, अंगुरलगायत तरकारी र फलफूलमा अत्यधिक विषादी भेटिएको स्वयं भारतीय अखबारले नै उल्लेख गरेका छन्। तोकिएको मापदण्डभन्दा बढी विषादी र आर्सेनिकयुक्त तरकारी र फलफूलको नियमित उपभोगले बाँझोपन, क्यान्सर, ट्युमर, मिर्गाैलाको खराबी, आँखाका समस्या, आमाको पेटमा भएको बच्चालाई असर पर्नेदेखि शारीरिक असरसहितका बच्चा जन्मिने हुन्छन् ।
हृदयाघात, पक्षाघात र मानसिक रोगसम्मका गम्भीर रोग लाग्छन्। अनुगमन पद्धति राम्रा भएका मुलुकमा तरकारीमा विषादीको मात्रा परीक्षण नभई त्यस्ता तरकारी र फलफूल बजारमा जान पाउँदैनन् । सर्वसाधारण जनताको स्वास्थ्यमा गम्भीर प्रभाव पार्न सक्ने त्यस्ता तरकारी विना परीक्षण बजारमा जानु गम्भीर चिन्ताको विषय हो, जसतर्फ सरकारको गम्भीर ध्यान पुग्नुपर्छ ।
अनुसन्धानहरूले अग्र्यानिक तरकारी उत्पादनको लागत विषादी प्रयोग गरेको भन्दा १५ प्रतिशत जतिले मात्र बढी हुने देखाएका छन् । विषादी प्रयोग नगरिनहुने हो भने सहरबजारमा सर्वसाधारण उपभोक्ताले उपभोग गर्ने फलफूल र तरकारीमा विषादीको मात्रा परीक्षण नभई बजारमा नजाने संयन्त्र विकास गरिनुपर्छ । किसानलाई सकेसम्म विषादीको कम प्रयोग गरेर या अग्र्यानिक तरकारी उत्पादनमा प्रोत्साहन गर्नुपर्छ ।
तपाईको प्रतिक्रिया