Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, ६ साउन २०७८ । श्री बिआईटी उद्योगले ललितपुरस्थित सोपान फर्मास्यूटिकल लिमिटेडलाई कारबाहीको माग गरेको छ ।

नाईट्रोजन ग्यास भनेर अक्सिजन ग्यास बिक्री गरेको र त्यसले उत्पादित खाद्यवस्तु बिगारेको भन्दै बिआईटी उद्योगले कारबाहीको माग गरेको हो । नाइट्रोजन ग्याँस भनेर अक्सिजन ग्यास बिक्री गरी आफूहरूले उत्पादन गरेका करोडौं रुपैयाँ मूल्य बराबरको एनडिएच ब्राण्ड आलु चिप्स र क्रन्जी ड्यामेज भएको आरोप लगाउँदै उद्योगले सोपान फर्मास्युटिकलाई कारबाहीको माग गरेको हो ।

आलु चिप्स, क्रन्ची र कुरकुरेको प्याकिङ गर्दा नाइट्रोजन ग्यास भरिने गरिन्छ । जसले यस्ता खाद्यवस्तुलाई लामो समयसम्म ताजा राख्न मद्दत गर्छ । तर अक्सिजन ग्यास भर्दा यस्ता खाद्यवस्तु ओसिने गरेको उद्योगको भनाइ छ ।

उद्योगी कमल सिंहले सोपानले आफूहरूमाथि ठगि गरेको तथा जनताको स्वास्थ्यमाथि खेलवाड गरेको उल्लेख गर्दै छानबिन गरी कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले मानव जीवनको स्वास्थ्य माथि खेलवाड गर्ने कम्पनीलाई कारबाही नभए आमरण अनसन बस्ने चेतावनी समेत दिनुभयो । दोषीमाथि कारबाही गर्न आफूहरूले सम्बन्धित निकायमा उजूरी दिए पनि सुनुवाइ नभएको उहाँको गुनासो छ ।

उद्योगी सिंहका अनुसार आलु चिप्स बिग्रन नदिन नाइट्रोजन ग्यास राखेर प्याकिङ गरिन्छ । तर सो कम्पनीले नाइट्रोजन भनेर अक्सिजन ग्यास दिएकाले आफूले करोडौंको क्षति व्यहोर्नु परेको दावी गर्नुभयो । कम्पनीले आपूmलाई दिएको ग्यास सिलिण्डरमै अक्सिजन ग्यास सानो अक्षरमा लेखेकाले पनि सो ग्यास नाइट्रोजन नभइ अक्सिजन भएको उद्योगको दाबी छ । उद्योगी सिंहले आफूले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभागमा समेत गएर सोध्दा सो ग्यास अक्सिजन नै भएको पुष्टि भएको दावी गर्नुभयो ।

ग्यास कम्पनी सोपानले पठाएको सिलिण्डरमा सानो अक्षरमा अक्सिजन लेखिएको उद्योगको दावी छ । उद्योगी सिंहले आफूहरूसँग प्रमाणको लागि सो सिलिण्डर सुरक्षित रहेको स्पष्ट पार्नुभयो । जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ग्यास जस्तो संवेदनशील विषयमा कम्पनी संवदेनशील नदेखिएको सो उद्योगको भनाइ छ । सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले समेत महानगरीय प्रहरी परिसरलाई अनुसन्धानका लागि पत्राचार गर्दा पनि सुनुवाइ नभएको उद्योगको गुनासो छ ।ईमेजखबरबाट साभार

 

तपाईको प्रतिक्रिया