Online Bichar
आइतबार, जेठ १७, २०८३ | Sunday, May 31, 2026

काठमाडौँ, १७ जेठ २०७८ । विभिन्न ७ सामाजिक र व्यापारिक समूहको समन्वयमा फ्रान्सबाट १० वटा अक्सिजन प्लान्ट ल्याउने प्रक्रिया अगाडि बढाइएको छ ।

१२ करोड रुपैयाँ संकलन गरेर ल्याउन लागिएको दस वटा अक्सिजन प्लान्टले २४ घन्टामा ५०० बेड र १५० सिलिन्डरलाई पुग्ने अक्सिजन उत्पादन गर्नेछ ।

अमेरिका नेपाल मेडिकल फाउन्डेसन, क्रियसन नेपाल, ह्युम्यानिटी फाउन्डेसन नेपाल, मिसन रिबिल्ट नेपाल, बतास फाउन्डेसन, जगदम्बा स्टिल र स्याकार ट्रेडिङ कम्पनी प्रालि अक्सिन प्लान्ट नेपाल ल्याउने प्रक्रियामा सामेल भएका हुन् । मिसन रिबिल्ट नेपालका अध्यक्ष डाक्टर मदन उप्रेतीले फ्रान्सबाट किनिएको अक्सिजन प्लान्ट बढीमा तीन साताभित्र आफूहरुले पाउने बताए । उनले एक साताभित्रमा कुन–कुन अस्पताललाई अक्सिजन प्लान्ट दिने भन्नेबारेमा अध्ययन सकिने बताए । फ्रान्सबाट ल्याइने अक्सिजन प्लान्ट अस्पतालहरूलाई निःशुल्क दिइनेछ ।

अक्सिजन प्लान्ट किन्न सहकार्य गरिरहेका संस्थाहरुका अनुसार अहिलेसम्म सातै वटा प्रदेशलाई पुग्ने गरेर अक्सिजन प्लान्ट वितरण गर्ने गरी ४ वटा प्राविधिक टोलीले अक्सिजन प्लान्ट राख्ने भनिएका सम्भावित अस्पतालहरुको प्राविधिक परीक्षण गरिरहेको छ । अहिलेसम्म पोखरा, धनगढी र दार्चुलामा अक्सिजन प्लान्ट राखिने टुंगो लागे पनि अन्य स्थानहरुको टुंगो लगाउने प्रक्रिया चलिरहेको छ । बतास फाउन्डेसनका आनन्द बतासले महामारीमा अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भनेर प्लान्ट किन्ने प्रक्रिया अगाडि बढाइएको बताए ।

प्लान्ट किन्ने प्रक्रियामा सक्रिय क्रियसन नेपालका अध्यक्ष आनन्द मिश्रले कोरोनाको दोस्रो लहर सुरु भएर अक्सिजनको अभावमा बिरामीको मृत्यु बढ्न थालेपछि अक्सिजन प्लान्ट नै किन्ने प्रक्रिया सुरु गरिएको बताए । अक्सिजन फर नेपाल नामक अभियान चलाएर निःशुल्क अक्सिजन सिलिन्डर वितरणमा सक्रिय आनन्दले पछिल्लो १५ दिनको लगातारको मिहनेतपछि प्लान्ट किन्ने काम सम्पन्न भएको बताए । १० मध्ये एउटा अक्सिजन प्लान्ट किन्न कोकाकोला फाउन्डेसनले सहयोग गरेको हो ।

अक्सिजन प्लान्ट ल्याउने प्रक्रियामा सामेल संस्थाहरुले सोमबार गरेको भर्चुअल छलफलमा कोरोना संकट व्यवस्थापन केन्द्र९सीसीएमसी० का प्रमुख कार्यकारी अधिकृत बालानन्द शर्माले स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँगको समन्वय गरेर फ्रान्समा किनिएको अक्सिजन प्लान्ट कार्गो गरेर नेपाल सरकारले ल्याउने प्रतिबद्धता व्यक्त गरे । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोइरालाले अक्सिजन प्लान्ट जडान गर्ने काममा स्वास्थ्य मन्त्रालयको प्राविधिक टोलीले पनि सघाउने बताए ।कान्तिपुरबाट साभार

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments