Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

रमेश गुरागाईँ , ९ जेठ २०७८

मैले उपन्यास पढेको भनेको एसएलसी दिएपछि हो । मागेर पाए जति सबै पढेको थिएँ । त्यतिबेला किनेर पढ्ने उपाय मसँग थिएन । उसबेला के के पढेँ, खासै यादै छैन । धेरैजसोमा केटा र केटीका मायाप्रेम हुन्थे । उमेरले होला, पढ्दा काउकुती लाग्थ्यो । आइएस्सी पढ्दा अनिवार्य नेपालीमा ‘बसाइँ’ उपन्यास पनि पढियो । अलिक बढी सामाजिक घटना र चरित्र समेटेको ।

त्यसपछि एकाध हेरियो होला, सारमा उही किसिमका हुँदा रहेछन् । यथास्थितिका घटनामा घुमिरहने । अनि क्रमशः उपन्यासतिर मेरो मोह भङ्ग हुन थालेको थियो । उपन्यास पढ्दा समय पनि धेरै जान्थ्यो । सायद आफ्नो विषय क्षेत्र पनि होइन भन्ने सोचेको थिएँ । फेरि साइन्स पढ्न थालेपछि ध्यान अन्यत्र मोड्नु हुन्न भन्ने थियो ।

त्यसपछिका २०–२२ वर्ष बीचमा क्रान्तिकारी आन्दोलनका उपन्यास मात्र पढेँ । जहाँ वर्गीय समस्या हुन्थे र समाधानको दिशा देखाउँदै तिनका लागि विद्रोह दन्किएका हुन्थे । वास्तविक जीवन ती उपन्यासमा भेटिएको अनुभूति हुन्थ्यो । जस्तो कि म्याक्सिम गोर्कीद्वारा लिखित आमा, निकोलाई दोस्त्रोवोस्कीको अग्निदिक्षा, याङ्ग मोको युवाहरुको गीत, … रातो चट्टान, आहूतिको नयाँ घर र स्खलन आदि ।

रुस, चीन र नेपालका श्रमिकवर्गीय मुक्तिका लागि लेखिएका क्रान्तिकारीका कथा–व्यथाले साँच्चै मेरो मन बढी खिचेको थियो ।
तीभन्दा बाहिर गएर मैले जेल बस्दा वीपी कोइरालाका उपन्यासहरु सबैजसो पढेँ । खासगरी वीपी राजनेता भएकाले उनका उपन्यास चाहिँ पढौँ भन्ने नै थियो । सुन्दरीजलमा बस्दा अरु कुनै पुस्तक नभएकाले पनि एक दुई दिनमै सबै पढ्न भ्याएको थिएँ ।

अहिले आएर मैले घनश्याम पथिकको उपन्यास ‘छुई’ पढेँ । यो मेरो लागि एक हिसाबले क्रमभङ्ग पनि भयो । यो उपन्यास पढ्नुका पछाडि दुई कारण छन् । पहिलो, पथिकजी मैले चिनेको, मेरै गाउँठाउँका बौद्धिक व्यक्तिहुन् । चिनेजानेका र नजिकका व्यक्तिहरुको लेखाइ राम्रो वा नराम्रो जस्तो भए पनि थाहा पाउन उत्सुकता हुनु स्वभाविक हो ।

फेरि सामाजिक सञ्जालमा चर्चामा आएपछि छाड्न सकिँदैन । पथिकको पहिलो उपन्यास ‘युनिका’ पनि थाहा पाएको थिएँ  तर पढिहालेको थिइँन । ‘युनिका’ नपढ्दा पनि भयो । ‘छुई’ छाड्न नसकेको दोस्रो र प्रमुख कारण पनि छ । लकडाउनमा खाली समय पाएर भन्ने लाग्यो होला । त्यो गलत हो । किनकि सरासर पढ्दा आठ घण्टामा सहजै सकिने पुस्तक पढ्न लकडाउन नै जरुरी के पथ्र्यो र ? एक रातको सुताइ केही पर धकेल्दा भइहाल्छ ।

खासगरी आर्यन समाजमा ‘छुई’ बारे जुन परम्परा थियो, त्यसलाई खस–आर्य समुदायका कथित पण्डाहरुको प्रत्यक्ष–अप्रत्यक्ष निर्देशनमा अहिलेसम्म परिपालना गरिँदै आएकोमा मलाई निकै ‘टिठ’ लाग्छ । मेरो विचारमा यो महिलामाथिको ठूलो अपमान र अन्याय पनि हो ।
यसबाट पश्चिम नेपालमा छाउपडीबास र विविध कारणले महिलाको मृत्यु समेत हुँदै आएको छ ।

उक्त समस्या छैन भन्ने ठानिएको पूर्वी नेपालमा अछुतको व्यवहार चाहिँ भइरहेकाले त्यसले महिलालाई मानसिक तवरले केही न केही पछि पार्ने काम निश्चित रुपमा गरेको छ । अझ यसलाई प्रश्रय दिन हजुरआमा, आमा, दिदी अर्थात् महिला अभिभावक प्रत्यक्ष अघि सर्ने बिडम्बनापूर्ण स्थिति छ ।

त्यसैले धेरै पाठकले पढेको र अझै धेरैले पढ्ने सम्भावना भएको उपन्यासको माध्यमबाट त्यो कुरीति हटाउन कत्तिको प्रभावकारी योगदान हुनेछ भन्ने मेरो चासो हो । अझ कतै उपन्यास समस्या उजागर गरेर त्यतिकै टुिङ्गयो कि ? थोरबहुत आशङ्का पनि रहेकै हो । जसले गर्दा ‘छुई’लाई मैले स्पर्श गरी छाडेँ ।

अब उपन्यासतिर लार्गौँ – पथिकजीको लेखाइस्तरलाई म सलाम गर्छु । भाँती पु¥याएर लेखिएको छ । हामी सबैले पार गरेर आएको स्कूले जीवन, अझ कुर्कुराउँदो बैँसालु यौवनावस्थाको जीवन्त प्रस्तुति रोचक छन् । उपन्यासभित्र पस्दै गर्दा आमपाठकहरुलाई आफैँले भोगेका कथासँग नजिक पु¥याउन लेखकले हदैसम्म मेहनत गरेका छन् । पात्रहरुको व्यवस्थापन पनि सान्दर्भिक छ । प्रेमको दुनियाँमा खलपात्रको उपस्थिति सुहाउँदो छ ।

मायाप्रेमको कहानीले नजानिँदो तरिकाले उपन्यासलाई रसिलो बनाउँछ । सबैभन्दा बढी त प्रमुख पात्र महिला बनाएर तिनका संवेदना केलाउन पुरुष लेखक सफल भएका छन् ।

उपन्यासमा विशेषतः शीर्षकलाई कत्तिको न्याय भएको छ भन्ने मैले ठानेको थिएँ । छुई भएको बेला विद्यालयमा छात्राहरुको सकसलाई सबैले बुझ्नुपर्ने सन्देश दिइएको छ । खासगरी केटा साथीहरु र शिक्षकवर्ग संवेदनशील भइदिनुपर्छ । छुईबाट सिर्जित हुन सक्ने भनिएका जम्मा चारवटा दुष्परिणाम उदाहरणका रुपमा उपन्यासमा उल्लेख छन् –

एक, छुई भएको बेला मन्दिरमा पानी चढाइएकाले छोरी ज्वाइँको बस दुर्घटनामा मृत्यु ।
दुई, छुई भएको बेला दियो छुँदा त्यसैबाट आगो सल्केर भएको आगलागी ।
तीन, छुई हुँदा दाजु र बाबुलाई हेरेको हुनाले हुरीबतास आई घरको छाना उडाइदिएको अवस्था ।
चार, छुई भईसके पछि आफ्नो मुखबाट निर्धारित विवाहको कुरा अरुसँग गरेमा हुन सक्ने दुर्घटना ।

त्यही दुर्घटनाको त्रासबाट उपन्यास वियोगतिर मोडिएको छ । र, पाठकलाई समेत गहिरो भावनामा डुबाउँदै डुबाउँदै कथा टुङ्गिएको छ ।
एक्काइसौँ शताब्दीको विकसित भनिएको समाजमा समेत आमा बन्न योग्य बनेकी महिलाको एउटा शारीरिक प्रकृयालाई लिएर यति ठूलो अन्धविश्वास किन ? फगत शारीरिक प्रकृया मात्र हो भन्ने जान्दाजान्दै …… कथित शिक्षितवर्ग समेत…….. यसलाई के भन्ने ? सायद उपन्यासले यही प्रश्न पाठकलाई गर्न खोजेको हो ।

उपन्यासको अन्तिम अनुच्छेदमा छुईबारे सचेतना प्रस्तुत गरिएको छ – ‘जानुले सोची, छुई भएको त्यो दिन संयोगलाई सबै कुरा भनेको भए पनि हुने रहेछ । जे हुन्थ्यो, हुन्थ्यो । छुई हुनु भनेको एउटा प्राकृतिक प्रकृया न रहेछ । एउटी महिला आमा बन्न योग्य छे भनेर जनाउ दिने शारीरिक परिवर्तन त रहेछ । शरीरमा रहेको फोहोर वस्तु रगतको माध्यमबाट बाहिर निस्किने मासिक चक्र । यो संसारमा छुई भएको महिलाले छुन नहुने चीज केही पनि छैन । छुई हुँदा सरसफाइ र आरामको खाँचो हुने कुरा मात्र हो । हाम्रो परम्पराले मलाई आज यो स्थितिमा ल्यायो । यो कुरा नर्सिङ पढ्नु अगावै स्कूले शिक्षामै पढ्न पाएको भए ?’

छुईबारे लेखकको धारणा समेत हो यो । जसले तथाकथित सामाजिक परम्पराविरुद्ध शालीन र सौम्य विद्रोह बोलेको छ । यसले पाठक बनेर आउने आम मानिसको छुईसँग सम्बन्धित सोच र व्यवहार (यदी त्यो गलत नै भइरहेको छ भने) रुपान्तरणमा पक्कै योगदान पु¥याउनेछ । जुन उपन्यासको सफलताको कसी समेत हो ।

हाम्रो समाजका उपबुज्रुकहरु छुई जस्ता समस्या एकैचोटी होइन, बिस्तारै कम हुँदै जान्छन् भन्ने विचार राख्छन् । पछौटेपन अन्त्यका लागि सबैभन्दा ठूला समस्या नै तिनै हुन् । किनभने आजको विकसित र सभ्य समाज त्यति ढिला हँुदै हुँदैन, यदि जान्नेबुझ्नेहरु बाधक नबन्ने हो भने ।
त्यसैले उपन्यासकी मुख्य पात्र जानुले सोचेको नर्सिङ वा स्कूले शिक्षाले समेत सुल्झाउन नसकिरहेको यो सामाजिक समस्या हल गर्न उपन्यास एउटा माध्यम बनोस् भन्ने आशा गरेको छु ।

अन्त्यमा, ‘छुई’ लाई छुन र आत्मसात गर्न हिच्किचाउनु पर्दैन भन्ने मेरो ठम्याइ हो । यो पढेर पक्कै पनि तपाईँलाई समय खेर गएको महसुस हुने छैन ।

तपाईको प्रतिक्रिया