Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

काठमाडौं ,२७ फागुन २०७७ ।  पुनःस्थापित प्रतिनिधिसभाको फागुन २३ गते बसेको पहिलो बैठक सत्तारुढ दलकै सांसदहरूले बहिस्कार गरे । विपक्षी दलका सांसदहरूले नारावाजी र रोष्टम घेराउ गरे ।

सत्ता पक्षकै सांसदको बहिस्कार र विपक्षी सांसदहरूको बिरोधकाबीच सभामुख अग्नि सापकोटाले सरकारले ल्याएका अध्यादेशहरू त पेश गर्ने अनुमति त दिए । तर, बैठक अगाडि बढाउन नसकेर स्थगित गरिदिए ।

हिजो बसेको दोस्रो बैठक पनि औपचारिकतामै सीमित रह्यो । संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच बैठकको कार्यसूचीमा विवाद भयो । बैठकको कार्यसूचीमै सहमति जुट्न नसकेपछि शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भयो ।

संसद विघटनपछि राजनीतिक दलहरुबीच सडकमा देखिएको विवाद र द्धन्द्ध संसद पुनःस्थापनापछि सदनमा सरेको छ । संसदमा देखिएको विवाद र द्धन्द्धले जनप्रतिनिधिहरूको सर्वोच्च थलो संसद नै निकम्मा हुने खतरा बढेको छ ।

पूर्वसभामुख तारानाथ रानाभाट संसदमा देखिएको द्धन्द्ध व्यवस्थापनको लागि सवै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुहुन्छ । सभामुखले तटस्थ भूमिका निर्वाह गरेर विनम्रतापूर्वक ऐन, नियम र संसदीय परम्परा लागू गर्नुपर्ने उहाँको भनाइ छ ।

त्यसो त लामो समयदेखि प्रधानमन्त्री र सभामुखबीच पनि द्धन्द्ध रहेको छ । यसले पनि संसदमा देखिएको द्वन्द्वको खाडल बढ्दै जाने कतिपयको टिप्पणी छ । पूर्वसभामुख दमननाथ ढुङ्गाना कार्यपालिका र व्यवस्थापिका प्रमुखबीचको द्वन्द्वले संसदीय परिपाटीलाई नै असर गर्ने टिप्पणी गर्नुहुन्छ । संसदलाई प्रभावकारी र गतिशील बनाउन सभामुखसँगै प्रधानमन्त्रीको पनि महत्वपूर्ण भूमिका हुने उहाँको तर्क छ ।

पूर्वसभामुख रानाभाट पनि संसदमा देखिएको द्वन्द्व समाधानका लागि कार्यपालिका र व्यवस्थापिका प्रमुख दुवैले जिम्मेवार र मर्यादित हुनुपर्ने बताउनुहुन्छ ।

संसदमा पेश भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सत्ताको नेतृत्वकर्ता दल एमाले बाहेक अन्य दलका सांसदहरूले विरोधको सूचना दर्ता गरेका छन् । यसले गर्दा संसदमा देखिएको विवाद र द्वन्द्वको खाडल आगामी दिनमा थप बढ्दै जाने देखिएको छ ।ईमेजखबरबाट साभार

तपाईको प्रतिक्रिया