Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

जनकराज सापकोटा, काठमाडौं

प्रत्यक्षबाट सोमबारसम्म ५ जना मात्रै महिला निर्वा्चित भएका छन् । संघीय संसद्मा कम्तीमा ३३ प्रतिशत महिला पुर्‍याउनैपर्ने भएकाले समानुपातिकबाट यति धेरै चुन्नुपर्ने भएको हो ।
मंसिर २६, २०७४(प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षबाट थोरै मात्र महिला निर्वा्चित भएकाले दलहरूले समानुपातिकबाट धेरै महिला (करिब ८० प्रतिशत) लाई सांसद बनाउनुपर्ने भएको छ । संवैधानिक व्यवस्थाअनुसार संसद्मा ३३ प्रतिशत महिला सदस्य अनिवार्य छ । दलहरूले प्रत्यक्षमा उम्मेदवार बनाउँदा नै थोरै मात्र महिलालाई समेटेका थिए भने विजयी भएर आउने महिला सांसदको संख्या त झनै न्यून छ ।

सोमबार साँझसम्मको नतिजाअनुसार प्रतिनिधिसभामा ५ जना मात्र महिला निर्वा्चित भएका छन् । प्यूठानबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, कञ्चनपुर–१ बाट माओवादी केन्द्रकी बिना मगर, ललितपुर–३ बाट माओवादीकै पम्फा भुसाल, झापा–३ बाट एमालेकी पवित्रा निरौला खरेल र रुकुमपूर्व १ बाट माओवादी केन्द्रकी कमला रोका विजयी भएका छन् । मतगणना जारी रहेका क्षेत्रमध्ये सुनसरी–३ मा एमालेकी भगवती चौधरी कांग्रेसका विजय गच्छदारसँग प्रतिस्पर्धामा छिन् भने स्याङ्जा–२ मा एमालेकी पद्मा अर्याल कांग्रेसका गोपालमान श्रेष्ठसँग प्रतिस्पर्धामा छिन् ।

प्रत्यक्षबाट निर्वा्चित १६५ र समानुपातिकबाट ११० गरी प्रतिनिधिसभा २७५ सदस्यीय
हुनेछ । यस्तै, राष्ट्रिय सभा ५९ सदस्यीय हुनेछ । राष्ट्रिय सभाका लागि ७ वटा प्रदेशबाट ८र८ जना निर्वा्चित हुनेछन् भने राष्ट्रपतिद्वारा ३ सदस्य मनोनीत गर्ने व्यवस्था छ । संविधानअनुसार अब बन्ने संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रिय सभाको कुल ३ सय ३४ सिटको ३३ प्रतिशत अर्थात् १ सय १० सदस्य महिला हुनु अनिवार्य छ । संविधानको धारा ३८ (४) ले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक प्रदान गरेको छ । धारा ८४ (८) ले भने संघीय संसद्मा कम्तीमा ३३ प्रतिशत महिला हुनैपर्ने भनेको छ । यस्तै व्यवस्था संविधानको धारा १७६ (९) ले प्रदेशसभाका निम्ति पनि गरेको छ, जसअनुसार संघीय संसद्को ३३४ सिटमा ११० महिला अनिवार्य छ । संविधानअनुसार ७ प्रदेशबाट एकल संक्रमणीय मतका आधारमा कम्तीमा तीनरतीन महिला राष्ट्रिय सभामा आउनेछन् । यस्तो प्रक्रियाबाट संसद्मा आउने महिलाको संख्या कम्तीमा २१ हुनेछ । त्यस्तै, राष्ट्रपतिले मनोनीत गर्ने ३ मध्ये एक महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । यसरी संसद्मा महिलाको संख्या कम्तीमा २२ पुग्नेछ ।

संसद्मा ३३ प्रतिशत पुर्‍याउन थप ८८ महिला सांसद चाहिन्छ । सोमबारसम्मको मत परिणामलाई आधार मान्दा ५ महिला मात्रै प्रत्यक्षतर्फबाट संसद्मा पुगे भने थप ८३ महिला सदस्य समानुपातिकबाट पुर्‍याउनुपर्नेछ । यसका निम्ति दलहरूले समानुपातिक सूचीबाट धेरै महिला सदस्य चुन्नुपर्नेछ ।

समानुपातिकमा पनि एमालेकै अग्रता

प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा पनि प्रत्यक्षमा जस्तै नेकपा एमालेकै अग्रता देखिएको छ । सोमबार राति अबेरसम्मको परिणामअनुसार एमालेले ६९६६९६ मत पाएको छ । प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको कांग्रेसले समानुपातिकमा एमालेलाई पछ्याएको छ । उसले ६६१७०८ मत ल्याएको छ ।

यस्तै माओवादी केन्द्रले ३०३२६३, संघीय समाजवादी फोरम नेपालले ४०१६१, विवेकशील साझा पार्टीले ३९९४९, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३८३८४, राष्ट्रिय जनता पार्टीले ३०६१२ र नयाँ शक्ति पार्टीले २७७७७ मत ल्याएका छन् ।

कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया