Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

डण्डिराज घिमिरे“विवेक”

सबै चाडपर्व मानिसकै सिर्जना हुन् । मानव पुर्खाका अनुभव र अनुभूतिबाट संस्कृतिको निर्माण भएको हो । स्थान, जाति, समुदाय, चेतना, प्रकृति आदिका आधारमा समाज र मानव सभ्यताको विकासक्रमसंगै परम्परा, कला र संस्कृतिहरुको विकास भएको सत्य हो ।

संस्कृति र परम्पराको विकास पहिला अनि ती संस्कृति परम्परासंग सम्बन्धित कथाहरु तत्कालीन आ–आफ्नो अनुकूलतामा पछि थोपरिएका, व्याख्या गरिएका हुन् । तसर्थ चाडपर्व मनाउँदा धार्मिकभन्दा पनि सामाजिक र सांस्कृतिक पक्षको भावबोध गर्न सक्नुपर्दछ ।

नेपाली समाजका धेरैजसो चाडपर्वलाई धार्मिक आवराणमा व्याख्या गरिएका भए पनि चाडपर्वको सामाजिक र सांस्कृतिक महत्त्व नै प्रधान हुने गर्दछन् भन्ने हेक्का आजको पुस्ताले राख्नु पर्दछ । परम्परागत रुपमा मनाइने चाड, पर्व, जात्रा, मेला तथा अन्य साँस्कृतिक उत्सवहरुको सबै जातिहरुमा आ–आफ्नो विशेषता जोडिएको छ । अन्धविश्वासमा जकडिएर होइन बरु ती उत्सवहरुको सामाजिकता र ब्यावहारिकतालाई बुझेर मनाउने गनुपर्दछ ।

दशैं अथवा विजयादशमी भनेपछि विजय जोडिन्छ, विजय भनेको जित हो । जित सबैको चाहना हो । दशैं चाडकोे सार र भाव भनेको आफूभन्दा ठूलाको आशिर्वाद थाप्नु, आफन्त सँगको भेटघाट एकअर्काप्रति सुख समृद्धि , शान्ति एवम् उत्तरोत्तर प्रगतिको कामना सहित आशीष दिई खुसी साटासाट गर्नु हो । यो भाव कुनै एउटा धर्मको लागि मात्र आवस्यक र उपयुक्त हुने अरु धर्मको लागि उपयुक्त नहुने भन्ने होइन । यसप्रकारको भाव समग्र मानव जातिको विकास र उन्नतिको लागि अत्यावस्यक छ । तब मात्र प्रकृति पनि आफ्नो नियमित अनुशासानको दायरामा चलेको ठहर्दछ । यसकारण दशैं हिन्दुको मात्र भनेर नभनौं ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

धार्मिक आवरणको झ्यालबाट मात्र विश्लेषण गर्दा दशैं हिन्दुहरुको मात्र चाड होला तर राष्ट्रिय एकताको मूल ढोका खोलेर विश्लेषण गर्ने हो भने दशैं सामाजिक सांस्कृतिक महत्व बोकेको आम नेपालीहरुको एकताको सेतु हो । दशैं नेपालीहरुको महान् चाड हो । हिन्दुहरुको साँघुरो सिमाना भित्र मात्र दशैंलाई सिमित गरिनु हुदैन ।

राष्ट्रिय पर्व दशैं हरेक बर्ष नेपाली मनहरुको भावनात्मक एकतालाई अझ प्रगाढ र बलियो बनाउने मुख्य माध्यम बन्दै आएको छ । असत्यमाथि सत्यको विजय भएको प्रतीकको रुपमा दशैं पर्व भव्यताका साथ मान्ने संस्कृतिको प्रादुर्भाव भएको युगौं बितिसकेको छ । सत्यको विजय र असत्यको पराजयको सन्देश दिन धर्मसँग जोडेर दशैंका सन्दर्भमा बिभिन्न कथाहरु तयार पारिएको मात्र हो ।

भौगोलिक कारण र जीवन जिउने विविधताका कारणले हामी नेपालीको मौलिक कला संस्कृतिमा पनि विविधता पाइन्छ । तसर्थ जाति, समुदाय, सम्प्रदाय, क्षेत्र र भुगोलका आधारमा भिन्न भिन्न तरिकाले हामी दशैं लगाएतका चाडपर्व मनाउँदछौं ।

नेपालमा धेरै जातजातिहरु छन् । यो देश आदिवासी जनजातिहरु लगाएत सबैको साझा फूलबारी हो । सबैका आ–आफ्नै चाडपर्वहरु छन् । रीतिरिवाज र परम्परा पनि आफ्नै किसिमका छन् । आ–आफ्ना सामाजिक मूल्य र मान्यता पनि छन् ।

दशैंलाई सबै नेपालीले राष्ट्रिय पर्वको रुपमा आ–आफ्नो शैली र लोक परम्पराको आधारमा मनाउने प्रचलनको विकास भएको छ । नेपाल र नेपाली सबैको लागि यो गौरवको कुरा हो । हिन्दुहरुको चाड दशैं भन्ने सङ्कीर्ण परिभाषाबाट माथि उठेर ०६२–०६३ को जन–आन्दोलन पछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको जगमा दशैंलाई नेपालीहरुको महान चाड भनेर संस्थागत रुपमा विकास गरिएको छ ।

धर्म निरपेक्षताको उर्वरिलो नेपाली बगैंचामा हिन्दु, मुस्लिम, बौद्ध, क्रिश्चियन आदि धर्महरु फूलिरहेका छन् । आपसी प्रेम र सहिष्णुताको यथार्थमा बर्षौंदेखि मुस्कुराउँदै नेपालमा सबै धर्महरु ढकमक्क फूलिरहेका छन् । नेपालीहरु फरकफरक परम्परा माने पनि एकअर्कालाई आदर सम्मान गर्छन् र मिलेर बस्ने गर्छन् । सबैले आ–आफ्ना पहिचान र परम्परामा गर्व गर्छन् । यो नेपाल र नेपालिको विशेषता पनि हो ।

सबै सम्प्रदायले सहिष्णुता र सद्भाव राख्दै दशैं पर्वको सामाजिक, संस्कृतिक पक्षको भावलई आत्मसाथ गर्दै सम्मानको दृष्टिले एक–आपसको भावनात्मक एकतामा रमाउँनु पर्दछ । जुनसुकै मतले जेसुकै भने तापनि , दशैं मान्ने तरिकामा विविधता भए पनि आखिर दशैं त सबै नेपालीले मनाउने र रमाउने वातावरणको विकास सबै मिलेर गर्नुपर्दछ ।

दशैंको सामाजिक र राजनीतिक महत्व उच्च्व रहेकोछ । शरद ऋतु ,वन उपवनमा ढकमक्क फूल फुलेको छ । खेतमा लहलह धानका बालाहरु झुलेका छन् । वारीमा तरकारीहरू ,फलफूलहरु लटरम्म फलेका छन् । वर्षा थामिएको छ ,न जाडो छ न गर्मी । कृषिप्रधान देशका नागरिकहरुलाई हलो ,कुटो ,कोदालो र हिलो माटोबाट फुर्सद मिलेको छ ।
यही उमङ्गमय वातावरणमा दशैंका लागि टाढा टाढा देश परदेशमा गएका आफन्तजनहरु सँगको मिलनले कसको मन उल्लासित हुदैन र ! मीठो खाने , राम्रो लगाउने र मनोरञ्जन गर्ने फुर्सदिलो क्षण मात्र नभएर नाता सम्बन्धलाई गाढा बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने पारिवारिक तथा सांस्कृतिक राजनीतिक अवसरको रुपमा पनि दशैंको महत्व रहेको छ । धर्मको परिभाषा भित्र मात्र दशैं सीमित होइन् ।

दशैंलाई वर्गीय धरातलबाट नियाल्दा हुनेखानेहरुलाई सधैंको दशैं छँदै छ, हुँदा खानेहरुलाई दशैं दशा बन्ने गर्दछ । दशैंलाई वर्गीय बिभेद तथा धार्मिक र जातीय सङ्कीर्णता झल्काउने कारण बन्न दिनु हुँँदैन । हाम्रो समाजका गरिब निमुखा जनताका लागि पनि चाडपर्व खुशीको ढोल बजाएर आउनु पर्छ, धनका धनीका लागिमात्र होइन ।

परिवारको खुसीको लागि ऋण लिएर दशैं मान्नु पर्ने अवस्थामा छन् वहुसङ्ख्यक नेपालीहरु आज । यो दुखद अवस्थाको अन्त्य हुनु पर्दछ । दशैं लगायतका चाडपर्वले नेपालीजनमा समानता, समभाव र समानुभुतिको विकास गर्न सक्नु पर्दछ । यसका लागि राज्य सञ्चालनका सबै तहका संयन्त्रहरु प्रभावकारी माध्यम बन्नु पर्दछ । दशैं राष्ट्रिय एकताको विकासको शक्तिशाली माध्यम बनोस् ।

हामी सबैमा भएको खराब काम,क्रोध,लोभ,मोह ,अहङ्कारजन्य दुर्गुणहरुको पराजय तथा असल सकारात्मक भावना, सत्य र न्यायपूर्ण विचारको विजय होस् । देशमा सर्बत्र शान्ति छाओस् , विजया दशमीको यही छ शुभकामना ।
तपाईको प्रतिक्रिया