Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २२ असोज २०७७ । सरकारले लोकसेवा आयोगद्वारा हुने सबैखाले परीक्षा सञ्चालन अनुमति दिएसँगै आयोगले कार्यतालिका सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ का परीक्षा निरन्तरता र चालू आर्थिक वर्ष २०७७/७८ को नयाँ कार्यतालिकासमेत सार्वजनिक गरेको हो ।

आयोगले परीक्षा सञ्चालन मापदण्ड तयार पारेको जनाएको छ । ‘संक्रमणको विशेष अवस्थामा परीक्षासम्बन्धी मापदण्ड २०७७’ तयार पार्दै परीक्षा सञ्चालन गरिने भएको हो । मापदण्डअनुसार पहिलो चरणमा यसअघि स्थगित सहसचिवस्तरको परीक्षा हुने छ ।

आयोगले गत वर्ष स्थगित खरिदार, नासु तथा अधिकृतसहितका परीक्षा र नयाँ कार्यतालिका क्रमिक रूपमा प्रकाशन गरिरहेको छ ।

आयोगले तयार पारेको मापदण्डअनुसार परीक्षार्थीलाई कोरोना परीक्षण रिपोर्ट आवश्यक पर्ने छैन । परीक्षार्थी स्वयंले आफूलाई संक्रमण भए नभएको घोषणा गर्नुपर्नेछ ।

परीक्षा केन्द्र निर्धारण, व्यवस्थापनमा खटिने कर्मचारी र परीक्षार्थीका लागि निश्चित मापदण्ड तयार पारिएको छ ।

मापदण्डअनुसार एकसय परीक्षार्थीका लागि एक परीक्षा केन्द्र रहनेछ भने एक कक्षा कोठामा २५ भन्दा बढी परीक्षार्थी रहने छैनन् ।

परीक्षा सञ्चालन गर्दा सरकारबाट जारी संक्रामक रोग नियन्त्रण तथा रोकथामसँग सम्बन्धित सबै मापदण्ड पालना अनिवार्य गरिएको छ ।

परीक्षास्थलमा आउने सबैले अनिवार्य मास्क, स्यानिटाइजर प्रयोग गरी भौतिक दूरी कायम गर्नुपर्नेछ ।

यसक्रममा दूरी कायम गरी कर्मचारीले मास्क खोल्न लगाई उम्मेदवार पहिचान गरेरमात्र परीक्षा हलमा जान अनुमति दिने छन् ।

प्रश्नपत्र खोल्दा, उत्तरपुस्तिका वितरण गर्दा, हाजिरी गराउँदा, प्रश्नपत्र वितरण, उत्तरपुस्तिका चेकजाँच गर्दा, थप उत्तरपुस्तिका वितरण गर्दा, उत्तरपुस्तिका बुझिलिँदासमेत उच्चसतर्कता कायम गर्नुपर्नेछ ।

आयोगबाट सञ्चालन हुने प्रयोगात्मकरसीप परीक्षणसम्बन्धी परीक्षा, अन्तर्वार्ता, सामूहिक छलफल, प्रस्तुतिकरणलगायत कार्य सञ्चालन गर्दासमेत स्वास्थ्य सुरक्षासँग सम्बन्धित विषयमा मापदण्ड पालना गर्नुपर्नेछ ।

 

तपाईको प्रतिक्रिया