Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, २४ भदौ २०७७ । झापा र मोरङको सिमानामा पर्ने मावा नदी अहिले पनि उत्खनन् भइरहेको छ । स्थानीय सरकार र प्रशासनले त्यसको नियन्त्रण गर्नका लागि विभिन्न प्रयास गरेपनि ती सबै प्रयास निष्प्रभावी भएका छन् । ठेकेदारको दादागिरी र बल मिच्याइँले गर्दा नदीको दोहन नरोकिएको हो ।

मावा नदी नियन्त्रण गर्नका लागि यहाँ जनताको तटबन्धका कारण स्परहरू बनाइएको छ । स्पर निर्माण गर्नका लागि आवश्यक पर्ने तार जाली र ढुङ्गा प्रयोग गरिएको छ । तर यहाँ प्रयोग गरिएका तार जालीसमेत काटिएको छ । जसले गर्दा नदीमा सामान्य बहाव आउँदा पनि सङ्कलित ती ढुङ्गा बगाउने र तस्करीको बाटोसमेत खुल्ने गरेको छ । दमक नगरपालिका वडा नं.३ का वडासदस्य सुकदेव लुइँटेलका अनुसार मावामा अहिले पनि रातको समयमा नदी दोहन भइरहेको छ । यसको नियन्त्रणका लागि गरिएका प्रयासलाई पनि उछिन्दै दोहनमा संलग्नहरूले फरक–फरक बाटो बनाउँदै नदीको चरम दोहन गरिरहेका छन् ।

रातभरि मावाबाट ट्याक्टरका ट्याक्टर निर्माण सामग्री बोकेर गाउँ कटाउने गरेको उनले बताए । प्रमाणसहित प्रहरी प्रशासनलाई खबर गर्दासमेत प्रहरीले कुनै कारबाही नगरेको उनी बताउँछन् । यसले गर्दा नदीको अवैध दोहनमा प्रहरीकै पनि सेटिङ हो कि भन्ने आशङ्का रहेको उनले आरोप लगाएका छन् ।

अत्यधिक नदी दोहन भएका कारणले गर्दा नदी आसपासका बस्तीले अनेक समस्या भोग्नुपरिरहेको छ । सिंचाइको असुविधा, खानेपानीको मुहान सुक्नाले खानेपानीको अभाव, उर्वर भूमिको क्षतिलगायतका समस्या यहाँका स्थानीयले भोग्दै आएका छन् । यही समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले जुन बाटोबाट नदी दोहन भइरहेको थियो, त्यो बाटो बन्द गराएको थियो । पछि फेरि त्यसैको छेउमा अर्को बाटो बनाएर तस्करहरूले तस्करी गरिरहेका छन् ।

निर्माण व्यवसायीको यो अत्याचारका विरुद्ध स्थानीयले आवाजसमेत उठाउन नसकेको गुनासो गरेका छन् । खोलाको ठेक्का लिएका र यसरी अनैतिक तवरले समेत नदी दोहन गर्न पल्केकाहरूले टोलैपिच्छे उनीहरूका सहयोगी मुन्द्रे टोले गुण्डा राखेका कारणले गर्दा आफूहरूले त्रासका कारण आवाज उठाउन नसकेको स्थानीय बताउँछन् ।

नियन्त्रण गर्न कठिनः नगर प्रमुख ओली
नदीजन्य सामग्री उत्खनन् गरेर ठेक्का लगाउने अधिकार स्थानीय पालिकालाई छ र यसको नियन्त्रण गर्ने दायित्व पनि स्थानीय सरकारकै हो । तर, दमक नगरपालिकाले यसको पूर्ण नियन्त्रण गर्न सकेको देखिएको छैन । नगर प्रमुख रोमनाथ ओली भन्छन्, ‘दिनमा अनुगमन गर्न गयो, सबै खाली हुन्छ, रातैभरि त्यहाँ गस्ती गर्न पनि नसकिने, रोक्न खोज्दा खोज्दै पनि मावामा दोहन भइरहेको भन्ने खबर त आएको छ तर नियन्त्रण गर्न सकिरहेका छैनौं, यद्यपि प्रयास जारी छ, यसमा संलग्नको पहिचान भइरहेको र प्राप्त हुने बित्तिकै प्रशासनसँगको सहकार्यमा कारबाही गरिनेछ ।’

प्रहरीमा आशङ्का नगर्नुस्, हामी त कारबाही गरिरहेका छौंः डिएसपी पण्डित
नदी प्रभावित क्षेत्रका नागरिकले प्रहरीकै मिलेमतोमा मावा नदी दोहन भइरहेको छ भन्ने आरोप लगाएका छन् । मुख्यगरेर दमक–३ मा नै रहेको बाघखोर प्रहरी कार्यालयको संरक्षणमा नदी दोहन हुने गरेको स्थानीयले आरोप लगाएका हुन् ।

त्यहाँस्थित कार्यालयका इञ्चार्ज सुधीर दाहाललाई स्थानीयबासीले टेलिफोन गरेर नदी दोहन भएको बारेमा बताए पनि त्यहीँभित्रबाट अन्य प्रहरीले दोहन गर्नेलाई टेलिफोन गरिदिएर सुरक्षित बनाएको आरोप स्थानीयको छ । यसबारेमा बाघखोर प्रहरी कार्यालयभित्रका प्रहरीहरूमा छानबिन गरिने इञ्चार्ज दाहालले बताए । ‘नदी दोहन नियन्त्रणमा हामी संवेदनशील छौं, यसमा हामीलाई आशङ्का गर्नु गलत हो’ –उनले प्रष्ट्याउँदै भने । यता इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी विजयराज पण्डितले मावा नदीमा बस्ने ट्याक्टरहरूलाई दैनिकजसो नियन्त्रणमा लिएर कारबाहीका लागि दमक नगरपालिकामा पठाउने गरेको जानकारी दिए ।

‘रात, दिन नभनी हामीले त्यो क्षेत्रमा गस्ती गरिरहेका छौं । नदी दोहनमा संलग्नलाई पक्राउ पनि गरिरहेका छौं । स्थानीयले हामीमा लगाएको आरोपको म खण्डन गर्छु’ –डिएसपी पण्डितले भने । नदी उत्खनन् बन्द भएको दिनदेखि मङ्गलबारसम्ममा प्रहरीले २३ वटा ट्याक्टर, २ वटा टिपर र एउटा जेसिबी नियन्त्रणमा लिई कारबाहीका लागि नगरपालिका पठाएको उनले जानकारी दिए । नगरपालिकाले आवश्यक कारबाही गरी जरिबाना गरेपछि नियन्त्रित ती साधनहरू छुटेको उनले बताएको समाचार ब्लाष्ट खबरमा छ ।

 

तपाईको प्रतिक्रिया