Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024
भर्खर मुक्तक लेख्न प्रयासरत मित्रहरुलाई सजिलोको लागि तल केही जानकारी दिने प्रयास गरिएको छ। यसलाई बामे सर्न आवश्यक ज्ञानको रूपमा लिनुहोला। अन्य कुनैपनि कला वा सिप हासिल गर्नको लागि जस्तै राम्रो मुक्तक लेख्न पनि निरन्तर अभ्यास, अध्यन र साधना जरुरी हुन्छ।

मुक्तक, चतुष्पदीय (चार हरफको), आफैँमा स्वतन्त्र र अर्थ दिने पद्यात्मक रचना हो। मुक्तकमा पहिलो, दोस्रो र चौथो हरफ अनुप्रासयुक्त र तेस्रो हरफ स्वतन्त्र हुन्छ। हरफको पछिल्तिर हुने, उस्तै सुनिने शब्दरअंश लाई अनुप्रास भनिन्छ। मुक्तकका पहिलो हरफले बिषयको उठान गर्छ। दोश्रो हरफले उठानलाई थप समर्थन गर्छ। समग्रमा, सुरुका दुई हरफले पृष्ठभूमि (दबअपनचयगलम) तयार पार्छ। तेस्रो हरफ स्वतन्त्र हुन्छ र यो हरफले चौथो हरफमा माररझट्का हान्न उपयुक्त वातावरण तयार पार्छ। चौथो हरफ वजनदार र झट्का दिने खालको हुन्छ। मुक्तक पढ्दा सररर, बहाबसंगै पढ्न सकिने हुनुपर्छ। 

मुक्तक लेख्दा सकेसम्म कम भन्दा कम शब्द प्रयोग हुनु राम्रो मानिन्छ। लेख्न सिक्दैगर्दा सकेसम्म प्रत्येक हरफमा २०र२२ भन्दा कम अक्षर भए राम्रो। कुनै हरफ लामो, कुनै छोटो पनि त्यति राम्रो मानिँदैन। सकेसम्म सबै हरफहरु एकै लम्बाइका होउन् , सिंगो मुक्तकलाई झट्ट हेर्दा चिटिक्क मिलेको आयतकार देखियोस्। (अभ्यस्त मुक्तकारहरूले धेरै स्वरवर्णको प्रयोग गरेर सजिलोसँग पढ्न मिल्नेगरी लामा हरफहरू पनि कोर्न सक्छन्, त्यतातिर अहिले नजाऔँ ।)

चार हरफको र अनुप्रास मिल्दैमा उक्त रचना मुक्तक हुन सक्दैन। मुक्तकले भाव र गहिराइको माग राख्दछ। एउटा मुक्तकले कुनै एक विषयमा बोलेको हुन्छ। मुक्तकका हरफहरु बीच एक-आपसमा अन्तरसम्बन्ध हुनुपर्छ।
——————
माथि भर्खरै पढ्नुभएको नियम र मुक्तक राम्रो बनाउने तत्वहरुलाई उदाहारणमा हेरौं-

मुक्तकः १ ( लेखक- भूपि शेरचन )

प्रत्येक पहेंलो धातुलाई सुनको गजुर भन्न मनलाग्छ ( उठान)
प्रत्येक रंगिन चरालाई बनको मजुर भन्न मनलाग्छ ( समर्थन, पृष्ठभूमि तयार भयो अब )
चाकडी गर्दा गर्दा यस्तो बानी परिसक्यो अब त (स्वतन्त्र हरफ , मार हान्न ठिक्क)
बाटामा कुनै गधा देखेपनि हजुर भन्न मनलाग्छ। ( मार हान्ने हरफ )

माथिको मुक्तकमा हरफ १, २ र ४ का पछिल्ला तीन शब्दहरु “अनुप्रास’ हुन्। यो मुक्तकले “चाकडी प्रवृति” को बारेमा बोलेको छ, व्यंग्यात्मक भाषामा।

मुक्तकः २ (लेखकस् कृष्णप्रसाद पराजुली, नेपाली मुक्तक विधाका प्रणेता, ‘सय थुँगा फूल’ बाट)

आऊ घावै घाउ भएको छाती कुल्चेर आऊ तिमी (पृष्ठभूमि वा उठान)
म सब पीडा सहुँला आँखामा गुराँस फुलाऊ तिमी (पृष्ठभूमिको लागि थप समर्थन)
आऊ अझ मेरा झरेका सपनाका पातहरुमा टेकेर (स्वतन्त्र हरफ जसले लक्षभेदन गर्छ)
क्यै चाहिन्न मलाई आँशुका गीत भएर जाऊ तिमी । (लक्ष भेदनको परिणाम, प्रभाव दिन्छ ।)

हामीलाई लाग्छ, यी दुईवटा मुक्तकले चतुष्पदीय मुक्तक संरचना र मुक्तकको आधारभूत रूप, सार र सौन्दर्य पक्षबारे धेरथोर जानकारी दिन्छन् । क्रमशः

तपाईको प्रतिक्रिया