Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

तुलसीप्रसाद निरौला
बिर्तामोड, ४ जेठ । चिया श्रमिकहरुलाई तत्काल नियमित ज्याला भुक्तानी गर्न तथा राहत दिन माग गरिएको छ । चिया क्षेत्रमा कार्यरत श्रमिक उच्च जोखिममा रहेको भन्दै उनीहरुको प्राथमिकताका साथ तत्काल कोरोना परीक्षण गर्न पनि तीनै तहका सरकारसंग माग गरिएको छ ।

ट्रेड युनियन महासंघ तथा चिया क्षेत्रका श्रमिक संघ संगठनले साझा रुपमा त्यस्तो माग गरेका हुन् । आइतबार संवाद समूह झापाले संयोजन गरेको भिडियो कन्फ्रेन्समा चिया श्रमिकका नेताहरुले चिया श्रमिक भोकै बस्नु पर्ने अवस्था आएको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएका थिए । ‘चिया श्रमिक अहिलेको कठिन परिस्थितिमा रोगसंगै भोकसंग पनि कठोर संघर्ष गरिरहेका छन् ।श्रमिकको अवस्था अत्यन्त दयनीय बने पनि कही कतैबाट आवाज सुनुवाई भएको छैन’–श्रमिक नेताहरुको साझा आवाज छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नं. १ इञ्चार्ज भूपाल सापकोटा, ट्रेड युनियन महासंघ(जिफण्ट) प्रदेश नं. १ उपाध्यक्ष सन्तकुमार राई, अखिल नेपाल चिया मजदुर संघ केन्द्रीय अध्यक्ष सीता सापकोटा सन्ध्या, नेपाल चिया बगान श्रमिक संघ केन्द्रीय अध्यक्ष दीपक तामाङ, नेपाल ट्रेड युनियन कांग्रेस झापा अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ केन्द्रीय उपाध्यक्ष सहीकुमार राईले चिया श्रमिकका समस्या ततकाल समाधान नगरे अवस्था जटिल बन्ने बताए ।
चिया क्षेत्रका समस्या र समाधानका उपाय अन्तर्गत चिया श्रमिकका समस्यामा केन्द्रित भिडियो कन्फ्रेन्सबाट उनीहरुले श्रमिकका समस्याबारे साझा निष्कर्षसहित ७ बँदे प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

यस्ता छन् साझा निष्कर्ष/प्रतिवद्धताः
१) कोभिड १९ को जोखिम बढ्दो छ । तथापि चिया श्रमिकका लागि कार्य स्थलमा न्यूनतम स्वास्थ्य सामग्री मास्क, सेनिटाइजर, साबुन, ग्लोब्स लगायत प्रदान नगरेको पाइएकाले चिया बगान तथा चिया कारखाना ब्यवस्थापन पक्षलाई तत्काल आवश्यक सामग्री प्रदान गर्न आग्रह गर्दछौं । साथै व्यक्ति व्यक्ति वीचको न्यूनतम् दुरी कायम गरी काम गर्न र कोभिड १९को संक्रमणबाट बच्न आवश्यक सबै सतर्कता अपनाउन श्रमिक कर्मचारीमा अपिल गर्दछौं ।

२) लम्बिदो लकडाउनका कारण चिया श्रमिक र आश्रित परिवार भोक भोकै बस्नु पर्ने अवस्था आएकाले चिया बगान तथा चिया कारखानामा कार्यरत श्रमिक कर्मचारीलाई नियमित ज्याला भुक्तानीका लागि सम्वन्धित चिया बगान तथा चिया कारखाना ब्यवस्थापकहरुलाई आग्रह गर्दछौं । यस विषयमा स्थानीय सरकार तथा प्रशासनको समेत ध्यानकर्षण गराउदछौं ।
साथै,तत्कालको समस्या समाधानका लागि पूर्व सहमति बमोजिम श्रमिक कर्मचारीको ०७५ साउन १ देखि ०७६ वैशाख मसान्तसम्म १० महिनाको दैनिक १०७ रुपैयाका दरले पाउनु पर्ने बढ तलब लगायत बगान तथा चिया कारखाना व्यवस्थापन पक्षको दायित्वमा रहेको भुक्तानी गर्न बाँकी रकम तत्काल भुक्तानी गर्न आग्रह गर्दछौं । त्यस्तै स्थायी श्रमिकको हकमा सञ्चयकोष बापत श्रमिकको नाममा सञ्चयकोष कार्यालयमा जम्मा हुनु पर्ने रकम जम्मा नगरी बगान तथा चिया कारखाना व्यवस्थापन पक्षले नै राखेको हुँदा सञ्चयकोष कार्यालयमा सो रकम जम्मा गर्न आग्रह गर्दछौं । तत्कालका लागि उक्त रकमबाट मजदुरलाई भुक्तानी गर्न सकिने विकल्प तर्फ पनि ध्यानाकर्षण गराउदछौं ।

३) चिया क्षेत्रमा स्थायी, अस्थायी र मौसमी श्रमिक रहदै आएकोमा बगान तथा चिया कारखानाबाट टाढा बस्ने अस्थायी तथा मौसमी मजदुर परिवार कामबाट वञ्चित भई दुई छाक टार्ने समस्यामा परेकाले उनीहरुलाई सहज काममा आउने वातावरण मिलाउन साथै कति स्थानमा स्थायी श्रमिकलाई समेत पूरा काम नदिइ वञ्चित गरिएकाले सम्झौता बमोजिमको काम प्रदान गर्न सम्वन्धित व्यवस्थापन पक्षलाई आग्रह गर्दछौं । यस विषयमा सथानीय सरकार र प्रशासनको ध्यानाकर्षण गराउदछौं ।

४) भारतबाट नेपालीहरु स्वदेश फर्कने क्रम बढ्न थालेसंगै कोभिड १९ संक्रमणको जोखिम बढेकाले यसको नियन्त्रणका लागि आवश्यक सतर्कताका साथ तयारी गर्दै पीसीआर पद्धतिबाट कोरोना परीक्षणको दायरा बढाउन माग गर्दछौं । प्राथमिकताका साथ तत्काल चिया श्रमिकको कोरोना परीक्षणका लागि तीनै तहका सरकारसंग जोडदार माग गर्दछौं ।

५) कहीं काम नपाएर त कहीं ज्याला नपाएर चिया श्रमिक र आश्रित परिवार भोक भोकै बस्नु पर्ने अहिलेको अवस्थामा सरकारबाट समेत उपेक्षा गरिएकाले चिया श्रमिक परिवारलाई तत्काल राहतको व्यवस्था गर्न तीनै तहका सरकारसंग जोडदार माग गर्दछौं ।

६) समयमै श्रमिकका समस्या पहिचान गरी समाधानका लागि हामी ट्रेड युनियन प्रतिनिधि तथा सम्वद्ध चिया श्रमिक संघ संगठनका नेतृत्वकर्ताको तर्फबाट सरोकारवाला संग समन्वय गरी श्रमिक कार्यरत् स्थलको नियमित र प्रभावकारी अनुगमन गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं । चिया क्षेत्र जिल्ला अनुगमन समितिलाई अझ क्रियाशील र प्रभावकारी अनुगमनका लागि ध्यानाकर्षण गराउद छौं ।

७) कुनै पनि समस्याको समाधान आपसी छलफल, संवादबाट गर्न प्रतिवद्ध छौं ।

तपाईको प्रतिक्रिया