Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झगेन्द्र खड्का
गौरीगंज, ११ वैशाख । गौरीगंज गाउँपालिका भित्र बसोवास गर्ने गरिब तथा बिपन्न परिवारलाई भाइरसको संक्रमण भन्दा भोकले मरिने चिन्ता बढेको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन गरेपछि दैनिक जनमजदुर गरेर गुजारा चलाउने बिपन्न परिवार भोकमारीको चपेटामा परेका छन।

स्थानीय सरकारले पहिलो चरणमा राहत स्वरुप खाद्यान्न सामग्री बितरण गरेपनि पर्याप्त नभएको बिपन्न परिवारको गुनासो छ। दैनिक ज्यालादारी काम गरेर बिहान बेलुका छाक टार्ने मजदुरको रोजिरोटि खोसिएपछि उनीहरुको बिल्लिबाठ भएको छ।

पहिलो चरणको राहत बितरणमा गौरीगञ्ज गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषको बजेट र विभिन्न संघ संस्थाबाट आएको राहत सहयोग समेत सकिदा दोस्रो चरणको राहात बितरण गर्न गाउँपालिका अन्योलमा परेको छ। गाउँपालिकाले पहिलो चरणमा ३५ सय ३४ घर परिवारलाई १० केजी चामल, एक लिटर तेल, एक केजी नुन र एक केजी दाल वितरण गरेको थियो। दोस्रो चरणको राहात बितरण गर्न गाउँपालिकाले चालू खर्च तर्फको बजेट र पुँजिगत तर्फको विकास बजेटबाट भए पनि विपन्नलाई राहत बितरण गर्ने तयारी गरेको गाउँपालिकाले जनाएको छ  ।

भारतीय सीमासंग जोडिएको गौरीगञ्ज गाउँपालिकामा सन्थाल, मुसहर, गिरी, माझी,मन्डल, मुस्लिम तथा आदिवासीको बहुल्यता रहेको छ।गौरीगंज गाउँपालिका भित्र रहेका यी समुदायहरु अधिकांश सुकुम्बासी छन्।
सरकारले चैत ११ गतेदेखि निरन्तर लकडाउन गर्दा ज्यालादारीमा काम गरेर ४ देखि ७ जनाको परिवारको पेट भर्न समस्या भएको गौरीगंज गाउँपालिका वार्ड नं.४ बाह्रसुद्दी मुसहर वस्तीका शोभालाल ऋषिदेव बताउँछन्।सोही वार्डको सुनीराम टोलका फरक क्षमता भएका (दृष्टिविहिन) मानिकचन गिरीको पनि अवस्था उस्तै छ । स्थानीय सरकारले दिएको १० के.जि. चामल सकिएकाले अब के खाएर बाच्ने ? ६ जना परिवार रहेकाले गिरीको छोराले जनमजदुर गरेर ल्याएको पैसाले आफ्नो जिविका चलेको उनले बताए। विहान खायो बेलुका के खाने भन्ने चिन्ता हुने गरेको उनले बताए।

दाताबाट आएको र गाउँपालिकाले छुट्याएको रकम पहिलो चरणको राहत बाँड्दै सकिएकाले दोस्रो चरणको राहत वितरणमा समस्या भएको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए। पहिलो चरणमा बाडिएको राहत कार्यमा केही त्रुटि भएको भए पनि यसलाई सच्चाएर जाने बताउँदै अध्यक्ष श्रेष्ठले पहिलो चरणमा वडाबाट छुटेका १५ सय ६ घर परिवारलाई राहत वितरण गरेपछि दोस्रो चरणका लागि योजना बनाउने बताए। गाउँपालिकाले दोस्रो चरणको राहत बितरणमा बजेटलाई रकमान्तर गरेर भएपनि विपन्नलाई राहत दिने तयारी गरेको तर यसरी नै लकडाउन बढ्दै जाँदा केन्द्रबाट सहयोग नआएमा स्थानिय तहले थाम्न नसक्ने अध्यक्ष श्रेष्ठले बताए।

गाउँपालिकाले पहिलो चरणमा ३५ सय ३४ परिवारलाई राहत वितरण गरिसकेको छ। यो बाहेक वाडामा छुट भएका थप १५ सय परिवारलाई राहत दिने निर्णय गरेको छ।अब यी परिवारलाई दोस्रो चरणमा राहत कसरी दिने भन्नेमा गाउँपालिका अन्योलमा रहेको देखिन्छ ।पहिलो चरणमा विपन्न परिवार सहित क्वारेन्टाइन रहेका र सुरक्षाकर्मीमा समेत खर्च हुँदा विपन्न कोषको बजेट सकिएको गाउँपालिका उपाध्यक्ष दीपिन्द्र थापा बताउछन।

तपाईको प्रतिक्रिया