Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

खगेन्द्र नेउपाने 

आज एक्कासी पुरानु यादले झ्वाप्पै छोप्यो । समय धेरै बगिसकेछ अनुहारको धरातलमा थुप्रै परिवर्तनका रेखाहरु कोरिसकिए अब त उनलाई झट्ट भेटिहालिए पनि चिन्छु कि चिन्दिन ?

सम्भवतः चिन्दिन होला तर हृदयको अन्तरङ्गमा त्यो पुरानु उन्को अनुहार जस्ताको तस्तै ताजै छ । क्याल्कुलेटर पनि हम्मेसी नपाउँने त्यो जमानाबाट अत्याधुनिक स्मार्ट मोबाइल फोन प्रयोगको वर्तमानसम्म आइपुग्दा एउटा अमेट छाप बनेर बसेको उन्को याद आज पनि उतिकै आलो छ ।

त्यसैलाई जीवन्त बनाउँन म फेस्बुकका पनाहरुमा सबै सम्भावित अनुहार हरुलाई हरेक पल्ट नियाल्ने गर्छु यसैगरि । उनिसंग छुट्टिएको ३५ बर्ष भैसकेछ ।उनि छन या छैनन् यो संसारमा मलाई त्यो पनि थाहा छैन । उनको म संग केहि छैन चिनु फोटो पनि । उनको नाम मात्रै हो एकमात्र चिनु सरिता ।

हो सरिता र म संयोगले भेट भएका । हुनत हामी सहपाठी थियौं कलेजको प्रारम्भिक जीवनका । म फिजिकल समूह र उनि बायो समूह । हाम्रो कक्षा अलग अलग चलेपनि कलेज र ब्याच् चैं एउटै । अँ हाम्रो भेट एउटा संयोग थियो । चेनको संयोग । घटना यस्तो थियो ~ कलेज प्रारम्भको पहिलो हप्ता बितिसकेको थियो हाम्रो कलेज शहरभन्दा केहि माथि पाहाडको ढिस्कोमा उच्च समस्थली स्वरुपमा अवस्थित थियो प्रायः विद्यार्थीहरु शहरमै बसोबास गर्थे र हरेक दिन पाहाड चढेर कलेज पुग्दथे यो नियमितता थियो ।

पाहाड चढ्न सजिलो होस भनेर कंकृटको भर्याङ् पनि थियो । म त्यसदिन पनि सदा झैं कलेज पुग्न पाहाड चढ्दै थिएँ भर्याङ्को दुईचार खुट्किला माथि एउटा गोल्डेन चेन (सुनको सिक्री ) फेला पर्यो । मैले टिपें । त्यो स्थितिले मेरो मानस्पटलमा एउटा द्वन्दात्मक अवस्थाको सृजना भयो । सिक्री प्राप्तिले पलाएको लोभलाई परास्त गर्न अर्को विचार जन्मियो यो सिक्री त हाम्रै कलेजको कोहि साथीको हुनुपर्छ ।

उफ् ! उस्लाई सिक्री हराउँदाको कस्तो पीडा भैरहेको होला ! यिनै परस्पर विपरित अन्तरद्वन्दमा रुमलिंदै म कलेज पुगें त्यतिन्जेलसम्ममा म दोस्रो विचारबाट पराजित बनिसकेको थिएँ । तर मलाई थाहा थिएन सिक्री कसको हो ? मैले कलेजकै सूचना पाटीमा सिक्रीबारे सूचना निकालें त्यो उनको रहेछ , उनको नाम सरिता रहेछ ।

त्यस पछि नै हो उनको र मेरो चिनजान भएको । उपरोक्त घटना पछि उनको र मित्रता प्रगाढ हुँदै गयो । कलेजका अतिरिक्त चिया दोकान पार्क र सिनेमाहल हाम्रा भेटघाटका स्थलहरु भए हुँदा हँदै मेरो अन्तरङ्ग उनिप्रति प्रेमपूर्ण परिभाषामा परिणत हुनथालेको मैले विस्तारै महसुस गर्दै थिएँ तर उनमा के भावना थियो त्यो त मैले सूचना पाउन सकेको थिइनँ । यस्तैमा कलेजले एक महिना जतिको बर्षे विदाको सूचना निकाल्यो । बर्षे विदामा हामी सबै घरतिर लाग्यौं । उनि धरान घोपा क्याम्पमा बस्ने भएकाले र म झापाको भएकाले हाम्रो पनि छुट्टिनुपर्ने बाध्यता थियो ।

अन्तिम दिन हामी केहिक्षण अन्तरङ्ग साटासाट गरेर छुट्टियौं । त्यो एक महिना मलाई अत्यन्त लामो लाग्यो । कैले विदा सकिएला र उनको मेरो भेटहोला भन्ने तरङ्गमा अत्यन्त धेरै छट्पटिएँ नभन्दै विदाका दिनहरु सकिए । म पहिलो दिन नै हतारिएर कलेज पुगें तर उनि आएकी थिइनन् । मेरो मनमा आशंकाका बादलहरु घनिभूत मडारिए । दोस्रो दिन पनि उनि कलेज आइनन् ।

तेस्रो ,चौथो … अहँ उनि कलेज आइनन् । म करिब विच्छिप्त बन्दै गैरहेको थिएँ । कलेज लागेको पन्ध्र दिनसम्ममा पनि उनि आइनन् । म अर्धविच्छिप्त मूडमा हामी सदा गफगर्ने चिया पसलमा एक्ले टेवलमा बसिरहेको थिएँ । मलाई चिन्ने चिया पसलको केटोले एउटा सानु कागजको चिर्कटो ल्याएर मेरो हातमा थम्यायो । जस्मा लेखिएको थियो ।

पृय खगेन्द्र , हामी सपरिबार बेलायत जाँदैछौं । हाम्रो पूर्ण बसोबास अब बेलायतमै हुनेछ । अब हाम्रो भेट हुँदैन होला ! आफ्नू स्वस्थ्यको ख्याल राख्नु । उहि सरिता । चिर्कटो पढेर म करिब मूर्छित अवस्थामा पुगें । आज समयको पानी धेरै बगिसक्यो । संचारमा आमूल परिवर्तन भैसक्यो तर पनि उनको सूचना मैले पाउँन सकेको छैन, केवल पुरानु याद बोकेर बाँचिरहेको छु । गौरादह झापा

तपाईको प्रतिक्रिया