बुधबार, चैत्र १५, २०७९
Wednesday, March 29, 2023

शान्ति सुब्बा
गौरादह, २४ माघ । राष्ट्रिय हात्तीपाइले रोग निवारण सम्बन्धि आम औषधि सेवन अभियान २०७६ अन्तर्गत गौरादह नगरपालिका को ९ वटै वडाहरुमा भोलि(शनिबार)देखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाईने अभियान चलाइने भएको छ । स्वास्थ्यकमीहरुले तोकिएका केन्द्रहरुमा गई औषधी खुवाउने कार्यक्रम तय भएको छ ।

गौरादह नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा आज(शुक्रबार) गौरादह नगरपालिकाको वडा नं. १ को सभाहलमा आयोजित हात्तीपाइले रोग विरुद्ध आम औषधि वितरण कार्यक्रम सम्बन्धि पत्रकारहरु सँग गरिएको अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी गराईएको हो ।

अन्तरक्रिया कार्यक्रममा झापा जिल्लामा १२ प्रतिशत जनता हात्तीपाइले सङ्क्रमित रहेको गौरादह नगर स्वास्थ्य सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिए । सरकारले १३ जिल्लाका ७४ लाख ६१ हजार व्यक्तिलाई औषधी खुवाउने भएको हो । झापा जिल्ला भरि ९ लाख र गौरादह नगरपालिका भित्र ४९ हजार व्यक्तिहरुलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन लागेको श्रेष्ठले जानकारी दिए । नगर स्वास्थ्य शाखाले पत्रकार सम्मेलन गरी औषधी खुवाउन ६ लाख वजेट विनियोजन गरिएको जनाएको छ ।

अन्तरक्रिया कार्यक्रममा गौरादह नगर स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराई र सहसंयोजक गोविन्द श्रेष्ठले हात्तीपाइले रोग भनेको के हो, संक्रमण, लक्षण र यसबाट बच्ने उपायहरुको बारेमा जानकारी गराएका थिए ।

यस्तैगरि हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्दा खाली पेटमा खान नहुने, छारे रोगी, सुत्केरी, गर्भवती महिला, २ वर्ष मुनिका बालबालिका, ७० वर्ष माथिका व्यक्ति र दिर्घ रोगीलाई यो औषधि खुवाउन नहुने स्वास्थ्य सहसंयोजक श्रेष्ठले जानकारी गराएका थिए । यो औषधी सेवन गर्दा सामान्य खालको टाउको दुखाई वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन सक्ने भएतापनि यसले कुनै नकारात्मक असर नपार्ने भएकाले ढुक्कको साथ औषधी सेवन गर्न आग्रह गरे ।

हात्तीपाइलेको औषधि २ देखि ५ वर्ष उमेरका लागि एक चक्की, ६ देखि १४ वर्ष उमेरका लागि दुई चक्की, १५ वर्ष भन्दा माथिका लागि तीन चक्की र जुकाको औषधि सबैलाई १/१ चक्की वितरण गरिने कार्यक्रम रहेको जनाइएको छ ।

हात्तीपाइले रोग सरुवा रोग भएकोले रेशा जस्ता किटाणुहरु उचेरिया, व्यान्क्रोफिट परजीवीको सङ्क्रमण बाट लाग्ने गर्दछ । क्युलेक्स वा एनोफिलिसको पोथीे लामखुट्टेको टोकाइबाट फाइलेरिया नामक परजीवीबाट सर्ने यो रोग शरीरको कुनै एक भाग वा अंगमा लाग्ने र त्यो अङ्ग सुनिंदै जाने गर्दछ । नेपालमा सन् २००३ देखि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराउन सुरु गरिएको थियो भने सन् २०२० भित्र यो रोग निवारण गर्ने लक्ष्य राखिएतापनि सचेत व्यक्तिहरुले नै औषधि खान मन नगर्ने भएकोले यो रोगको जोखिम अझै कायम रहेको स्वास्थ्य सहसंयोजक गोविन्द श्रेष्ठले बताए ।

यो रोग लागेपछि पुरुषका अण्डकोष सुन्निने, महिलाको यौनाङ्ग वा स्तन सुनिने, खुट्टा हात्तीको जस्तै हुने, हात सुन्निने, पिसाबमा लिम्फ मिसिनाले रोगीहरुको पिसाब दुध जस्तै हुने, हातगोडामा नीला धर्साहरु देखिन्छन् र हिंडडुल गर्न नसकिने लगायतका समस्या आउनुका साथै हात्तीपाइले जस्ता रोगले मानिसलाई अपाङ्ग एवं शारिरिक रुपमा कमजोर गर्ने भएकाले सबैलाई औषधि सेवन गर्न आग्रह गरिएको छ । यो औषधि भोली माघ २५ देखि फागुन २ गते सम्म खुवाइने भएकोले आ-आफ्नो वडामा तोकिएको केन्द्रमा गई औषधि सेवन गर्न भनिएको छ ।

गौरादह नगरपालिका का प्रमुख तथा कार्यक्रमका अध्यक्ष रोहित कुमार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख गिता भेट्वाल, पत्रकार र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया