काठमाण्डौं, १७ जेठ । साविकका एमाले र माओवादी केन्द्रमा रहेका आन्तरिक गुटहरू विस्तारै आपसमा विलयको अभ्यासमा देखिन्छन् । तर, को कता टाँसिएर कसरी गुटहरूको निर्माण हुन्छ भन्ने प्रष्ट चित्र आइसकेको छैन ।
ओली-प्रचण्ड गुट
नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच एउटै गुट निर्माणको सम्भावना जीवित छ । दुवै अध्यक्षले पार्टी एकीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
सोही भूमिकाका कारण ओली र प्रचण्डबीचको गुट बन्ने सम्भावना बढी देखिन्छ । निश्चित छ, दुवै नेतासँग निकटस्थ दोस्रो वरियताका र युवा नेताहरू उक्त गुटमा सामेल हुनेछन् ।
ओली र प्रचण्डको गुट बन्यो भने वरिष्ठ नेता नेपाल र नेता नारायणकाजी श्रेष्ठबीच अर्को साँठगाँठ हुन सक्छ ।
नेपाल-प्रचण्ड गुट
वरिष्ठ नेता नेपाल र अध्यक्ष प्रचण्ड नजिकिने अर्को सम्भावना पनि छ । प्रचण्डको रोजाइका नेता पनि हुन्, नेपाल ।
खासगरी, माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन एमालेका तत्कालीन महासचिव नेपालले निर्वाह गरेको भूमिकाका कारण दुई नेता नजिक बनेका थिए । अध्यक्ष ओलीबाट जुनसुकै समयमा धोका पाइने मनोविज्ञान दुवै नेतामा देखिन्छ ।
पहिलो संविधानसभा निर्वाचनमा नेपालले काठमाडौं र रौतहटका दुई निर्वाचन क्षेत्रमा हार बेहोरे । तर, उनलाई सरकारबाट हुने मनोनयनको कोटामा संविधानसभा सदस्य बनाउन तत्कालीन प्रधानमन्त्री प्रचण्डले नै पहल गरेका थिए ।
– झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ कुन गुटमा सहभागी हुने भन्ने अन्योलमै ।
एमाले केन्द्रीय कार्यालयमा पत्र नै पठाएर प्रचण्डले त्यसका लागि वातावरण सहज बनाएका थिए । सोही हैसियतमा आफूपछि प्रधानमन्त्री बनेका नेपाललाई प्रचण्डले ’विषवृक्ष’को संज्ञा दिए । र, नेपालले आफू सबै अटाउने ’शीतल छहारी’ रहेको अभिव्यक्ति दिए ।
सोही कारण केही समय दुई नेताबीच सम्बन्ध चिसिएको थियो । खासगरी, पार्टी एकीकरणका क्रममा उनीहरू धेरै छलफलमा एकसाथ थिए । र, अहिले सौहाद्र्रपूर्ण सम्बन्धमा देखिन्छन् ।
भविष्यमा उक्त सम्बन्धले नेकपाभित्र बलियो गुट बनाउने सम्भावना कमजोर देखिँदैन ।
नेपाल-ओली गुट
अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल धेरै समय एकै गुटमा रहेका जोडी हुन् । एमालेको आठौं महाधिवेशनसम्म दुई नेता एउटै गुटमा थिए । बेला-बेलामा मनमुटावबाट पनि गुज्रिँदै आएका छन्, उनीहरू ।
एक समयमा झलनाथ खनाल र वामदेव गौतमबीच साँठगाँठ हुँदा नेपाल र ओलीको अर्को गुट थियो । त्यसबेला खनाल समूहले तत्कालीन माओवादीलाई नजिकको शक्ति ठान्थ्यो । नेपाल र ओली भने माओवादीप्रति अनुदार थिए ।
पार्टी एकीकरणअघि ओली र नेपालबीच गोप्य सहमति भएको धेरै नेताको अनुमान रहँदै आएको छ । ओलीले नेपाललाई भावी अध्यक्षको बचन दिएको चर्चा पार्टी्भित्र व्यापक छ ।
स्रोतका अनुसार एकीकृत महाधिवेशनमा आफू उम्मेदवार नबन्ने र नेपाललाई सहयोग गर्ने बचन ओलीले दिएका छन् । सोही कारण केही समय अघिसम्म ओलीसँग आक्रमक देखिएका नेपाल पछिल्ला दिनमा नरम र सकारात्मक बन्दै गएको पाइन्छ ।
नेकपाका एक केन्द्रीय सदस्य भन्छन्, ’बन्नलाई सजिलो गुट भनेकै नेपाल र ओलीको हो ।’
नारायणकाजी, झलनाथ, वामदेव ईश्वरको अन्योल
पार्टी एकीकरणपछि केही प्रभावशाली नेताको बजार ’डाउन’ भएको छ । माओवादी केन्द्रमा हुँदा दोस्रो वरियतामा रहेका नारायणकाजी एकीकृत पार्टीमा पाँचौंमा झरेका छन् ।
एमालेमा उपाध्यक्ष रहेका वामदेव गौतम र माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नौ सदस्यीय सचिवालयमा त परेका छन् । तर, भविष्यमा कसको फेर समात्ने भन्नेमा अन्योलमै देखिन्छन् ।
पूर्वप्रधानमन्त्री खनालको नवगठित पार्टी्भित्र गणनासमेत हुन छाडेको छ । एमालेमा रहँदा माधव नेपालभन्दा माथिल्लो वरियतामा थिए, उनी । एकीकरण हुँदा चौथो वरियतामा धकेलिएका छन् ।
एमालेमा ओली निकटस्थ रहेका तत्कालीन महासचिव ईश्वर पोखरेल अहिले उनीबाट टाढिएका छन् । पोखरेलको ठाउँ तत्कालीन उपमहासचिव विष्णु पौडेलले लिएका छन् ।