Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

काठमाडौं,  १४  असोज  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिकलाई सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता आफ्नो पाँचवर्षे कार्यकालमै मासिक पाँच हजार रुपियाँ पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपालमा पहिलोपटक विसं २०५१ मा स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारले मासिक एक सय रुपियाँबाट सुरु गरेको ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता २०७६ साउनदेखि तीन हजार रुपियाँ पु¥याइएको छ ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा मङ्गलबार शुभकामना सन्देश दिनुहुँदै उहाँले सरकारले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवमा आधारित सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्दै गरेको जनाउनुभएको छ । प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा ज्येष्ठ नागरिकबाट प्राप्त हुने प्रज्ञा, सीप र अनुभवलाई राष्ट्रको सामाजिक–आर्थिक रूपान्तरण एवं विकासका लागि परिचालन गर्नुपर्ने बताउनुभएको छ ।
व्यक्तिको सरदर आयुमा भएको वृद्धिसँगै हाम्रो समाजमा पनि ज्येष्ठ नागरिकको जनसङ्ख्या तीव्र गतिमा बढ्दै गएको र अहिले करिब ३० लाख पुगेको उल्लेख गर्दै सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ– आफ्नो ऊर्जाशील समय कुनै न कुनै रूपमा राष्ट्रका लागि समर्पित गर्ने ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने क्रममा वर्तमान सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्तालगायत विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
नेपालका प्रत्येक ज्येष्ठ नागरिकको जीविका र रहनसहन मानवोचितस्तरमा सुनिश्चित गर्न सरकारले कानुनमार्फत नै ठोस व्यवस्था गर्ने नीति लिएको र यसबीच वर्तमान सरकारले अघि सारेको हरेक अस्पतालमा जेरियार्टिक वार्ड अर्थात् ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने नीतिको कार्यान्वयन केही अस्पतालबाट सुरु भइसकेको प्रधानमन्त्रीको सन्देशमा जनाइएको छ ।

विसं २०७६ को प्रारम्भसँगै सरकारले ज्येष्ठ नागरिकलाई योगदान रकम सरकारले नै बेहोर्ने गरी निःशुल्क स्वास्थ्य बीमामा आबद्ध गर्ने नीति कार्यान्वयन गर्न थालिसकेको छ । यतिखेर झन्डै अढाइ लाख ज्येष्ठ नागरिक वार्षिक रूपमा एक लाख रुपियाँबराबरको तोकिएका सेवासुविधा विभिन्न स्वास्थ्य संस्थाबाट प्राप्त गरिरहनुभएको उल्लेख गर्दै प्रधानमन्त्रीको सन्देशमा चालू आर्थिक वर्षभित्र ७७ वटै जिल्लाका ज्येष्ठ नागरिकलाई यस योजनामा आबद्ध गरिने जनाइएको छ ।गोरखापत्र

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments