जनकपुरधाम, ३ असोज । मैथिल र थारू समुदायका महिलाको महान् लोकपर्व जितियाको अवसरमा व्रतार्थीले आज नहाय खाय र तेलखरी विधि गरिरहेका छन्।
सो विधि अन्तर्गत व्रतार्थीहरू जलाशय स्नानादी गरी घिरौलाको पातमा तोरी वा सस्र्यूको तेल र पिना (खरी) चढाएर जिमूतवाहन देवताको पूजा गर्दछन्, जसलाई तेलखरी भनिन्छ। यो तेलखरी प्रसाद स्वरूप घरका सबैले टाउकामा लगाउने गर्दछन्।
आजकै दिन सधवाले कोदो (मरूवा) रोटी र माछा खाने गर्दछन् , जसलाई माछमरूवा भनिन्छ। शाहाकारी हुनेले गम्हरी (कोसा भित्रै फल्ने धान) को खीर वा भात पनि खने चलन छ।
नहाय खाय र तेलखरि विधिमा घिरौलाको पातमा नैवेद्य चढाइने गरिन्छ। नैवेद्यमा गहुँको पिठो र गुड (सक्कर) मिसाएर पकाइएको पकवान, चामल, दाल, दही, च्यूरा, खीर, रोटी, दूध, चीनीजस्ता वस्तुहरू कुलवंश, रीति र परम्परा अनुसार चढाइने गरिन्छ। नैवेद्यमा पान, सुपारी, काँक्रो, केराउ र अक्षता (चामल) पनि चढाइने गरिन्छ। यसमा चिल र स्यालका भागहरू राखिन्छन्। यसका साथै दिवङ्गता महिला पितृ वर्गका लागि नैवेद्यका भागहरू राखिने चलन छ।
सोही तिथिको रातिको अन्तिम पहरमा व्रतार्थी दही, च्यूरा, फल, मिष्ठान आदि खाने गर्दछन्, जसलाई ‘ओठङ्न’ भनिन्छ। यसरी खाइसकेपछि व्रतार्थी जलपात्रमा जल लिई घरको ढोकाको दैलोको छेउमा भित्तामा अडेस लगाएर पानी पिउने गर्दछन्। जितिया व्रत अष्टमी तिथिको व्रत भएकाले अष्टमी तिथि रहुञ्जेलसम्म निराहार बसिन्छ।
नवमी तिथिमा स्नानादी गरी पवित्र भई पूर्ववत् जिमूतवाहनलाई नैवेद्य अपर्ण गरी प्रसाद ग्रहण गरिन्छ। यसरी व्रतको पारण गरिन्छ। यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टासम्म निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रुपमा पनि लिइन्छ।
पण्डित गणेश झाका अनुसार असोज ३ गते शुकबार तेलखरी, पितराइन र रातिको अन्तिम पहरमा ९४ बजेदखि ५ बजेर ३० मिनेटभित्र० ओठङ्न विधि र सूर्योदय भएपछि अष्टमी तिथिमा (शनिबार) व्रत शुरू भई आइतबार दिउँसो ३ देखि ४ बजेपछि पारण गरिने योग रहेको छ।
मिथिला पचाङ्ग अनुसार जितियामा प्रदोष व्यापनी अष्टमीको प्रधानता रहेका कारण यो व्रत यसपटक षष्ठी उपरान्त सप्तमीका दिन ९शुक्रबार० रातिको अन्तिम पहरमा गरिने विधि ओठङ्न रहेको छ। पहाडी समुदायका महिलाले दर खाने झैँ मैथिल महिलाले ओठङ्न विधि गर्दछन्।
जितिया पर्व मैथिल संस्कृततिको पर्वमध्येको एउटा मुख्य पर्व हो। यसलाई जिमूतवाहन व्रत पनि भनिन्छ। सन्तानको सुख, शान्ति र चिरायुका लागि यो पर्व मनाउने चलन छ। जितिया पर्व यसकारणले पनि प्रसिद्ध छ कि यसको नियमपूर्वक पूजा गर्नाले आफ्नो सन्तानको आयु वृद्धि हुने जनविश्वास रहेको छ। रासस






