Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

दमक(झापा)- भारतको आसाम निकाशी घर भएका १४ वर्षिय उमेश चापागाँई साँझ बिहान बेदका ऋचा घोकिरन्छन्। उनी ३ वर्ष अघि झापाको अर्जुनधारा–१ स्थित शंकराचार्य पीठ बेद बेदाङ्गसंस्कृत पाठशाला, साधुटारमा आएका हुन् । आसाममा हिन्दी र आसामी भाषासँगै केहि अंग्रेजी पढे पनि उनले संस्कृत भाषा पढेकै थिएनन्। तर आसाममा हिन्दू कर्मकाण्ड गर्ने र पुराण भन्ने ब्राहम्मण नभएकाले आफ्नो र परिवारको रुचीमा संस्कृत पढ्न आएको उनले बताए। ‘हाम्रो तिर यस्तो पढ्ने ठाउँ पाईँदैन’ उनले भने–‘मेरो र परिवारको पनि रुची भएकाले गुरुकुलमा संस्कृत पढ्न आएको हुँ।’ संस्कृत पढ्न थालेको ३ वर्षमानै उनी सामान्य हिन्दू संस्कारका कर्मकाण्ड गर्न सक्ने भएका छन्। ‘बेला बेला बेद,रुद्री पाठ गर्न जाने गरेका छौं । यसबाट हुने आम्दानीले आफ्नौ व्यक्तिगत खर्च जुटाउन सजिलो हुन्छ’ अध्ययन थालेको ३ वर्षमानै आम्दानी गर्न शुरु गरेका उनले खुसी सुनाए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

आसामकै तिनसुकीयाका आदित्य निरौलाले आसामानै ८ कक्षा सम्म अध्ययन गरे । भाषा हिन्दी, अंग्रेजी र आसामी मात्रै थियो । नेपाली समेत पढ्न नपाएका उनी परिवार र आफन्तको साथ लागेर ८ महिना अघि यहाँ आएका हुन् । चण्डी सकेर रुद्री अध्ययन गर्दै आएका उनले भने–‘चण्डी पाठ गर्न बेला बेला गईन्छ, दान दक्षिणा पनि पाईन्छ।’ आसाममा गुरुकुल नभएकाले नेपाल आएको र पण्डित भएर गाउँमै पुराण सुनाउने उनको लक्ष्य छ।

भुटानको चिराङ्मा ८ कक्षा सम्म जोङ्खा र अंग्रेजी पढेका १८ वर्षि डिल्लिराम मिश्र पनि २ साता अघि मात्र साधुटारका गुरुकुल आई पुगेका हुन्। ‘नेपाली भाषीहरुले भुटानमा हिन्दू संस्कारका कार्जे गर्दा पण्डित–पुरोहित पाउनै गाह्रो छ’ उनले भने–‘गुरुकुलमा पढियो भने छिट्टै पण्डित होईन्छ र आम्दानी पनि गर्न सकिन्छ भनेर दिदी भिनाजुसँग यहाँ आएको हुँ।’
२०३३ सालबाट शुरु यस गुरुकुल पाठशालामा हाल पीठमा १ सय ३५ जना बटुकहरु अध्ययनरत छन् । प्राचार्य छन्दुराम भण्डारीका अनुसार उनीहरुले आवशीय सुविधा सहित गुरुकुलमा संस्कृत वाङ्मयको अध्ययन गरि रहेका छन् । ‘नेपालका बिभिन्न जिल्लाका साथै भारत र भुटानबाट पनि बटुकहरु अध्ययनका लागि आउने गरेका छन्’ उनले भने–‘यसले बैदीक हिन्दू संस्कार र संस्कृत भाषा तथा वाङ्मयको संरक्षणमा पनि ठुलो सहयोग पुगेको छ।’

बढ्दो संस्कृत मोह

आधुनिक र अंग्रेजी शिक्षाको प्रभाव बढिरहे पनि संस्कृत भाषा प्रतिको मोहले भने अझै धेरैलाई तान्ने गरेको छ। कैलालीको धनगढी फूलबारीका भुवन पोखरेलले ११ कक्षा सम्म धनगढीमानै अध्ययन गरे । तर त्यसलाई मायाँ मारेर संस्कृत शिक्षा लिन उनी झापा आई पुगेका छन्।२ वर्ष देखि गुरुकुलीय शिक्षा लिँदै आएका उनले भने–‘डिग्री सक्नेहरु पनि यहाँ बेरोजगार छन्, तर गुरुकुलमा पढ्दा बेलै देखि आम्दानी पनि हुन्छ, संस्कार जोगिन्छ अनि भविश्य पनि सुरक्षित हुन्छ । त्यसले गर्दा ११ कक्षा छोडेर गुरुकुलमा आएको हुँ।’

पाँचथरको अमरपुरमा २ कक्षा सम्म अंग्रेजी वोर्डीङ् पढेका १२ वर्षका सन्देश सुवेदी ३ वर्ष देखि गुरुकुलमा रहेर संस्कृतका बिभिन्न ग्रन्थको अध्ययन गरि रहेका छन्। ‘सानै देखि पुराण भनेको मलाई मन पथ्र्यो’ ९ वर्षको उमेर घर छोडेर हिँड्न लाग्दा ९० वर्षिया हजुरआमाले बालखै छ भनेर पीर मान्दै रोएको सुनाएका उनले भने–‘मैले हजुरआमा रोए पछि नरुनु आमा म पुराण भनेर तपाईले सनाउँला भन्दै आएको हुँ।’

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

पूर्वाधारको अभाव
जिल्लाकै पुरानो गुरुकुल पाठशाला भए पनि यहाँ भौतीक पूर्वाधारको भने अभाव रहेको छ । बटुकहरु खरले छाएको पुरानो टहरामा समेत बसेर अध्ययन गर्ने गरेका छन् । गुरुकुलका जग्गा व्यवस्थापन समितिका संयोजक योग्यनिधी चौलागाईले भने–‘ आकर्षण यति धेरै छ कि, बटुकहरुलाई आनन्दसँग पढेर अध्ययन गर्ने भवनहरुको पनि अभाव छ । त्यसैले महायज्ञ लगाएर गुरुकुलको जग्गा ५ बिगाहा पु¥याउने लक्ष्य राखेका छौं।’ यस्तै सोहि समिति सदस्य एवम् दमकका व्यवसायी लक्ष्मण श्रेष्ठको अगुवाईमा दमकका बिभिन्न व्यवसायीहरुको सहयोगमा तीन तले भवनको निर्माण पनि भई रहेको छ। गुरुकुलका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाका अनुसार सो भवनमा हाल सम्म करिव ४८ लाख रुपैयाँ खर्च भएको र थप २५ लाख रुपैयाँको आवश्यकता रहेको छ।

साधुटार र पौराणिक महत्व
यो स्थान तत्कालिन खुदुनावारी गाविसको वडा नंं १ मा पर्छ । यसलाई जगतगुरु शंकराचार्य माधवाश्रमजीले नेपालकै पहिलो शंकराचार्य पीठको रुपमा घोषणा गरेको ४२ वर्ष पुगेको संस्थापक केदानाथ खतिवडाले बताए। २०२७ साल देखि यहाँ बसोबास गर्दै आएका गुरुकुलका संस्थापक खतिवडाका अनुसार पौराणिक कालको तपोभूमी रहेकै कारण यो स्थानलाई वर्षौ अघि देखि साधुटार भन्ने गरिएको उनले जनाएका छन्।

चुरे क्षेत्रसँग जोडिएको यो स्थान धार्मीक र सांस्कृतिक रुपमा मात्र नभई प्राकृतिक रुपमा समेत सुन्दर रहेको छ । यस्तै साधुटारको रुपमा चिनिएको यो स्थान भने पौराणिक महत्वसँग जोडिएको स्थान हो । व्यासाचार्य खतिवडाका अनुसार यो स्थान पाण्डवहरुले वनबास जानु अघि धनुष वाण बिसाएको स्थान हो । सोहि स्थानमा अझै पनि समिको रुख रहको उनले बताएका छन्। यो स्थानका बारेमा महाभारत ग्रन्थको वन र बिराट पर्वमा समेत वर्णन गरिएकाले यो धार्मीक र पौराणिक स्थान रहेको उनको भनाई छ । उनले भने–‘गरुड पुराणमा उल्ल्ेख भए अनुसार यो स्थानमा २६ हजार ऋषीहरुले तपस्या पनि गरेका थिए । त्यसैले यो साक्षात धर्मस्थल पनि हो।’

तपाईको प्रतिक्रिया