Online Bichar
बिहिबार, आश्विन २९, २०८३ | Thursday, October 15, 2026

विराटनगर, २८ असोज २०८३ । पर्यटक भिसा ९टुरिस्ट भिसा० को दुरुपयोग गर्दै मोरङमा क्रिश्चियन धर्म प्रचार तथा पास्टर उत्पादनसम्बन्धी तालिम सञ्चालन गरिरहेको अवस्थामा पक्राउ परेका २४ जना दक्षिण कोरियाली नागरिकलाई नेपाल सरकारले देश निकाला ९डिपोर्ट० गरेको छ ।

अध्यागमन विभागले उनीहरूको भिसा रद्द गरी जनही ५० हजार रुपैयाँका दरले जरिवाना तिराउनुका साथै नेपालबाट प्रस्थान गरेको मितिले ती नागरिकहरूलाई तीन वर्षे प्रतिबन्ध लगाइएको हो ।

अध्यागमन विभागका अनुसार नेपाल बसाइ शंकास्पद देखिएको, आचरण संदिग्ध रहेको र आफूले प्राप्त गरेको पर्यटक भिसाको उद्देश्यविपरीत गैरकानुनी धार्मिक गतिविधिमा संलग्न भएको ठहर गर्दै उनीहरूमाथि निष्कासन र पुनः प्रवेशमा रोक लगाउने कडा कारबाही गरिएको हो ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मालाती मार्गस्थित ‘सुन्दर डाँडा’ मा सञ्चालित ‘नेपाल न्यू कोभेनेन्ट कलेज’मा गैरकानुनी रूपमा धार्मिक तालिम, प्रशिक्षण र दीक्षान्त समारोह सञ्चालन भइरहेको सूचना पाएपछि स्थानीय प्रशासन र प्रहरीले उनीहरूमाथि निगरानी बढाएर नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रशासन कार्यालय मोरङले ‘विदेशी नागरिक अनुगमन निर्देशिका, २०७५’ को दफा ४.६ को उपदफा (२० र ९३) बमोजिम कारबाहीका लागि असोज २३ गते २४ जना कोरियनलाई काठमाडौँस्थित अध्यागमन विभागमा उपस्थित गराएको थियो । विभागले आवश्यक अनुसन्धान गर्दा उनीहरूको भिसाको अवधि बाँकी नै रहे पनि पर्यटक भिसामा गर्न नपाइने धार्मिक शिक्षा र प्रचारमा संलग्न रहेको पुष्टि भएपछि सबैको भिसा तुरुन्त रद्द गरेको हो ।

अध्यागमन कानुनअनुसार जनही ५० हजार रुपैयाँ जरिवाना असुल गरी तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी कालोसूचीमा राखेर उनीहरूलाई स्वदेश फिर्ता पठाइएको विभागले जनाएको छ । डिपोर्ट र तीन वर्षे यात्रा प्रतिबन्धमा पर्नेहरूमा कोरियास्थित ‘लभ नेपाल मिसन’का प्रमुख डा। पार्क गुइ ह्वानसहित २४ जना रहेका छन् ।

उक्त समूह असोज २० र २१ गते काठमाडौँबाट बुद्ध र यती एयरमार्फत दुई समूहमा ९पहिलो दिन १६ जना र दोस्रो दिन ८ जना० विराटनगर विमानस्थल ओर्लिएको थियो । त्यहाँबाट उनीहरू सिधै सुन्दरहरैँचा–७ स्थित नेपाल न्यू कोभेनेन्ट कलेज पुगेका थिए ।

तीमध्ये ६ जना सुन्दरहरैँचा–९ स्थित ‘नेपालरिका होटल’ र बाँकी १८ जना कलेजकै छात्रावासमा बसेर अक्टोबर १२ सम्म विभिन्न चरणका धार्मिक गोष्ठी, दीक्षान्त र तालिम सञ्चालन गर्ने कार्यतालिका बनाएका थिए । तर स्थानीय बासिन्दा र सुरक्षा निकायको सक्रियताका कारण उनीहरूको योजना सफल हुन सकेन ।

सुन्दरहरैँचा–७ मा करिब १ बिघा १ कठ्ठा जग्गामा दुईतले पक्की भवन तथा २२ कोठाको आधुनिक संरचनासहित ‘नेपाल न्यू कोभेनेन्ट कलेज’ सञ्चालनमा रहेको छ । प्रारम्भिक रूपमा सरकारी शैक्षिक निकायको कुनै अनुमति नलिई सञ्चालन गरिएको यो संस्थालाई कारबाहीबाट छल्न बेलबारी मालपोत कार्यालयमा ‘रत्न बाप्टिस फाउन्डेसन’ नामक सामाजिक तथा धार्मिक गुठीका रूपमा दर्ता गरिएको पाइएको छ ।

गुठीअन्तर्गत ‘बाइबेल एकेडेमी’ को आवरणमा यहाँ ‘सर्टिफिकेट अफ थियोलोजी’, ‘ब्याचलर्स अफ थियोलोजी’, ‘मास्टर्स अफ थियोलोजी’ हुँदै विद्यावारिसिम्मका धार्मिक पाठ्यक्रमहरू पढाउने गरिएको थियो । हाल ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको यस कलेजमा देशका विकट हिमाली, पहाडी तथा तराई क्षेत्रका गरिब तथा विपन्न परिवारका करिब ४५ जना विद्यार्थीलाई छात्रावासमै राखेर न्यून शुल्कमा धार्मिक शिक्षा दिने गरिएको थियो ।

उक्त संस्था दक्षिण कोरियास्थित ‘लभ नेपाल मिसन’को आर्थिक अनुदानमा सञ्चालन भइरहेको छ भने यसको व्यवस्थापनमा सुनसरी धरानका महेन्द्र गंग सचाइ राई र दुहबी–५ का डा। शरद केसीलगायत व्यक्तिहरू संलग्न रहेको खुलेको छ ।

सुरक्षा निकायको प्रारम्भिक अनुसन्धानले मोरङको उत्तरी क्षेत्र (सुन्दरहरैँचा, लेटाङ, मिक्लाजुङ आदि) मा कोरियाली नागरिकहरूको प्रत्यक्ष लगानी र योजनामा स्थानीय चर्च, संस्था र कलेजहरू खोल्दै ‘पास्टर’ उत्पादन गर्ने संगठित सञ्जाल सक्रिय रहेको देखाएको छ ।

यसअघि २०८० चैत २० गते पनि ३९ जना कोरियाली नागरिक पर्यटक भिसामा आएर सोही कलेजको दीक्षान्त समारोहमा सहभागी भएका थिए । त्यतिबेला दुई जना कोरियनलाई पठनपाठनका लागि उतै छाडेर बाँकी फर्किएका थिए ।

नेपालको अध्यागमन कानुन र संविधानले विदेशी नागरिकलाई पर्यटक भिसामा आएर कुनै पनि प्रकारको धर्म प्रचार, धार्मिक तालिम वा पेसागत अध्यापन गर्न पूर्ण बन्देज लगाएको छ ।

 

तपाईको प्रतिक्रिया