Online Bichar
बुधबार, आश्विन ०७, २०८३ | Wednesday, September 23, 2026

काठमाडौँ, ७ असोज २०८३ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम र पदको दुरुपयोग गरेर ठगी गरेको आरोपमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भरत चौलागाईं सीआईबीको हिरासतमा छन् ।

केयर गिभरको रोजगारीका लागि इजरायलमा पठाउँछौँ भनी ठगेको आरोपमा उनीसँगै दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षीया बालिका सिवाकोटी पनि पक्राउ परेकी छन् ।

रामेछापको सुनापति गाउँपालिका–१ घर भएका कांग्रेस नेता चौलागाईं आसोज १ मा रामेछापको मन्थलीबाट पक्राउ परेका हुन् । वैदेशिक रोजगारीका लागि नेपालबाट इजरायलमा कामदार पठाउन सरकारले सन् २०२४ मा परीक्षा लिएको थियो । लक्की ड्रमार्फत २ हजार ९९ जना छानिएका थिए । त्यतिबेला लक्की ड्रमा नपरेका १५६ जनालाई ‘हामी पठाइदिन सक्छौँ’ भनेर चौलागाईं र बालिका सिवाकोटीले रकम असुल गरेका हुन् । सिवाकोटी पत्रकार हुन् ।

उनीहरूले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनमार्फत मन्त्रिपरिषद्बाट निर्णय गराएर पठाउँछौँ भनेर पीडिहरूलाई विश्वासमा पारेका थिए । त्यसपछि पीडितहरू इजरायलमा जाँदा कमाइ हुने एक महिनाको तलब बराबरको रकम दिन राजी भएका थिए ।

रकम उठाएर पीडितहरूले बालिका सिवाकोटीलाई बुझाएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट २ करोड ५० लाख रकम असुल गरेको भेटिएको छ । शिवाकोटीले आफूले उठाएको रकम मध्ये डेढ करोड रुपैयाँ नगद भरत चौलागाईंलाई दिएको बयानमा खुलाएकी छन् । प्रहरीसँगको बयानमा उनले भनेकी छन्, ‘डेढ करोड रुपैयाँ भरत चौलागाईंलाई गौशालामा भेटेर बुझाएको हुँ ।’

भदौ १८ मा रकम बुझेर चौलागाईं कांग्रेसको १५औँ महाधिवेशनको तयारीका लागि रामेछाप पुगे । चौलागाईं रामेछापको जिल्ला सभापतिका दाबेदार हुन् । रकम बुझाएपछि काम हुन्छ भनिए पनि ढिलो भएसँगै पीडितहरू आक्रोशित भए । मन्त्रिपरिषद्बाट पनि त्यसबारे निर्णय नभएको बुझेपछि पीडितहरूले सिवाकोटीलाई नियन्त्रणमा लिएर काठमाडौँ नजिकैको एउटा रिसोर्टमा लगेर राखेको अनुसन्धानमा संलग्न सीआईबीका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

त्यसपछि सिवाकोटीले चौलागाईंलाई सम्पर्क गरेर काम छिटो टुंग्यादिन आग्रह गरिन् । चौलागाईंले उनलाई फोनमा जवाफ दिए, ‘मैले कुमार बेनसँग कुरा गरेको छु, काम चाँडै हुन्छ ।’ सो अडियो पीडितहरूले सीआईबीमा बुझाएका छन् ।

आरोपीहरूले कुमार बेनलाई ‘मिलाएका छौं’ भनेर आश्वास्थ पारेपछि १५६ जना पीडितले रकम दिन सहमति गरेका थिए । तर आरोपी चौलागाईंले रकम लिएको कुरा अस्वीकार गरेका छन् । आफू जग्गाको काम गर्ने हुनाले ऋणबापत सिवाकोटीसँग केही रकम लिएको अनुसन्धान अधिकृतहरूसँग चौलागाईंले बताएका छन् ।

चौलागाई र सिवाकोटीलाई दोस्रो पटक काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको सीआईबीका सूचना अधिकारी (एसएसपी) अनुपम शमशेर जबराले बताए । उनले भने, ‘बयानलगायत काम हुँदै छ, अनुसन्धान टुंगिएको अवस्था छैन ।’रातोपाटीबाट

तपाईको प्रतिक्रिया