काठमाडौं, ७ असोज २०८३ । आगामी दशैं, तिहार, छठ लगायतका चाडपर्वका लागि सरकारले अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने भएको छ । यातायात व्यवस्था विभागले सरोकारवालालाई पठाएको १५ बुँदे निर्णयमा सो कुरा उल्लेख छ । तर अग्रिम टिकट बुकिङ कहिलेबाट खोल्ने भन्ने अझै विभागले स्पस्ट पारेको छैन ।
विभागका अनुसार सार्वजनिक यातायात व्यवसायीले टिकट बिक्रीमा यथासम्भव अनलाइन बुकिङको व्यवस्था मिलाउनुपर्ने र यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्रै सवारी सञ्चालन गर्नुपर्नेछ ।
विभागले यातायात व्यवसायी, कम्पनी तथा संस्थाले टिकट जारी गर्ने कर्मचारीका लागि अनिवार्य परिचयपत्रको व्यवस्था गर्नुपर्ने जनाएको छ । अनधिकृत काउन्टर, परिचयपत्र वा पोशाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतस् नियन्त्रण गर्न पनि निर्देशन दिइएको छ ।
त्यस्तै, उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारीसाधनको प्रभावकारी अनुगमन गर्न यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल रेल्वे कम्पनी लगायत सम्बन्धित संस्थासँग समन्वय गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुले अनिवार्य रूपमा टिकट लिएर मात्र यात्रा गर्नुपर्ने विभागले जनाएको छ । मादक पदार्थ सेवन गरी यात्रा नगर्न, आधिकारिक काउन्टर तथा परिचयपत्र भएका कर्मचारी वा व्यक्तिबाट मात्र टिकट लिन पनि यात्रुलाई आग्रह गरिएको छ।
सवारी चालक तथा कर्मचारीले नेपाल सरकारले तोकेको मापदण्डअनुसार तोकिएको स्थानमा यात्रुलाई खाना–खाजा खुवाउने व्यवस्था मिलाउनुपर्ने र त्यस क्रममा भीडभाड नहुने व्यवस्था गर्नुपर्नेछ ।
सडक मर्मत र ट्राफिक व्यवस्थापनमा जोड
चाडपर्वका बेला यात्रुवाहक सवारीसाधनको आवागमन हुने मुख्य सडक तथा राजमार्गको निरन्तर निरीक्षण गरी आवश्यक मर्मत–सम्भार गर्न विभागले सम्बन्धित निकायलाई भनेको छ ।
पहिरो नियन्त्रण तथा सडक जाम नहुने व्यवस्था मिलाउन तथा सडकको अवस्थाबारे आमउपभोक्ताले जानकारी पाउने गरी निरन्तर सूचना प्रवाह गर्न सडक विभागसँग अनुरोध गरिएको छ ।
त्यस अवधिमा आवश्यक पर्ने अतिरिक्त सवारीसाधनको व्यवस्था यातायात व्यवसायीले गर्नुपर्नेछ ।
विभागले यात्रुवाहक सवारीको रुट परमिट खुला गर्ने, अग्रिम टिकट बुकिङ तथा ठूला सवारीसाधनको आवतजावतका सम्बन्धमा सरोकारवालासँग थप छलफल तथा परामर्श गर्ने र यातायात सञ्चालनको मिति तथा समयावधि तोकी सूचना जारी गर्ने व्यवस्था मिलाउन भनेको छ ।
चालकको स्वास्थ्य परीक्षण अनिवार्य
उपत्यकामा भित्रिने र बाहिरिने प्रमुख स्थानसहित देशभर मादक पदार्थ सेवन (मापसे) तथा लागुपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने चालकको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिइएको छ । कुनै चालकले मापसे वा लापसे गरेको पाइएमा सम्बन्धित व्यवसायीले अर्को चालकको व्यवस्था गर्नुपर्नेछ ।
त्यस्तै, लामो दूरीका यात्रुवाहक सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्नुअघि सवारीको यान्त्रिक अवस्था लगायतका विषयमा अनिवार्य चेकजाँच गर्नुपर्नेछ ।
लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य रूपमा राख्नुपर्ने र आलोपालो गरी सवारी चलाउने व्यवस्था मिलाउन पनि विभागले निर्देशन दिएको छ । यस्तो व्यवस्था भएरनभएको सम्बन्धित निकायबाट अनुगमन गरिनेछ ।
विभागले १८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई चालक तथा अन्य काममा नलगाउन पनि स्पष्ट निर्देशन दिएको छ ।
चाडपर्व नजिकिँदै जाँदा यात्रुवाहक सवारीको चाप अत्यधिक बढेर सडक दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने भएकाले त्यसलाई मध्यनजर गरी प्रभावकारी अनुगमन तथा निगरानीको व्यवस्था मिलाउन विभागले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।






