झापा, ४ असोज २०८३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापाको कचनकवल गाउँपालिकामा वडा अधिवेशनलाई लिएर संस्थापन र इतर समूहबीच विवाद देखिएको छ। इतर समूहले असोज १५ गते छुट्टै वडा अधिवेशन गर्ने तयारी गरिरहेका बेला संस्थापन पक्षले कचनकवलका विभिन्न वडामा अधिवेशन गराएको हो।
कचनकवल गाउँपालिकाका वडा नं. ४ र ५ मा भने संस्थापन पक्षले तय गरेको वडा अधिवेशन इतर समूहले बहिष्कार गरेको छ। वडा नं. ७ मा समेत बहिष्कारको प्रयास भए पनि संस्थापन पक्षले अधिवेशन सम्पन्न गराएको जनाएको छ।
कचनकवलमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट नेताहरूको प्रभाव रहेको मानिन्छ। कोशी प्रदेशका पूर्वराज्यमन्त्री तथा पूर्वसांसद भूमि राजवंशी र कचनकवल गाउँपालिकाका अध्यक्ष एवं नेपाली कांग्रेस झापाका सहसचिव कालेन्द्रप्रसाद सिंह राजवंशी सिटौला समूहसँग नजिक मानिन्छन्।
गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले वडा नं. ४ र ५ मा आफूहरूले अधिवेशन बहिष्कार गरेको बताए। उनका अनुसार सदस्यता अद्यावधिक गरेका आफ्ना पक्षका धेरै कार्यकर्ताको क्रियाशील सदस्यता कटौती गरिएको छ।
कचनकवलमा शनिबार वडा नं. २ र ६ मा अधिवेशन भएको थियो भने आइतबार वडा नं. १, ३ र ७ मा अधिवेशन सम्पन्न भएको गाउँ सभापति तुलाराम अधिकारीले जानकारी दिए। इतर समूहको बहिष्कारका बाबजुद वडा नं. १, ३ र ७ मा अधिवेशन सम्पन्न गरिएको उनको भनाइ छ।
निर्धारित मिति असोज ३ र ४ गते अधिवेशन हुन नसकेका वडा नं. ४ र ५ मा पनि केही दिनभित्रै अधिवेशन गरिने गाउँ सभापति अधिकारीले बताए। उनले सचिव रमचम राजवंशी र सहसचिव रुद्र उप्रेतीबाहेक गाउँ समितिका अधिकांश पदाधिकारी तथा सदस्य आफूहरूको पक्षमा रहेको दाबी गरे।
यता, पूर्वराज्यमन्त्री भूमि राजवंशीले भने कचनकवलका करिब ७० प्रतिशत कांग्रेस कार्यकर्ता आफूहरूको पक्षमा रहेको दाबी गरेका छन्। उनले संस्थापन पक्षले कचनकवलका पाँचवटा वडामा आवश्यक कोरम नपु¥याई अधिवेशन गराएको आरोपसमेत लगाए।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापामा संस्थापन र इतर समूहबीच वडा अधिवेशनलाई लिएर विवाद बढ्दै गएको देखिएको छ। इतर समूहले असोज १५ गते छुट्टै वडा अधिवेशन गर्ने तयारी गरेको छ। उक्त समूहले झापाको जिल्ला अधिवेशन सम्पन्न गर्न जिल्ला सचिव कृष्ण हुमागाईंको संयोजकत्वमा १५१ सदस्यीय जिल्ला अधिवेशन तयारी समिति गठन गरेको जनाएको छ।
यससँगै कचनकवलमा सम्पन्न वडा अधिवेशनको वैधानिकता, क्रियाशील सदस्यताको विषय तथा प्रतिनिधित्वलाई लिएर दुवै पक्षबीच थप विवाद हुन सक्ने देखिएको छ।






