काठमाडौं, २५ भदौ २०८३ । नेपाल प्रहरीले भोटेकोसी बाढीमा परेका व्यक्तिको खोजी तथा उद्धारका लागि टीटूटी (टिमुरेदेखि त्रिवेणी) सम्म ‘स्वीप अपरेसन’ सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार, चीन–नेपाल सीमा रसुवाको टिमुरे बजारदेखि भारतसँगको सीमा नवलपरासीको त्रिवेणीसम्म अपरेसन चलाएको हो ।
“स्वीप अपरेसनका क्रममा भोटेकोसीको बाढीले रसुवादेखि नुवाकोट, चितवन र गोरखासम्म गरेको क्षति र नदीका दुवै किनारामा भेटिने शव, मानव अंग वा अन्य भौतिक वस्तुहरू संकलन गरिने,” प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
गत भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ ।
रष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार बिहीबार (भदौ २५) दिउँसो १ बजेसम्म बाढीमा परेर मृत्यु हुनेको संख्या एक हजार ३७७ पुगेको छ ।
बेपत्ताको सूचीमा पाँच हजार १३० जना छन् । ५८७ विदेशी नागरिक पनि बेपत्ताको सूचीमा छन् । हालसम्म फेला परेका एक हजार ३६७ शवमध्ये १०२ को पहिचान भएर आफन्तलाई बुझाइएको छ ।
फेला परेका शवमध्ये ५०३ जनाको भने शरीरका केही अंग मात्रै फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले सनाखत हुन बाँकी एक हजार १४७ शवलाई जमिनमुनि सुरक्षित रूपमा राखेको छ ।
सुरक्षाकर्मीले बाढीपछिको उद्धार कार्य जारी राखेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हालसम्म बाढीमा परेका नौ हजार २५४ जनाको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये रसुवा, नुवाकोट र काठमाडौंमा गरी तीन हजार ३० जनालाई होल्डिङ सेन्टरमा राखिएको छ ।
बाढी प्रभावितलाई विभिन्न संघसंस्था तथा व्यक्तिहरूले राहत सामग्री उपलब्ध गराउँदै आएका छन् । बाढीले रसुवाको टिमुरेसहित दर्जनौँ सानारठूला बजार बगाएर खण्डहर बनाएको छ ।
नुवाकोटको त्रिशूली बजार बगरमा परिणत भएको छ । त्रिशूलीपछि रसुवाको टिमुरे, नुवाकोटको देवीघाट, वेत्रावती, भैँसे लगायतका ठूला बस्तीहरू पनि बगर बनेका छन् ।
यस्तै, बाढीले नुवाकोटकै तुप्चे बजार, सोले, ढुंगे, सिमचौर, आंगिटारलगायत बस्ती बगायो । रसुवाको स्याफ्रुबेँसी, उत्तरगैया, देवीटार र शन्तिबजार पूर्ण रूपमा बाढीको मारमा परे । यी बस्तीहरूमा बनेका घरहरूमध्ये कतिपय बाढीले पूरै बगाएको छ भने कतिपय बालुवासहितको लेदोले पुरिएको छ ।
बाढीले ७५ जिल्लाका नागरिक प्रभावित
प्रहरी प्रधान कार्यालयका अनुसार, बाढीमा देशका ७५ जिल्लाका मानिस प्रभावित भएका छन् । रसुवाको टिमुरे हुँदै चीनको मानसरोवर जानेदेखि गोसाइँकुण्डको दर्शन गर्न जानेसम्मका मानिसहरू परेका छन् । बेपत्ताको सूचीमा सुदूरपश्चिमको दार्चुलादेखि कोसीको झापाका मानिसहरू छन् ।
प्राधिकरणका अनुसार, बेपत्ता भएकाहरूमा बाढी प्रभावित रसुवाका एक हजार ३९३, नुवाकोटका ६५१ जना छन् । यसरी नै रसुवाबाट बेत्तपा भएका अन्य नागरिकको संख्या एक हजार ८६ जना छन् । नुवाकोटबाट बेपत्ता हुनेहरूको संख्या एक हजार १३६ छन् ।
बेपत्ताको सूचीमा सुरक्षा संगठनमध्ये सबैभन्दा बढी नेपाली सेनाका कर्मचारी छन् । सेनाका ४५ जना बेपत्ता सूचीमा छन् । नेपाल प्रहरीका २५, सशस्त्र प्रहरी बलका १२, बैंक तथा वित्तीय संस्थाका २६ र अन्य सरकारी कर्मचारी ७३ जना छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार, हालसम्म मनाङ र मुस्ताङ जिल्लाका व्यक्तिको खोजीको लागि भनेर कुनै पनि निवेदन वा फोन नआएको प्रहरीले जनाएको छ । यी दुईबाहेक देशको ७५ जिल्लाबाट नै बेपत्ताको खोजीका लागि प्रहरीलाई सम्पर्क आएको प्रधान कार्यालयले जनाएको छ ।बाह्रखरीबाट






