Online Bichar
आइतबार, भाद्र २१, २०८३ | Sunday, September 6, 2026

वीरगन्ज, २१ भदौ २०८३ । वीरगन्जस्थित एक क्यासिनोबाट प्रहरीले स्थानीय तहका जनप्रतिनिधि र प्रहरी अधिकारीसहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव,पर्साकै इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप पौडेललगायत रहेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्टमा रहेको गोल्डेन फिगर गेमिंग जोन क्यासिनोमा शनिबार राति प्रहरीले छापा मारेर यादव र पौडेलसहित ८ जनालाई पक्राउ गरेको हो ।

उक्त क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाई रहेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो । उक्त सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईको नेतृत्वमा खटिएको प्रहरी टोलीले क्यासिनोमा छापा मारेको थियो ।

त्यसक्रममा प्रहरीले क्यासिनोमा जुवा खेल्ने र नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न क्यासिनोका कर्मचारीसहित ८ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यादव,सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ६ कै ३० वर्षीय चन्दन सहनी, वीरगन्ज महानगरपालिका वडा नम्बर ११ का ३९ वर्षीय ओमप्रकाश बैठा, इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी निरीक्षक स्याङ्जाको हरिनास गाउँपालिका वडा नम्बर ७ घर भएका ३६ वर्षीय प्रदिप पौडेल रहेका छन् ।

यस्तै क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न उक्त क्यासिनका कर्मचारीहरू वीरगन्ज महानगरपालिका वडा नम्बर १४ का विजयकुमार पटेल, वडा नम्बर २५ का ३१ वर्षीय दिनेशकुमार पटेल,महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ का ४९ वर्षीय जयदेव साह र वीरगन्ज महानगरपालिका वडा नम्बर १२ का ५० वर्षीय प्रदेशी साहलाई पनि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।

पक्राउ गरिएका आठैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको मल्लले बताए ।अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया