काठमाडौं, २१ भदौ २०८३ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङ कृष्णभिर खण्डमा पहिरो गएर मुख्य सडक अवरुद्ध भए पनि वैकल्पिक मार्ग हुँदै पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकामा झन्डै ८८ हजार थान खाना पकाउने एलपी ग्यास सिलिन्डर भित्रिएको तथ्यांक नेपाल आयल निगमले सार्वजनिक गरेको छ ।
निगमले सडक अवरुद्ध हुँदा ग्यास आपूर्तिमा पर्न सक्ने प्रभाव मध्यनजर गर्दै तराईका उद्योगहरूबाट रिफिल गराएर उक्त परिमाणमा ग्यास भित्र्याएको निगमले जनाएको छ ।
निगको तथ्यांक अनुसार १८ देखि २० भदौसम्म ८७ हजार ८ सय ७७ सिलिन्डर ग्यास काठमाडौं ल्याइएको हो ।
निगमका अनुसार १८ भदौमा २४ हजार ४ सय ९४, १९ मा ३४ हजार १ सय ३४ र २० मा २९ हजार २ सय ४९ सिलिन्डर ग्यास बिक्री वितरणका लागि काठमाडौं आइपुगेको छ ।
काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकका ग्यास उद्योगका सिलिन्डर अर्को व्यवस्था नभएसम्मका लागि बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरी जिल्लामा अवस्थित उद्योगमा रिफिल गरी वैकल्पिक मार्गबाट ल्याउने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।
यसरी वैकल्पिक मार्गबाट उपत्यका भित्रिएका ग्यासमा श्री, सूर्य, ओम, श्रीराम, सगर, साईबाबा/श्रीकृष्ण, श्रीमाया (काभ्सन्स), लोकप्रिय (उग्रचण्डी), एभरेस्ट/सुगम, नेपाल, एचपी (हिमालयन), एसटीसी (मेट्रो काठमाडौं), सिद्धार्थ, हिमाल (गौरीशंकर), सीताश्री र नमस्ते ब्रान्डका सिलिन्डर छन् । विभिन्न १६ उद्योगका ग्यास यसरी निरन्तर भित्रिरहेको निगमको भनाइ छ ।
पृथ्वी राजमार्गको कृष्णभिर खण्डको बाटो नियमित सञ्चालनमा नआउँदासम्म यही वैकल्पिक प्रक्रिया अनुसार नै ग्यास आपूर्ति तथा बिक्री वितरण कार्य निरन्तरता दिइने आयल निगमको भनाइ छ ।






