Online Bichar
बुधबार, भाद्र १७, २०८३ | Wednesday, September 2, 2026

हुम्ला, १६ भदौ २०८३ । रसुवाको भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका हुम्लाको ताँजकोट गाउँपालिका–२ का नवकुल शर्माको शव भेटिएको छ । रसुवा भन्सार कार्यालयमा भन्सार अधिकृतका रूपमा कार्यरत शर्मा भदौ १० गते बुधबार बिहान बाढी आएदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो ।

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टि भएपछि आफन्तले बुझेका छन् । गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले प्रादेशिक अस्पताल गोरखामा राखिएको शव ताँजाकोट गाउँपालिका–२, कट्टेलगाउँ निवासी नरप्रसाद शर्माका छोरा नवकुल शर्माको भएको पुष्टि गर्नुभयो ।

नदी किनारमा मृत अवस्थामा फेला परेको शवको शारीरिक बनावट, अनुहार, दाह्री तथा कपाल, हातको बुढीऔँलामा रहेको पुरानो खत र दाँतको बनावटलगायतका आधारमा शवको पहिचान गरिएको हो । पहिचान खुल्ने विभिन्न चिन्हका आधारमा शवको सनाखत गरी आफन्तलाई बुझाइएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

शव पहिचान भएपछि जेठान नाता पर्ने जुम्लाको कनकासुन्दरी गाउँपालिका–८, सन्माल टोल निवासी ४१ वर्षीय गणेशप्रसाद सञ्ज्यालसहितले सनाखत गरेको उहाँले बताउनुभयो । शर्माको शव सोमबार बेलुका सनाखत गरिएको हो । कानुनी प्रक्रिया पूरा गरी शव काठमाडौँ ल्याएर मङ्गलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

घरपरिवार र जिल्ला प्रशासन कार्यालयले खोजीका लागि विभिन्न स्थानमा सूचना गरेका बेला शर्माको शव त्रिशूली नदी किनारमा भेटिएको उहाँका भतिज लीलाराज शर्माले बताउनुभयो । यसअघि शर्माकी श्रीमती सङ्गीता शर्मा आचार्य र भाइ टङ्कप्रसाद शर्माले चितवन, नवलपरासी, गोरखा र पोखरा पुगेर खोजी गरे पनि उहाँको अवस्था पत्ता लाग्न सकेको थिएन ।

शर्मा भदौ ९ गते रसुवा भन्सार कार्यालयमा सरुवा भई हाजिर हुनुभएको थियो । खोजीका लागि उहाँका बुवा नरप्रसाद शर्मा पनि हुम्लाबाट काठमाडौँ आउनुभएको थियो । यसअघि शर्मा इलाम जिल्लाको पशुपतिनगर भन्सार कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । मृतक शर्माका बुवा, आमा, श्रीमती र दुई छोरा छन् ।गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया