सर्लाही, १६ भदौ २०८३ । सर्लाहीको बलरा नगरपालिका –४, मा रहेको रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक वीरेन्द्र झालाई विद्यार्थीले अर्धनग्न पारेर कुटपिट गरेका छन् ।
गएको शुक्रबार विद्यालयमा भएको सरसफाइ कार्यक्रममा प्रधानाध्यापक झाले छात्राहरुसँग असभ्य शब्द प्रयोग गरी गालीगलौच गरेको आरोप लगाउँदै विद्यार्थीले सोमबार दिउँसो प्रधानाध्यापक झालाई विद्यालय हाताभित्रै लछारपछार गर्दै कुटपिट गरेका हुन् ।
छात्रामाथि असभ्य शब्द प्रयोग गरेको भन्दै विद्यार्थीले माफी माग्न लगाएको तर प्रधानाध्यापक झाले अस्वीकार गरेपछि कुटपिट भएको विद्यार्थीको भनाइ छ । विद्यार्थीको समूहले प्रधानाध्यापक झामाथि कुटपिट गरेका थिए ।
बलरा नगरपालिका –४, घर भइ रौतहटको शिवनगर बस्दै आउनुभएका प्रधानाध्यापक झाको निजी गाडीमा समेत विद्यार्थीले तोडफोड गरी क्षति गरेका छन् । सोमबार दिउँसो भएको घटनापछि नेपाल–भारत सीमानजिकै पर्ने उक्त विद्यालयको पठनपाठन प्रभावित बनेको छ ।
सर्लाही प्रहरीले सो घटनामा संलग्न रहेकामध्ये बलरा नगरपालिका –२, बस्ने २० वर्षीय अभिषेक कापडलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले कापडलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । प्रधानाध्यापक झाले भने आफूले कुनै पनि छात्रामाथि असभ्य शब्द प्रयोग नगरेको दावी गर्नुभयो ।
झाले मङ्गलबार दिउँसो जिल्ला प्रहरी कार्यालय मलङ्गवा आएर प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रनाथ पौडेललाई घटनाबारे जानकारी गराउनुभएको छ । सोमबारको घटनापछि आफूसहित बलराभन्दा बाहिरबाट आउने १०–१२ जना शिक्षक विद्यालय जान नसकेका उहाँले बताउनुभयो । रामसखी मोहितसिंह जनता माविमा भएको उक्त घटनाको बलरा नगरपालिकाले समिति बनाएरै छानविन गर्ने तयारी गरेको छ ।
बलरा नगरपालिकाका प्रमुख रामाशङ्करप्रसाद कुशवाहाले कुटपिट भएको विषयमा छानबिन समिति बनाइ समितिले दिएको प्रतिवेदनअनुसार दोषीमाथि कारवाही अघि बढाइने बताउनुभयो ।
विद्यालयको पठनपाठन प्रभावित भएपछि आफू, शिक्षा अधिकृत, स्थानीय सुरक्षा अधिकारीलगायत मङ्गलबार विद्यालयमा पुगेर उपलब्ध शिक्षकलाई पठनपाठन सूचारु गर्न निर्देशन दिएको नगरप्रमुख कुशवाहाले जानकारी दिनुभयो ।गोरखापत्र अनलाइनबाट






