Online Bichar
बुधबार, भाद्र १७, २०८३ | Wednesday, September 2, 2026

काठमाडौं, १६ भदौ २०८३ । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंगलबार (भदौ १६) दिउँसो १ बजेसम्म बाढी प्रभावित क्षेत्रमा एक हजार तीनजनाको शव भेटिएको छ ।

रसुवामा ४१, नुवाकोटमा ९५, धादिङमा ५७, गोरखामा ६५, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २१६, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा १७०, तनहुँमा ३८ र चितवनमा ३२१ (विभिन्न मानव अंगसहित) शव फेला परेको छ ।

बाढीपश्चात् अझै तीन हजार ९१६ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न जलविद्युत् आयोजना, भन्सार कार्यालयका कर्मचारीलगायत छन् ।

सम्पर्कविहीन हुनेमा विदेशी नागरिक ५८३ जना छन् । विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली नागरिक १६४ जना पनि सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ८८४ जनाको उद्धार गरिएको छ । हालसम्म घाइतेको संख्या २७९ छ । उनीहरूमध्ये १६८ जना उपचारपश्चात् ‘डिस्चार्ज’ भइसकेका प्राधिकरणले जनाएको छ ।

उद्धार, राहतका निम्ति २१ हजार ३१४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । यही भदौ १० गते बिहान उक्त बाढी आएको थियो । बाढीबाट रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

 

तपाईको प्रतिक्रिया