Online Bichar
बुधबार, भाद्र १०, २०८३ | Wednesday, August 26, 2026

काठमाडौं, १० भदौ २०८३ । काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालहरूमा ६२ जना बाढीबाट घाइते भएकाहरूको उपचार भइरहेको बताइएको छ । चीनको तिब्बत हुँदै रसुवामा भित्रिएको भयानक बाढीका कारण ठूलो मानवीय क्षति भएको छ । सोही क्षतिका क्रममा घाइते भएका ६२ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

नेपाल प्रहरीका अनुसार काठमाडौंका अस्पतालमा मात्रै २५ जना घाइतेको उपचार भइरहेको छ । काठमाडौंस्थित ट्रमा सेन्टरमा नुवाकोट विदुर नगरपालिका–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछानेको उपचार भइरहेको छ ।

यस्तै, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा रसुवा गोसाइँकुण्डका दावा डोल्माको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा नुवाकोट विदुर नपा–३ का तेजबहादुर तामाङ, रसुवा गोसाइँकुण्ड–५ का पेम्वा तामाङ, ठेगाना नखुलेका कुशल मगर, कार्की थपका एक पुरुष, नाम थर बताउन नसक्ने एक पुरुष, सिन्धुपालचोकका मीनबहादुर श्रेष्ठ, सल्यानका गिरीलाल बुढाथोकी, सिन्धुपाल्चोक बाह्रबिसे–५ का रुपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ, जाजरकोटका बलबहादुर घर्ती मगरको उपचार भइरहेको छ । साथै गोरखा टिमुरे गोसाइकुण्ड– ७ का कामु नगरकोटीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । नगरकोटीको साथमा तीन महिनाको नाबालक शिशु समेत साथमा रहेको जनाइएको छ ।

प्रहरीका अनुसार टिमुरे गोसाइकुण्ड–७ का प्रेमदोर्जे घले, नेमा दोर्जे घले, फुर्प लामा ९ठेगाना नखुलेको०, बर्दिया जीतपुरका रामप्रसाद थारु, रसुवा बेत्रावती गाउँपालिका–५ का सुराची राना मगर र भक्तपुर चांगुनारायण नगरपालिका–१ का रिता दोचाको पनि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

उता बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव सुमित्रा गौतमका रसुवा अस्पतालमा मात्रै २१ जना घाइते उपचारका लागि पुर्‍याइएको छ ।

यस्तै, नुवाकोटको त्रिशूली अस्पतालमा १६ जना घाइते उपचाररत् रहेको गौतमले जानकारी दिइन् । उनका अनुसार केही घाइतेको अवस्था गम्भीर छ ।

 

तपाईको प्रतिक्रिया